विभिन्न क्षेत्रका महिला नेतृत्व एउटै मञ्चमा



गणेश रावत । कोहलपुर ।

एउटै मञ्चमा लहरै महिला नेतृत्वहरू देख्न बिरलै पाइने गरिन्छ, त्यसमा पनि विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका । अझ भनौँ महिलाहरू नेतृत्वमा पुग्न नै सकस हुने गर्छ । पितृसत्तात्मक हाम्रो नेपाली समाजमा महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने भाष्य सिर्जना गरिएको छ । जसले महिलाहरूले उठाउने हरेक कदममा अनेकन प्रश्नहरू खडा हुने गर्छन् । त्यसका बाबजुद पनि महिलाहरूले नेतृत्व समालेर प्रमाणित गरिसकेका थुप्रै उदाहरण छन् ।

महिलाहरूले केही गर्न सक्दैनन् भन्ने भाष्य चिर्दै बिस्तारै पछिल्लो समय एकपछि अर्काे गर्दै महिलाहरूले नेतृत्व सम्हाल्न थालेका हुन् । यस्तै अनेकन संघर्ष र परिश्रमले नेतृत्वमा पुगेकी हुन्, लुम्बिनी प्रदेश सांसद बसन्ती अधिकारी, कोहलपुर नगरपालिका कार्यवाहक नगर प्रमुख संगीता सुवेदी, इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनाल, इलाका प्रशासन कार्यालय कोहलपुरकी प्रमुख अन्तिम सिंजाली, कोहलपुर नगरपालिका शिक्षा शाखा अधिकृत शिला गौतम र कोहलपुर–११ की वडाध्यक्ष कल्पना शर्मा ।

बिहीबार यी ६ अनुहार एउटै मञ्चमा ३ घण्टासँगै रहेका थिए । बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकमा रहेको मनकामना पब्लिक एकेडेमीले आयोजना गरेको ‘विद्यार्थीसँग महिला नेतृत्व’ कार्यक्रमले यी अनुहार सँगै रहने र आफ्नो अनुभव विद्यार्थीहरूसँग साट्ने माहोल जुराएको थियो । कोहलपुरमा पहिलोपटक महिला नेतृत्वसँग विद्यार्थीहरू कार्यक्रम आयोजना गरेको भन्दै सहभागी सबै महिला नेतृत्वहरूले विद्यालयको प्रशंसा गरेका थिए ।

उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश सांसद तथा प्रमुख वक्ता बसन्ती अधिकारीले आसन, भाषण र शासन गर्ने ठाउँमा पनि महिला हुनुपर्छ भन्ने उठाउँदै आएको मुद्दाले सार्थकता पाएको महसुस भएको बताइन् । देशले महिला मुख्यमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रपति महिला पाइसकेको बताउँदै उनले ०८४ मा अब प्रधानमन्त्री पाउने आश रहेको बताइन् । आफ्नो अनुभव सुनाउँदै उनले ‘म छोरी भएर जन्मेँ । कसैको बुहारी बनेँ । त्यसपश्चात् आमा बनेँ,’ उनले भनिन्, ‘किनकि म महिला भएका कारण ।’

यी सबै भूमिका निर्वाह गर्दै अहिले समाज सेवामा रहेको उनले बताइन् । सामान्य परिवारमा जन्म लिएर सरकारी स्कुल पढेको उनको भनाइ छ । भलिबल खेलाडी हुँदै विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु भएको उनले बताइन् । व्यवस्थाविरुद्ध लड्दै अनेकन प्रश्न र गालीहरू खाँदै यहाँसम्म पुगेको बताइन् । विद्यार्थीहरूलाई संघर्ष र कडा परिश्रम गर्न उनले सुझाव दिइन् । यस्तै कोहलपुर नगरपालिका कार्यवाहक नगर प्रमुख संगीता सुवेदीले नर्स बन्ने चाहाना भएपनि बन्न नसेको सुनाइन् ।

आफ्नो भोगाइ सुनाउँदै उनले १२ कक्षा पास गर्नासाथ बिहे भएपछि पढाइ छुटेको र पछि लायन्स क्लब हुँदै राजनीति तिर अघि बढेको बताइन् ।
उनले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य र इच्छा जस्तोसुकै भएपनि पढाइ नछाड्न सुझाव दिइन् । जीवनमा पढाइबिना सबैले हेप्ने भएकाले आफूले समेत अहिले बिबिएस पढ्दै गरेको सुनाइन् । नेतृत्व तहसम्म पुग्ने अवसर कम मात्रामा महिलाले पाउने र पाएपनि अनेकन प्रश्नले अघि बढ्न निकै चुनौती रहेको बताइन् । अहिले नगरपालिकाको नेतृत्व सम्हालेकाले काम गर्न चुनौतीसँगै अवसर पनि रहेको सुनाइन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरकी डीएसपी लक्ष्मी खनालले आफ्नो अनुभव सुनाउँदै फस्ट विद्यार्थीमा सर्वस्व नभएको बताइन् । उनले आफू सामान्य विद्यार्थी रहेको बताउँदै जसले जीवनमा मिहिनेत गर्छ त्यो व्यक्ति सफल हुने बताइन् । बाबा पनि नेपाल प्रहरीको जागिरे रहेकाले आफ्नो इच्छा पनि नेपाल प्रहरी भएर देशको सेवा गर्नेमा समर्पित गर्ने रहेको सुनाइन् । बाबाबाट प्रेरित हुँदै नेपाल प्रहरी सेवामा प्रवेश गरेको बताइन् । शरीरिक र मानसिक रुपमा ठिक हुनुका साथै कडा मिहिनेत र परिश्रमले डीएसपीसम्म बनेको उनको भनाइ छ ।

इलाका प्रशासन कार्यालय कोहलपुरकी प्रमुख अन्तिम सिंजालीले महिलालाई कमजोर ठान्न नहुने बताइन् । सामान्य परिवारमा हुर्केर लगानशीलताका साथ पढेको प्रतिफल अहिले एउटा कार्यालयको नेतृत्व सम्हाल्न पाएको सुनाइन् । मिहिनेतका साथ केही गर्छु र समाजको लागि सेवा गर्छु भन्ने भावनाले मात्र अगाडि बढ्न सकिने उनको भनाइ थियो । अहिले आफ्नो क्षेत्रमा खुसी रहेको बताउँदै उनले आम नागरिकको सेवा गर्न पाउँदा गर्वलाग्ने गरेको बताइन् ।

पढ्न र लेख्नका लागि अभिभावकले गरेको गाली नै विद्यार्थीहरूको भविष्यको लागि ताली हुने उनले बताइन् । ‘लगातर पढ्न पर्दैन्,’ उनले भनिन्, ‘दिनमा ७ घण्टा रमाइलो तरिकाले पढे लोकसेवामा नाम निकाल्न सकिन्छ । यसको मतलब पढ्न हुँदैन भनेको होइन् । समय मिलाएर पढ्नुपर्छ भनेको हो ।’ यस्तै कोहलपुर नगरपालिका शिक्षा शाखा अधिकृत शिला गौतमले आफ्नो सानैदेखिको डाक्टर बन्ने सपना त्यागेर शिक्षा क्षेत्रमा लागेको बताइन् । लोकसेवामा नाम निकालेर केही वर्ष गाउँमासमेत काम गरेको बताउँदै उनले पछि परिस्थितिवश छाड्न परेको बताइन्।

त्यस्तै कोहलपुर–११ की वडाध्यक्ष कल्पना शर्माले अहिले पनि महिलालाई समाजले स्वीकार्न गाह्रो भइरहेको बताइन् । वडा कार्यालयमा आउने नागरिकहरूले समेत आफूलाई वडाध्यक्ष हुनुहुन्न भनेर सोध्ने गरेको समेत अनुभव सुनाइन् । विद्यार्थीहरू भविष्यका कर्णधार रहेकाले पाठ्यपुस्तक मात्र नभइ अन्य विषयबस्तुको समेत जानकारी दिने उद्देश्यले कार्यक्रमहरूको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश चापागाईले बताए । मनकामना एकेडेमीले अन्य विद्यालहरूभन्दा फरक तरिकाले विद्यार्थीको पठनपाठनलाई अघि बढेको समेत जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार