छायाँनाथ रारामा लगाइएको ताला अझै खुलेन



मुगु ।

जिल्लाको छायाँनाथ रारा नगरपालिकामा वडाध्यक्षहरूले लगाएको ताला अझै खुलेको छैन् । तालाबन्दी नखुलेपछि नगरपालिकाबाट प्रवाह हुने सबै सेवा ठप्प छन् । वडा नम्बर ८ का अध्यक्ष तथा नेपाली काँग्रेस मुगुका कार्यवाहक जिल्ला सभापति कर्णबहादुर रावलका अनुसार नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले १७औँ नगर सभा छलकपट गरेर सम्पन्न गरेको आरोप छ ।

बिनामापदण्ड मनपरी रूपमा करार तथा ज्यालादारी कर्मचारीको म्याद थप गरेको र वडामा सरुवा भएका सचिवहरूलाई बुझबुझारथ नगरी रमाना दिएको विरोधस्वरूप तालाबन्दी गरिएको उनले बताए । यसबारे बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको सहजीकरणमा नगरपालिका र वडा अध्यक्षबीच संयुक्त बैठक बसेपनि सहमति नजुटेको बताइएको छ ।

नगर प्रमुख विष्णुकुमार भाम र प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम जिल्लामा आएपछि फेरी छलफल गरेर निष्कर्ष निकाल्ने वडाध्यक्षहरूले प्रस्ताव गरेका छन् । उनी उपस्थित नभएसम्म तालाबन्दी नखोल्ने वडाध्यक्षहरूको अडान छ । हालै लागु भएको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ र सम्बन्धित नियमावलीअनुसार संघीय वा प्रदेश सशर्त बजेटबाट तोकिएका पदबाहेक अन्य पदमा करार वा ज्यालादारी नियुक्ति गर्न नपाइने व्यवस्था छ ।

यसका आधारमा प्रदेशका धेरै स्थानीय तहले करार कर्मचारीको म्याद थप नगरी हटाइरहेका छन् । यता छायाँनाथ रारा नगरपालिकाले पनि साउन १५ गते सूचना जारी गर्दै करार तथा ज्यालादारी कर्मचारी हटाएको थियो । नगर उपप्रमुख ऐश्वर्या मल्लका अनुसार नगर प्रमुख भामले फोनमार्फत २–३ दिनमा जिल्लामा फर्कने बताएका छन् । नगरपालिकाका १४ वडामध्ये ११ वडाका अध्यक्षहरू तालाबन्दीमा सहभागी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार