बास–ब्राइटल्याण्ड युवा पुरस्कार दाहाललाई



बाँके ।

बास–ब्राइटल्याण्ड युवा पुरस्कार २०२५ युवा सामाजिक कार्यकर्ता खगेन्द्र दाहाललाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा बास नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । बास नेपाल र ब्राइटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस वर्ष दाहालले प्राप्त गर्न सफल भएका हुन् ।

दाहाललाई सम्मानपत्र, ट्रफीसहित नगद १५ हजार प्रदान गरिएको छ । जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्की, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, ब्राइटल्याण्ड स्कुलका सहायक प्रधानाध्यापक राजा तिमिल्सिना लगायतले दाहाललाई सो पुरस्कार प्रदान गरेका थिए ।

युवाका क्षेत्रमा कार्यरत रहेको, रचनात्मक कार्य, सिर्जनात्मक कार्यमा योगदान दिएको, सामाजिक योगदान, संघर्षपश्चात्को सफलता, प्रेरक व्यक्तित्व लगायतको सूचकका आधारमा परियारलाई छनौट गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । कार्यकारी निर्देशक शाहले बास÷ब्राईटल्याण्ड युवा पुरस्कारको पृष्ठभूमि, कार्यक्रमको उद्देश्यसँगै बास÷ब्राइटल्याण्ड युवा पुरस्कार २०२५ को घोषणा गरेका थिए ।

पुरस्कार प्रदान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्कीले व्यक्तिलाई उसको इच्छाशक्ति, निरन्तरता र परिश्रमले सफल बनाउने बताइन् । पुरस्कार ग्रहण गर्दै दाहालले पुरस्कारबाट थप जिम्मेवार बनेको बताए । २०११ मा असल कार्य गर्ने युवाहरूलाई उत्प्रेरणा गर्ने उद्देश्यले बास युवा पुरस्कार स्थापना गरि प्रदान गर्न सुरु गरिएको २०१२ मा ब्राइटल्याण्ड स्कुलसँग साझेदारी भई पुरस्कारको नाम बास–ब्राइटल्याण्ड युवा पुरस्कारको रूपमा प्रदान गर्न थालिएको थियो । ट्रफी, प्रिन्ट प्रमाणपत्र, डिजिटल प्रमाणपत्र हुँदै हाल ताम्रपत्रसहित नगद रु. ५ हजारबाट सुरु गरिएको पुरस्कार ८ हजार, १० हजार, १२ हजार हुँदै हाल १५ हजार प्रदान गरिँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार