कोहलपुर (बाँके) ।
बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा फरार रहेका प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी गरिएको छ । कूल तीन अर्ब २० करोड ११ लाख ५४ हजार रूपैयाँ घोटाला प्रकरणमा फरार रहेका एक सय तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी गरिएको हो ।
आर्थिक घोटालामा मुद्दा दायर गरिएका फरार प्रतिवादीविरुद्ध पक्राउ पुर्जीको कार्य प्रक्रियामै रहेको तुलसीपुर उच्च अदालत नेपालगन्ज इजालासका सूचना अधिकारी बलबहादुर बिष्टले बताए । उनका अनुसार हालसम्म फरार कुनैपनि प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन । ‘उक्त प्रकरण अनुसन्धानमै छ । पक्राउ परेका चारजनाको थुनछेक बहस भएर फैसला भइसकेको छ ।
बाँकी फरार प्रतिवादीको हकमा पक्राउ पुर्जी जारी गर्नुपर्छ । हामी सम्पूर्ण प्रक्रिया मिलाउँदैछौँ । पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेको छ । छिट्टै पक्राउ पुर्जी जारी हुन्छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । बैंकको आर्थिक घोटाला प्रकरणमा यही साउन १४ गते जिल्ला सरकारी वकिल कार्यालय बाँकेले तुलसीपुर उच्च अदालत नेपालगन्ज इजालासको वाणिज्यमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको भोलिपल्टबाटै १५ र १६ गते बैंकको आर्थिक घोटालामा पक्राउ परेका प्रतिवादीहरूको थुनछेकसम्बन्धी बयान भएको थियो ।
हालसम्म उक्त मुद्दाका बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, तत्कालीन प्रमुख वित्त अधिकृत बेदप्रकाश सिंह ठकुरी, तत्कालीन अध्यक्ष पशुपतिदयाल मिश्र र राष्ट्र बैंकका तत्कालीन उपनिर्देशक भुवन बस्नेत पक्राउ परेका थिए । साउन १८ गतेबाट रकम हिनामिना प्रकरणमा पक्राउ परेका चारजना प्रतिवादीहरूमाथि थुनछेकसम्बन्धी बहस भएको थियो ।
थुनछेकसम्बन्धी बहसको क्रममा मुद्दामा वादी नेपाल सरकारको तर्फबाट सरकारी पक्षबाट उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका सहन्यायधिवक्ता यदुनाथ शर्मा, उपन्यायधिवक्ता कर्णबहादुर बुढाक्षेत्री, खुमबहादुर कुवर, सहायक न्यायधिवक्ता शिवराज पौडेल, जिल्ला न्यायधिवक्ता दशराथ गौतम र जाहेरवाला नेपाल राष्ट्र बैंकका उपनिर्देशक अधिवक्ता जुगलकिशोर यादवले बहस गरेका थिए । यस्तै, प्रतिवादी राजेन्द्रविक्रम रायको तर्फबाट ६ जना, पशुपतिदयाल मिश्रको तर्फबाट १० जना, वेदप्रकाश सिंहको तर्फबाट तीन जना र भुवन बस्नेतको तर्फबाट चारजनाले बहस गरेका थिए ।
प्रतिवादीको बयान र वादी र प्रतिवादीका तर्फबाट थुनछेकसम्बन्धी बहसपश्चात् साउन २२ गते अदालतले थुनछेकसम्बन्धी फैसला गरिसकेको छ। तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले बैंकका पूर्वअध्यक्ष रहेका एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र वेदप्रकाश सिंह ठकुरीलाई थुनामा राख्न आदेश दिएको छ । यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएका थिए । बस्नेत थुनामुक्त भइसकेका छन्।
आदेशमा फरार रहेका १०० भन्दा बढी प्रतिवादीको हकमा म्याद तामेली पठाउने उल्लेख गरिएको छ । बैंक सञ्चालक समितिका दुई पूर्वअध्यक्ष र एक कर्मचारीलाई अहिल्यै छाड्दा मुद्दा प्रभावित पार्नसक्ने आंकलन गरी अदालतले तीन जनालाई थुनामा राख्न आदेश सुनाएको उल्लेख गरिएको छ ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीलाई पक्राउ गर्ने बाटो खुल्नेछ । सात दिनको म्याद राखेर पक्राउ पुर्जी जारी भएपछि प्रहरीले फरार प्रतिवादीहरूको खोजतलास गर्र्छ । सात दिनको अवधिमा नभेटिएमा ३५ दिने म्यादी सूचना टाँस गरेर थप प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यमबहादुर मल्ल भन्छन्, ‘यो प्रकरण अदालतमा गइसकेको छ। अदालतले पक्राउ पुर्जी जारी गरेको सूचना हामीलाई दियो भने खोजतलास गर्छाँै, प्रतिवादी भेटिएपछि पक्राउ गरी न्यायिक प्रक्रियामा पठाउँछौँ ।’
विसं २०६० साल फागुन २२ गते बाँकेको नेपालगन्ज–१२ मा राजेन्द्रवीर राय, पशुपतिदयाल मिश्रलगायत १४ जनाले मिलेर नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र लिँदै कर्णाली विकास बैंकको स्थापना गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्