उत्तराखण्डको बाढीपहिरोः सम्पर्कविहीनमध्ये कुशेका ६ जना जीवितै भेटिए



कोहलपुर (बाँके) ।

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको शीरगंगा नदीमा आएको भीषण बाढीमा परेर अझै केही नेपालीहरू सम्पर्कविहीन भएका छन् । साउन २० गते गएको बाढीपहिरोमा परी कम्तिमा २२ जनाभन्दा बढी नेपाली नागरिक सम्पर्कविहीन भएका थिए । साउन २० गतेदेखि हालसम्म बर्दिया, जाजरकोट, जुम्ला, रूकुमसहितका जिल्लाका नागरिक सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन भएका आफन्तहरूको खोजीका लागि नेपालबाट आफन्तहरू भारतस्थित घटनास्थल पुगेका छन् । मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले साउन २० गतेको बाढीमा बेपत्ता भएका वडा नम्बर ६ का ३९ वर्षीय नरेन्द्र खड्काको एउटा हात भेटिएको आफन्तले बताएको मिसन टुडेलाई जानकारी दिए । उनका अनुसार छोराको खोजीका लागि मधुवनबाट उनका बुवासहित तीन जना आफन्त केहीदिन पहिले भारत गएका थिए ।

शनिबार खड्काको एउटा हात भेटिएको भारतबाट आफन्तले बताएको उनको भनाइ छ । ‘आफन्तहरू भारत जानुभएको थियो । सम्पर्कविहीन भएकामध्ये नरेन्द्र खड्काको एउटा हात भेटिएको बताउनु भएको छ । बुबाले नै हातमा रहेको ट्याटुबाट छोराकै हात भएको दाबी गर्नु भएको छ,’ नगर प्रमुख भाटले भने । उनले अन्य नागरिकहरूको भने खोजीकार्य अझै जारी रहेको जानकारी दिए । नरेन्द्रकी श्रीमती ३० वर्षीया सरस्वती खड्का र २ वर्षीय छोरा रोमन खड्कासमेत सम्पर्कविहीन रहेका छन् ।

नगर प्रमुख भाटले मधुवन–५ की अमृता परियारसमेत अझै सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिए । सोही घटनामा परेकी उनकी छोरी २१ वर्षीया लक्ष्मी परियार गम्भीर घाइते छिन् । यसैगरी, गुलरिया नगरपालिका–३ का २१ वर्षीय सुभाष विकपनि बाढीमा सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । यस्तै, बाढीपहिरोमा परी १३ जना सम्पर्कविहीन भएको कुशे गाउँपालिका–२ का वडाध्यक्ष नै नागरिकको खोजीका लागि भारत पुगेका छन् ।

गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र बस्नेतले वडा नम्बर २ का वडाध्यक्ष मानबहादुर सिंह र बेपत्ता नागरिकका एकजना अर्का आफन्त धरालीमा पुगिसकेको बताए । उक्त गाउँपालिकाका मात्रै १३ जना सम्पर्कविहीन भएका छन् । तीमध्ये ६ जना सम्पर्कमा आएको अध्यक्ष बस्नेतले मिसन टुडेलाई जानकारी दिए । उनका अनुसार बाँकी ७ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको र खोजी कार्य जारी रहेको छ ।

उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ। यो चारधाम यात्रा मार्ग पनि हो । यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार