नेपालगन्जबाट हातहतियारसहित पाँच युवा पक्राउ



कोहलपुर (बाँके) ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित एक होटलबाट हातहतियारसहित पाँचजना पक्राउ परेका छन् । आइतबार बिहान २ बजेतिर होटलमा कफी खाने क्रममा स्थानीय केही व्यक्तिलाई कुटपिट गरेको आरोपमा विभिन्न हातहतियारसहित पाँचजना पक्राउ परेका हुन््।

होटलमा बसिरहेको अवस्थामा स्थानीय केही व्यक्तिहरूलाई कुटपिट गरेको खबरपछि पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यमबहादुर मल्लका अनुसार स्थानीयले प्रहरीलाई हातहतियारसहित आएको समूहले कुटपिट गरिरहेको खबर गरेका थिए ।

लगत्तै त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–४ का २२ वर्षीय नवीन बुढा, वडा नम्बर २ का २२ वर्षीय सौरभ खड्का र वडा नम्बर १८ का १९ वर्षीय सन्देश खड्का, सोही वडाका २१ वर्षीय कुञ्जन रोकाया र खजुरा गाउँपालिका वडा नम्बर १ का २० वर्षीय सार्थक डाँगी रहेका छन् ।

पक्राउ परेकाहरूबाट १ वटा चक्कु, १ वटा खुँडा, २ वटा नक्कली पेस्तोल र एयर गन बरामद गरिएको प्रहरी निरीक्षक मल्लले मिसन टुडेलाई जानकारी दिए । यसैगरी, १० वटा रबरको बुलेटसहित घरेलु हतियार बरामद गरिएको उनले बताए । ‘घटना आइतबार बिहान भएको हो । पाँच जनालाई हातहतियारसहित पक्राउ गरिएको छ । उनीहरूको म्याद भएको छ । थप अनुसन्धानपछि खुल्छ,’ उनले मिसन टुडेसँग भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार