बड्डीचौर–खम्बगाडे सडक बनाउन रूख छपान हुँदैै



सुर्खेत ।

सुर्खेतको पश्चिम क्षेत्रलाई जोड्ने मुख्य मार्ग बड्डीचौर–खम्बगाडे सडक किनाराका रूख छपान कार्य धमाधम हुँदैैछ । ठेक्का व्यवस्थापन गरिएपनि प्रक्रियागत त्रुटीले अलपत्र जस्तै बनेको यो सडक खण्ड किनाराका रूख कटान गर्न तीन वर्षपछि सम्झौता भएको थियो । तर डिभिजन वन कार्यालय भेरीले हाल सडक किनाराका रूखको अन्तिम लगतसँगै कटान गर्नुपर्ने रूखहरूको छपान गरिरहेको छ ।

वन पैदावर संकलन तथा बिक्री वितरण निर्देशिका, २०७३ परिच्छेद ३ मा रूख कटान, मुछान, ढुवानी तथा घाटगद्दी सम्बन्धी व्यवस्था छ । प्रक्रियाअनुसार रूख कटानका लागि सम्झौता भएका रूखलाई छपान गर्नुपर्ने भएकाले काट्नुपर्ने रूखहरूमा टाँचा लगाउने काम भइरहेको हो । सव–डिभिजन कार्यालय बड्डीचौरका प्रमुख गणेश खाम्चाले सबैको चासो र सरोकारको विषय जोडिएको सडक भएकाले छिटो निर्माण सम्पन्न गर्न रूख छपान भइरहेको बताए ।

निर्देशन पाएको दिनदेखि नै नियमित काम गरिरहेको उनको भनाइ छ । आइतबारसम्म सबै काम सकेर फाइल डिभिजन वन कार्यालयमा बुझाउने तयारी रहेको उनले बताए । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अनुसार सडक किनाराका कटान गर्नुपर्ने रूखहरूको अन्तिम पटक लगत र छपान लिनुपर्ने हुन्छ । वर्षौँदेखि अलपत्र परेको सडकले नागरिकलाई निकै सास्ती दिएकाले छपान र लगत एकै पटक गरेर कटान प्रक्रियामा छिटो लैजाने गरी काम भइरहेको छ ।

बड्डीचौर–खम्बगाडे सडक निर्माणका लागि कर्णाली प्रदेश सरकारले १४ असार २०७९ ठेक्का आह्वान गरेको हो । तर सडक निर्माण पूर्व गरिनुपर्ने कानुनीगत प्रक्रिया पूरा नगरेर ठेक्का व्यवस्थापन गर्दा सडक निर्माणले गति लिन सकेको छैन् । संघीय सरकारको स्वामित्वको सडक हुनु र रूख कटानका अल्झन जस्ता कारणले १५ असार २०८१ मा कालोपत्रे सक्ने लक्ष्य राखिएपनि अपेक्षाकृत काम हुन सकेको छैन् । बड्डीचौर–खम्बगाडे सडकको दुरी १३ किलोमिटर छ ।

सडकमा पर्ने ८६४ वटा विद्युतका पोल र रूख हटाउन साउन पहिलो हप्ता वन तथा भू संरक्षण विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय र कर्णाली प्रदेशको पूर्वाधार विकास निर्देशनालयबीच त्रिपक्षीय सम्झौता भएको हो । सडक किनाराका रूख कटानको जिम्मा निर्माण व्यवसायीले नै काट्ने गरी ठेक्का व्यवस्थापन भएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका प्रमुख सूर्यबहादुर शाही बताउँछन् ।

उनका अनुसार अहिले बड्डीचौर बजारदेखि गिभिनेसम्म झण्डै ६ किलोमिटर र खम्बगाडेतर्फ एक किलोमिटर सडकमा नाला, सपोर्ट वाल र कल्भर्ट निर्माण गरिएको छ । सडक ट्याक खोलीको करिव ३० वर्षपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक कालोपत्रे गर्न तीन खण्डमा काम भइरहेको छ ।

मदन भण्डारी राजमार्ग नामाकरण गरिएको सडकको पहिलो खण्डअन्तरगत बड्डीचौरदेखी कालोपत्रे गर्न ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको छ । जयदेवीका सञ्चालकले अपेक्षाकृत काम गर्न नसकेपछि अनकले निर्माणको पूरै जिम्मेवारी लिएको छ । आगामी असारसम्म १३ किलोमिटर सडक कालोपत्रे सक्ने बचन दिएको निर्माण व्यवसायी अनकलाई अन्तिम पटक म्याद थप निर्देशनालय गरेको छ ।

बड्डीचौरलाई शून्य विन्दु मानेर तीन वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो । तर संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्न अपनत्व लिएको हो । खम्बगाडे–बाबियाचौर र बाबियाचौर–विद्यापुर १० किलोमिटर सडक निर्माणको जिम्मा डिभिजन सडक कार्यालय सुर्खेतले लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार