दसौँ राष्ट्रिय खेलकुदको मिति नसर्ने गरी तोक्न माग



सुर्खेत ।

कर्णाली प्रदेश सरकारले अब दसौँ राष्ट्रिय खेलकुदको मिति नसर्ने गरी तोक्न माग गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको कारणले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भन्दै अब मिति तोक्दा नसर्ने गरी तोक्नुुपर्ने बताए । दसौँ राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न बिहीबार सुर्खेत पुगेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘पटक पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश प्रवाह गरेको छ । अब त्यस्तो गल्ती नदोहो¥याउन संघीय सरकारलाई आग्रह छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद आयोजनाको सन्दर्भमा चासोसहित केहिदिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्रीलाई उनले आग्रह गरे । ‘तपाईँहरूलाई सम्माननीय प्रधानमन्त्रीले समेत प्रतियोगिताको मिति नसर्ने गरी काम गर्नुहोस् भनेर निर्देशन दिनुभएको रहेछ ।

हाम्रो स्प्रिड पनि त्यहि हो,’ उनले थपे, ‘कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिबद्ध छौँ र त्यहीअनुसार तयारी पनि गरिरहेका छौँ । तर आयोजक तपाईँहरू नै हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै विचार गरेर मिति तोक्नुहोला ।’ मुख्यमन्त्री कँडेलले मिति तोक्दा संघीय र प्रदेशको जिम्मेवारीसहित स्पष्ट तालिका बनाउन आग्रहसमेत गरे । प्रतियोगिता आयोजना गर्ने नाममा यसअघि भएका कमजोरी दोहोरिन नदिनेतर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने उनको भनाइ छ ।

प्रतियोगिता गर्न यसअघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टि जनाउँदै उनले प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउनेतर्फ सचेत रहनुपर्ने तर्क गरे । अर्को प्रसंगमा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्नेतर्फ प्रदेश सरकारको पूरै ध्यान केन्द्रित भएको भन्दै प्रदेश खेलकुद परिषद्का रिक्त पदहरूमा नियुक्त गर्न छलफल सुरू भएको जानकारी दिए ।

कर्णाली रंगशालालगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने उनले बताए । उनले भने, ‘राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक संघीय सरकारले नै निर्माण गर्ने भएपनि दसौँ खेलकुदका अधिकांश खेलका लागि कर्णाली सरकारले पू्र्वाधार निर्माण गरेको छ । अब थप पूर्वाधार बनाउने कुरामा संघीय सरकारले सहजीकरण गर्नुपर्छ ।’

युवा तथा खेलकुदमन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्ने गरी तयारी भइरहेको बताए । यो कुरामा ढुक्क हुन आग्रह गर्दै सुर्खेत आसपास सञ्चालन हुने गरी प्रतियोगिताका लागि २४ वटा खेल कर्णालीमै हुुने उनले जानकारी गराए । छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री राजीवबिक्रम शाह र सामाजिक विकासमन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार