बर्दियामा मनसुनजन्य विपद्को पूर्वानुमानः १० हजार घरधुरीका ८३ हजार मानिस प्रभावित हुने आंकलन



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके)।

यसवर्षको मनसुनजन्य विपद्बाट बर्दियामा १० हजार घरधुरी प्रभावित हुने आंकलन गरिएको छ । बर्दिया मनसुन तथा पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार बर्दियाका कूल ८३ हजार ८१३ जनसंख्या प्रभावित हुने आंकलन गरिएको हो । २०७८ सालको जनगणना अनुसार बर्दिया जिल्लाको कूल जनसंख्या ४ लाख ५९ हजार ९ सय जना रहेको छ । कूल परिवार संख्या १ लाख ६ हजार ३२६ जना रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले देशभर झैँ बर्दियामा समेत विगतको तुलनामा अत्यधिक बाढी, पहिरो, डुवान, जमिन कटान र भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै यसवर्ष मनसुनमा बर्दिया जिल्लामा सरदरभन्दा बढी वर्षा हुने आंकलन गरिएको छ । साथै उक्त अवधिमा सर्पदंशका घटना र दैनिक तापक्रमसमेत वृद्धि हुने पूर्वानुमान गरिएको छ । यसैगरी लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै विपद्बाट प्रभावित हुन सक्ने जिल्लाहरूमध्ये बर्दिया दोस्रो स्थानमा रहेको छ । विपद्बाट प्रभावित हुन सक्ने पहिलो स्थानमा कपिलवस्तु रहेको छ । त्यहाँ यस वर्षको मनसुनमा मात्रै कूल ८४ हजार ४४९ जनसंख्या प्रभावित हुने जनाइएको छ ।

बर्दियामा सबैभन्दा धेरै बाढी र डुवानको उच्च जोखिम रहेको समितिले जनाएको छ । बर्दियामा हरेक वर्ष मनसुनको समयमा पानीजन्य आपत्काल निम्त्याउने मुख्य नदीहरूमा कर्णाली, बबई, मान खोला, औरही खोला, रेउ खोला र बुढीकुलो लगायत रहेका छन् । यस्ता नदी÷खोलाहरूमा आउने बाढीका कारण बर्सेनि ठुलो मात्रामा भौतिक तथा मानवीय क्षति हुने गरेको छ । बर्दियामा पानीजन्य आपत्कालको इतिहास हेर्दा पछिल्लो पटक २०८० सालमा २ जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए ।

हाल विपद् पूर्वानुमानका लागि बर्दियाका मुख्य प्रमुख कर्णाली नदी, बबई नदी र औरही खोलामा गरी तीन वटा स्थानमा स्वचालित बाढी पूर्वसूचना प्रणाली जडान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडल जिल्लाभर बर्दिया मनसुन तथा पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार पूर्वतयारी अवस्थामा रहेको बताउँछन् । उनका अनुसार स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति, मनसुन प्रतिकार्य कमाण्ड पोष्ट परिचालन हुने गरेका छन् । यस्तै विपद्को समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आपत्कालीन कार्य सञ्चालन केन्द्र परिचालित हुने उनले बताए ।

विपद्को समयमा उद्धारका लागि जिल्लामा १४ वटा डुंगा, ३ वटा मोटरबोट र १४ वटा रबरबोट तयारी अवस्थामा राखिएको उनले बताए । यसैगरी विपद्को समयमा आपत्कालीन उद्धारका लागि ठाकुरबाबा नगरपालिकाका ९, गुलरिया नगरपालिकाका ७, बारबर्दिया नगरपालिकाका १, राजापुर नगरपालिकाका ६ र बाँसगढी नगरपालिकाका ५ वटा स्थानमा हेलिप्याड र हेलिकोप्टर बस्न सक्ने स्थानको व्यवस्था गरिएको छ ।

जिल्लाभर उच्च सतर्कता

अविरल वर्षका कारण बर्दियास्थित विभिन्न नदीहरूमा जलसतह बढेको भन्दै सतर्क रहन जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले अपिल गरेको छ । सोमबार रातिदेखि लगातार भएको वर्षाका कारण नदीहरूमा जलसतह बढेको भन्दै सतर्क रहन आग्रह गरिएको हो । मुख्य नदीहरूमा कर्णाली, बबई, मान खोला, औरही खोला, रेउ खोला र बुढीकुलो लगायत रहेका छन् । तीमध्ये बबई नदीका कारण तटीय क्षेत्रमा उच्च जोखिम निम्तिने गरेको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले भनेको छ, ‘अविरल वर्षाका कारण बबई नदीको जलसतह खतराको तह पार गरेको छ । नदीको बहावले चेतावनी तहसमेत पार गरिसकेको छ । पानी निरन्तर परिरहेको र जलसतह बढ्नेक्रम जारी छ । सतर्क रहन आग्रह गर्दछौँ ।’ बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले बबई नदी र अन्य सहायक नदीहरूको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कतना अपनाउन अपिल जारी गरिएको जानकारी दिए ।

बबई नदीमा मंगलबार बिहान ६ः३० बजे बबई नदीको बहाव बढेर चेपाङ्ग जलमापन केन्द्रमा ५.८० मिटरसम्म पुगेको थियो । यस्तै ७ः३४ को समयमा ६.७८ मिटरसम्म पुगेको उनले बताए । सामान्यतया ५.५ मिटरसम्म जलसतह पुगेमा चेतावनी तह र ६.१० मिटरसम्म पुगेमा खतराको तह मानिन्छ । बिहान १०ः२४ बजे अविरल बर्षाका कारण बबई नदीको चेपाङ्ग जलमापन केन्द्रमा जलसतह ६.९६ मिटर घट्ने क्रममा रहेपनि (खतरा तह ६.८) मिटर माथि नै रहेको जानकारी गराइएको थियो । बर्दियाका विभिन्न नदीमा जलसतह बढ्दो क्रममा रहेको छ । ‘तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छौँ ।

कुनैपनि मानवीय तथा भौतिक क्षति भएको छैन । पानी पर्ने क्रम जारी रहेकोले जोखिम भने देखिन्छ,’ सहायक प्रजिअ कठायतले भने । यस्तै समितिले बाढीको समयमा नदी÷खोला किनारा नजिक नजान, डुवानको जोखिम भएका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, नदीमा काठदाउरा छोप्ने, माछा मार्ने जस्ता कार्य नगर्न आग्रह गरेको छ । यस्तै घरमा भएको महत्वपूर्ण बस्तु, नगद, गरगहना र जिन्सी सुरक्षित स्थानमा राख्न, अत्यावश्यक खाद्यान्न सुरक्षित ठाउँमा राख्न र ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरूलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

यता, जल तथा मौसम विज्ञान विभागले आज (बुधबार) देशभर साधारणतया बदली रहने जनाएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको रहेको जनाएको छ । यस्तै साउन २२ गते (बिहीबार) देशभर साधारणतया बदली रहने पूर्वानुमान रहेको छ । अन्यसहित लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

बबई नदीमा फसेका दुई वृद्धको उद्धार 

बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरस्थित बबई नदीको बीच भागमा फसेका दुई जनाको मंगलबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारू गाइवस्तु चराउन गएको समयमा एक्कासी पानीको बहाव बढेपछि सो नदिको बीच भागमा फसेका थिए ।

सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नविन थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूलाई मोटर बोटको सहायताले सकुशल उद्धार गरेको थियो । उद्धार गरिएको दुवै जनाको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

त्यसैगरी बबई नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुवान पर्न सक्ने र ती स्थानमा उद्धारका लागि सशस्त्र परिचालन गरिएको छ । डुवानमा पर्नसक्ने क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी हालतमा राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार