सकियो बाम्का बजारको पुनर्निर्माणको काम



बाजुरा ।

बाजुराको प्रमुख व्यापारिक केन्द्र बाम्का बजारको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । आगलागीबाट ध्वस्त भएको बाम्का बजारको पुनर्निर्माण सम्पन्न भएको हो । गत जेठ २३ गते दिउँसो भएको भीषण आगलागीबाट बजार ध्वस्त भएको थियो । आगलागीको करिब २ महिनापछि पुनर्निर्माणको कार्य सम्पन्न भएको हो ।

बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजार सरकारी तथा गैरसरकारी निकायहरू र स्थानीय व्यक्तिहरूको सहयोगमा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको हो । सुरुमा कसरी पुनर्निर्माण गर्ने भन्ने चिन्तामा रहेका पीडितहरू राहत पाएपछि केही हदसम्म खुसी देखिएपनि नयाँ सामान किन्नुपर्ने समस्याले उनीहरू फेरि चिन्तित बनेका छन् ।

आगलागी पीडित व्यापारीहरूले राहतको रकमबाट टिनका टहरा उठाएपनि आवश्यक सामग्री जुटाउन नसक्दा पसलहरू अहिले पनि खाली छन् । घरजग्गा र सम्पत्ति धितो राखेर व्यापार थालेका धेरै व्यवसायी आगलागीले सबै थोक गुमाएर ठुलो क्षति व्यहोर्न बाध्य भएका थिए ।
बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँका अनुसार बुढीगंगा र त्रिवेणी नगरपालिकाले संयुक्त रूपमा बाम्का बजार पुनर्निर्माण तथा व्यवस्थापन समिति बनाएर विभिन्न सहयोगी निकायहरूको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

नगर प्रमुख बानियाँका अनुसार पूर्णरूपमा क्षति भएका १३ र आंशिकरूपमा क्षति भएका ९ गरी २२ वटा पसल पुनर्निर्माण गरिएको छ । राहत संकलन तथा व्यवस्थापन समितिका अनुसार हालसम्म नगद र जिन्सी गरी करिब एक करोड १० लाख बराबरको राहत संकलन भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार