नाउपाभित्र विवादः आधार इलाकाका कार्यकर्तामा निरासा



कोहलपुर (बाँके) ।

टीकापुर थारू विद्रोहको पृष्ठभूमिमा जन्मिएको पार्टी हो, नागरिक उन्मुक्ति पार्टी । हाल पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी कारागारमा हुँदा पार्टीको स्थापना भएको थियो । रेशमले जेलभित्रैबाट पार्टी गठन गरी १९ पुस २०७८ मा निर्वाचन आयोगमा दल दर्ता गर्दा रञ्जितालाई अध्यक्ष बनाएका थिए । उक्त पार्टीले २०७९ सालमा सम्पन्न तीन वटै तहका निर्वाचनमा भाग लियो ।

कैलालीमा पार्टीले संघमा तीन र प्रदेशमा पाँच सिट जितेको थियो । कैलालीका चार स्थानीय तहमा समेत प्रमुख जितेको थियो । स्थापना भएको छोटो समयमै राम्रो चुनावी नतिजा ल्याएको नागरिक उन्मुक्ति पार्टी ‐नाउपा) अन्ततः पारिवारिक किचलोका कारण लथालिंग अवस्थामा पुगेको छ । श्रीमान–श्रीमतीसमेत रहेका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको कलहले सिंगो पार्टी नै संकटमा फस्न पुगेको छ ।

स्थापनाको छोटो समयमै विशेषगरी पश्चिम नेपालका थारू बहुल क्षेत्रमा विस्तार भएको नागरिक उन्मुक्ति पार्टी पछिल्लो समयमा विवादै विवादमा फसेको छ । रेशम जेलबाट छुटेदेखि नै पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच लामो समयदेखि शक्ति संघर्ष हुँदै आएको थियो । उनीहरू श्रीमान–श्रीमती हुन् । चौधरी र श्रेष्ठबीचको कलह नेतृत्व परिवर्तनसम्म तहसम्म पुगिसकेको छ । पार्टीले अध्यक्ष श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ । रेशम निकट पक्षको दाबी अनुसार अध्यक्ष श्रेष्ठलाई विभिन्न पाँच कारणले अध्यक्षबाटै हटाउनु परेको हो ।

पूर्वमन्त्रीसमेत रहेकी श्रेष्ठले विधान विपरीत कार्य गरेको, केन्द्रीय सदस्यहरूले पटक–पटक बैठक बोलाउन आग्रह गर्दा समेत उनले बेवास्ता गर्दै आएको, विधान अनुसार पार्टीको कार्यबाहक अध्यक्ष बनाउन नमिल्ने व्यक्तिलाई मनोनित गरेको, कार्यबाहक अध्यक्ष तोकेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिनका लागि दिइएको समयभित्र जवाफ नदिएको पोखराको लिचिबारी जग्गामा चलखेल गर्न रञ्जिता मुछिएको घटना लगायतका कारणले हटाउन बाध्य भएको पार्टीले जनाएको छ ।

रञ्जितालाई अध्यक्षबाट हटाउनु अघि पार्टीले बहुसंख्यक केन्द्रीय सदस्यहरूको उपस्थितिमा केन्द्रीय भेला बोलाएको थियो । जहाँ उनी अनुपस्थित थिइन् । भेलाले नागरिक उन्मुक्ति पार्टीका बर्दियाबाट निर्वाचित सांसद लालबीर चौधरीलाई अध्यक्ष बनाइएको छ । चौधरी रेशमका बुवा हुन् । यता, पार्टीको बर्खास्तीमा परेकी रंञ्जितापनि पछि हट्ने मनस्थितिमा छैनन् । उनले औपचारिक रूपमा बोलिसकेकी छैनन् । उनी आफ्नो पक्षका नेताहरूसँग आन्तरिक छलफलमा व्यस्त छिन् । नागरिक उन्मुक्तिभित्रको विवाद यत्तिकैमा टुंगिने सम्भावना छैन ।

शीर्ष तहको विवादका कारण पार्टी लथालिंग भएको छ । यो पार्टीका नेतासमेत पटकपटक विवादमा आइरहेका छन् । जसले पार्टी जर्जर अवस्थामा पुगेको छ । पार्टीको आधार क्षेत्र कैलाली, बाँके र बर्दियामा समेत केन्द्र विवादको स्पष्ट बाछिटा देखिएको छ । पहिचानको मुद्दा बोकेर स्थापित पार्टीप्रति आकर्षित नेता कार्यकर्ता शीर्ष नेताहरूबीचको विवादले निराश देखिन्छन् ।

०००
‘सार्वभौम जनतालाई निरास बनाउनु हुँदैन’

राजकुमार चौधरी
लुम्बिनी प्रदेश सांसद

अहिले हाम्रो पार्टीभित्र विवाद देखिएको छ । यो पार्टी रेशमलाल चौधरीले स्थापना गरेको पार्टी हो । उहाँमाथि जनविश्वास छ । उहाँको नेतृत्व जनताले देख्न चाहेका छन् । महाधिवेशनमा नेतृत्व सुम्पेको पनि हो । तर,भएन । जहाँसम्म श्रीमान श्रीमतीबीचको विवादको कुरा छ । यो विषय राजनीतिक हो ।

यही विवादलाई बढी प्रसार प्रचार गरिएको छ । राज्यका निकायले समेत यसमा मलजल गरिरहेका छन् । सरकारका अंगसमेत यसमा लागेका छन् । अहिलेसम्म यो विवादमा जनस्तरसम्म खासै पुगेको छैन । तर लामो समय विवाद हुँदा राम्रो सन्देश जाँदैन । जनताले जनप्रतिनिधिलाई विश्वास गर्छन् । अहिलेसम्म हामीले जनतालाई निरास हुन दिएका छौँ । हामी २०८४ को तयारी गरिरहेका छौँ ।

०००
‘विवाद समाधान भयो, पार्टी गतिविधिमा सक्रिय हुन्छौँ’

ठाकुरसिंह थारू
महासचिव, नाउपा

पार्टीको निवर्तमान नेतृत्वका कारण अनिर्णयको बन्दी भयो । पार्टी गतिविधि शून्य भए । पटकपटक बैठक बोलाउन आग्रह गर्दासमेत सुनुवाई हुन सकेन । नेतृत्व नै घुस प्रकरणमा मुछियो । लामो समय पार्टी दिशाहिनताको अवस्थामा पुगेपछि नीतिगत र कानुनी रुपमै बहुमत केन्द्रीय सदस्यहरूको उपस्थितिमा नेतृत्व चयन गरिएको हो ।

अब पार्टी जिल्ला तथा स्थानीय तहका गतिविधिमा सक्रिय हुन्छ । हिजोको जस्तो व्यक्तिगत आकांक्षमा पार्टी चल्दैन । विधान र पद्धती अनुसार चल्छ । अब पार्टी विभत्र देखिएको विवाद समाधान भयो । नयाँ नेतृत्व नयाँ जोशका साथ अघि बढ्छ । सम्पूर्ण नेता कार्यकर्ताहरूलाई मेरो अपील छ । पार्टीको संस्थागत निर्णयको पक्षमा उभिनुहोस् । पार्टी गतिविधिमा सक्रिय हुनुहोस् । पार्टीलाई एकताबद्ध बनायौँ ।
०००
‘अब पार्टी नयाँ शिराबाट अघि बढ्नुपर्छ’

रामलाल डगौरा थारू
नगर प्रमुख, टिकापुर नगरपालिका

हाम्रो पार्टी भिन्न परिस्थितिमा जन्मिएको हो । स्थापनाको छोटो समयमै निर्वाचनमार्फत जनताले हामीलाई ठूलो विश्वास गरे । स्थानीय स्तरदेखि केन्द्रसम्म हामीले जवरजस्त उपस्थिति जनायौ । नयाँ आशाको केन्द्रविन्दुको रूपमा जनताले हाम्रो पार्टीलाई हेरेका थिए । तर, नेतृत्वले जसरी पार्टीलाई सञ्चालन गर्नुपर्ने हो, काम गर्न सकेन । पार्टी कमिटी र जनता जोडिन सकेनन् ।

समन्वय अभावका कारण समस्या उत्पन्न हुँदै गयो । विस्तारैमा पार्टीमा विवाद चुलिदैँ गयो । अहिले मूल नेतृत्व नै परिवर्तन गर्नुपर्ने अवस्था आयो। यो विवाद लामो समय रहन हुँदैन । अब नयाँ नेतृत्व चयन भएको छ । नयाँ जोशका साथ नयाँ शिराबाट अघि बढ्नुको विकल्प छैन । पार्टी र जनताबीचको सम्बन्ध विस्तार गर्नुपर्छ । व्यवस्थित रूपमा अघि बढ्नुपर्छ ।
०००
‘जनताले यो विवाद छिटो टुंगियोस्’

चित्रबहादुर चौधरी
अध्यक्ष, जोशीपुर गाउँपालिका

हाम्रो पार्टीमा समस्या देखिएको छ । यो समस्या समाधानको लागि लामो समयदेखि प्रयासमेत भइरहेको छ । हाम्रो पार्टीको नेतृत्व तहमा विवाद हुँदा समस्या भएको छ । भर्खरै जन्मेको पार्टीमा यस्तो विवादले हामीलाई अझै समस्या निम्त्याउने देखिन्छ । त्यसैले यो विवाद समाधानको विकल्प छैन । पार्टीका संरक्षक ज्यू लागि रहनु भएको छ ।

उहाँले नै अब पार्टीलाई अघि बढाउनुहुन्छ । सोही अनुसार अघि बढ्न सकिन्छ । हामीले पनि आफ्नो तर्फबाट हुने सहयोग र प्रयास गरिरहेका छौँ । जनतामा निरासा छाएको छ । जनताका आशा धेरै छन् । हामीभन्दा माथिका सरकारले सहयोग गर्दैनन् । हाम्रो मात्रै स्रोतले भ्याउने अवस्था छैन । झन् पार्टीभित्रको विवादले समस्या भएको छ । छिटो समाधान गर्नुपर्छ ।

०००
‘कार्यकर्तालाई निरास हुन दिनुहुँदैन’

सुरेशकुमार चौधरी
अध्यक्ष, नाउपा बाँके
नागरिक उन्मुक्ति पार्टी भुइँमान्छेहरूको पार्टी हो । जसले दबिएका आवाज बोल्छ । उनीहरूका मुद्दा उठान गर्छ । पार्टी स्थापना गर्दा यस्तै थियो, जनताको आवाज । तर पार्टीमा लामो समयदेखि विवाद छ । खासगरी पार्टी नेतृत्वले नेता कार्यकर्ताहरूको मनोभावना बुझेन् । शक्तिको भोक र सत्ताले बिग्रीयो ।

अहिले अध्यक्ष नै पार्टीबाट हटाउनुपर्ने तहको विवाद सतहमा आएको छ । यो कुरा राम्रो होइन । जिल्ला तहमा हामी काम गरिरहेका छौँ । पार्टीको काम गरिरहेका छौँ । समुदाय हाम्रो पक्षमा छ । पार्टीको पक्षमा छ । मुद्दाको पक्षमा छ । विवाद लामो समय भइरह्यो भने कार्यकर्तामा निरासा छाउँछ । शक्तिको लडाइँ बन्द गरौँ । तर, अहिले केन्द्रमा देखिएको विवाद समाधानको विकल्प छैन ।

०००

‘पार्टी सकिएला जस्ता भयो’

भूमबहादुर भण्डारी
नेता, नाउपा बाँके

नाउपाको विवादलाई नोटिसमा राखेको छु । यो विवाददेखि म खुसी छैन् । पार्टीको केन्द्र देखिएको विवादले जनतामा निरासा छाएको छ । यस्तै अवस्था हो भने पार्टी सकिनेमा दुईमत छैन । म पार्टीको सदस्य हुँ । तर, पार्टी त सकिने अवस्थामा पुग्यो । पार्टी नै रहला की नरहला भन्ने अवस्था भयो ।

विवादको दीर्घकालीन समाधान खोज्नुपर्छ । म त आफ्नै मिसनमा छु । आफ्नो क्षेत्रमा काम गरिरहेको छु । हेरौ अब के हुन्छ । उनी २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ ‐ख) बाट नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए । नेपाली काँग्रेसको पृष्ठभूमिबाट पार्टी प्रवेश गरेका उनी पहिचानको मुद्दाका कारण आफू यो पार्टीमा आकर्षित भएको हुँ ।

०००
‘विवाद पारिवारिक होइन,राजनीतिक विषय हो’

कृष्णप्रसाद उपाध्याय
युवा नेता, नाउपा

नागरिक उन्मुक्ति पार्टीको विषयमा अहिले मिडियामा जुन तहको विवाद आएको छ । तर पार्टीभित्र त्यहीँ स्तरको विवाद छैन । सुरुमा मिडियाले नै विवादलाई पहाड बनाएका हुन् । भर्खंरै जन्मको पार्टी हो । केही समस्या देखिएका छन् । यस्ता विवाद लोकतन्त्रमा स्वाभाविक रूपमा हुन्छन् । अहिले अध्यक्ष परिवर्तनको जुन कुरा आएको छ ।

यो विषय विवादमा ल्याउनुपर्ने कुरै होइन । पार्टीको आन्तरिक मामिला होला । लोकतान्त्रिक प्रक्रिया मान्ने भएपछि बहुमतको निर्णयसमेत स्वीकार गर्नुपर्छ । यो विवाद पारिवारिक होइन । यो नितान्त राजनीतिक विषय हो । नयाँ चयन भएको नेतृत्वमा विज्ञता छ । वर्गीयता र सुहाउँदो भूगोल छ । नेता कार्यकर्तामा केही अन्यौल देखिएको छ । समाधानको विकल्प छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार