जन ज्ञान ज्योति माविको शिक्षक सरुवा निर्णय : दुई सातासम्म पनि पुगेन शिक्षा शाखामा विद्यालयको चिट्ठी



जन ज्ञान ज्योति माध्यमिक विद्यालयको प्राथमिक तहको स्थायी शिक्षक सरुवाका लागि आवेदन मागिएको थियो । तर, विद्यालय व्यवस्थापन समितिको असार २९ गतेको बैठकले विद्यालयमा कक्षा ११ र १२ कक्षाको अंग्रेजी र सामाजिक विषय अध्यापनका लागि सरुवाका लागि सहमति दिने निर्णय गरेको छ । शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ मा आवेदकहरूमध्येबाट सबैभन्दा धेरै सेवा गरेको आधारमा सरुवाको सहमति दिनुपर्ने उल्लेख गरिएको छ । स्कुलले निर्देशिकाविपरित आवेदकको शारीरिक अस्वस्थतामा संवेदनशील हुँदै सहमति दिने निर्णय गरेको हो । 

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

कोहलपुर नगरपालिकादेखि कौशिलानगर । ठ्याक्कै ३ किलोमिटर छ, दूरी । रत्न राजमार्गअन्तर्गत कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित मूलबाटोदेखि ३ सय मिटरको दूरीमा छ, श्री जन ज्ञान ज्योति माध्यमिक विद्यालय । उक्त विद्यालयबाट कोहलपुर नगरपालिकासम्म पुग्न अटोमा आउँदा ५० रूपैयाँँ भाडा लाग्छ । नगरपालिकाको मुख्य गेटदेखि नगर शिक्षा, युवा तथा खेलकुद शाखाको कार्यालयसम्म आधा मिनेटमै पुगिन्छ ।

उक्त विद्यालयको एउटा निर्णय नगर शिक्षा शाखासम्म १५ दिन पूरा हुँदासम्म आइपुगेको छैन । १५ दिनअघि गरिएको निर्णय कहिलेसम्म शाखामा आइपुग्छ टुंगोसमेत छैन । गत असार २९ गते विद्यालयले प्राथमिक तहको स्थायी शिक्षक पदमा सरुवाका लागि सहमति दिने निर्णय गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल शर्माको अध्यक्षतामा बसेको बैठकले हाल श्री त्रिवेणी माध्यमिक विद्यालय पालुङटार– ९ सेरा गोरखामा कार्यरत शिक्षक चन्द्रकान्त न्यौपानेलाई सरुवा भई आउनका लागि सहमति दिने निर्णय ग¥यो ।

उक्त निर्णय शिक्षक सरुवासम्बन्धी निर्देशिकाविपरीत रहेको विषयमा यसअघि मिसन टुडे दैनिकले समाचार प्रकाशित गरेको थियो । राजनीतिक आस्था र प्रभावमा प्रभावित भएर गरिएको निर्णय विवादित भएपनि निर्णय कार्यान्वयन हुन सकेको छैन । विव्यस उक्त निर्णयसम्म आइपुग्न सबैभन्दा पहिला २०८२ जेठ २२ गते फर्किनुपर्छ । त्यसदिन स्कुलले कोहलपुर नगरपालिकालाई विद्यालयमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदमा सरुवा प्रक्रिया अघि बढाइदिन पत्र लेखेको थियो । स्कुलको पत्रबमोजिम कोहलपुर नगरपालिकाले असार २ गते निवेदन दिन १५ दिने सूचना जारी ग¥यो ।

तोकिएको समयावधि असार १६ गतेसम्म सरुवाका लागि ५५ जनाले निवेदन दिएका थिए । उक्त निवेदनउपर निर्णय गर्न पहिलोपटक असार २२ गते विव्यसको बैठक बसेको थियो । उक्त बैठकमा नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर हमाललाई आमन्त्रितका रूपमा निमन्त्रणा गरिएको थियो ।

विव्यसले निर्देशिकाबमोजिम निर्णय गर्ने सुइँको पाएपनि उनी ५ मिनेटपनि बैठकमा नबसी फर्किएका थिए । उक्त दिनको बैठकले निर्णय गर्न सकेन । असार २९ गते फेरी बैठक बस्यो । त्यही बैठकले सेवाअवधिको आधारमा ४२औँ स्थानमा रहेका न्यौपानेलाई निर्देशिकाविपरीत सरुवाका लागि सहमति दिने निर्णय ग¥यो । शिक्षक सरुवासम्बन्धी निर्देशिका–२०८१ बमोजिम निवेदकमध्ये सेवाअवधिको आधारमा एक नम्बरमा थिए, विष्णुप्रसाद अधिकारी । उनले आफूलाई विद्यालयले अन्याय गरेको र निर्णय बदरको माग गर्दै शिक्षा तथा समन्वय इकाई बाँके र कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखालाई निवेदन दिए । निवेदकले नै बदरको माग गरेपछि विव्यसको निर्णय कार्यान्वयन हुन सकेन । हालसम्म यो प्रक्रिया अघि बढाइएको छैन ।

विद्यालयका प्रधानाध्यापक विनोद लम्साल विव्यस निर्णयपछि कुनैपनि प्रक्रिया अघि नबढेको बताउँछन् । उनका अनुसार अहिलेसम्म कुनैपनि प्रक्रिया अघि बढेको छैन । निर्णय त नगर शिक्षा शाखामा पठाउनुपर्ने हो नि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘पठाउनु त पर्ने हो । निर्णयका विरुद्धमा निवेदन परेपछि विवाद भयो । त्यसपछि विव्यसले कुनैपनि प्रक्रिया अघि बढाएको छैन ।’ कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख हमालसमेत अहिलेसम्म विद्यालयको निर्णयमा शाखामा नआएको बताउँछन् । शाखा प्रमुख हमाल भन्छन्, ‘निर्णय शाखामा आइपुुगेको छैन । निर्णय शाखामा आइसकेपछि सबै प्रक्रिया हेर्छ । निर्देशिका बमोजिम भएर सहमति दिन्छ । नभए निर्णय सच्याउन विद्यालयमै फिर्ता पठाइदिन्छ ।’ यस विषयमा बुझ्न विव्यस अध्यक्ष शर्मालाई फोन गर्दा उनको मोबाइल नम्बर स्वीच अफ रहेको थियो ।

विव्यसको बदमासी : माग एउटा, निर्णय अर्कै 

जन ज्ञान ज्योति माध्यमिक विद्यालय कौशिलानगरले जेठ २२ गते कोहलपुर नगरपालिकालाई विद्यालयको चलानी नं १८८ मा विद्यालयमा रिक्त रहेको प्राथमिक तहको स्थायी शिक्षक पदमा सरुवा प्रक्रिया अघि बढाइदिन पत्र लेखेको थियो । विद्यालयको पत्र प्राप्त भएको १२ दिनपछि नगरपालिकाले सम्बन्धित तहको योग्यता पुगेका स्थायी शिक्षकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिक्षा नियमावलीको अनुसूचि १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा तथा समन्वय इकाईको सहमतिसहित सम्बन्धित विद्यालयमा निवेदन सूचना प्रकाशित ग¥यो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा हस्ताक्षरित सूचनामा शिक्षक सरुवासम्बन्धी कार्यविधि २०८१ को दफा ९ बमोजिम निवेदन दिन भनिएको छ । प्रकाशित सूचनाअनुसार असार १६ गतेसम्म ५५ जनाले निवेदन दिए । सो सम्बन्धमा निर्णय गर्न पहिलोपटक असार २२ गते विव्यसको बैठक बस्यो । उक्त बैठकमा निर्णय हुन सकेन ।

असार २९ गते बसेको विव्यस बैठकको निर्णय नम्बर १ मा यस्तो निर्णय गरिएको छ, ‘२०८१ जेठ २१ गतेको विव्यसको निर्णयअनुसार विद्यालयको रिक्त रहन गएको प्राथमिक तहको शिक्षक सरुवासम्बन्धी २०८१ अनुसार शिक्षक सरुवा प्रक्रिया अघि बढाइदिन हुन भनी कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा बाँकेको रिक्त पदमा स्थायी शिक्षक सरुवासम्बन्धी १५ दिने सूचनाअनुसार आवेदन दिने अन्तिम मिति असार १६ गते ४ बजेसम्म संकलित आवेदन रुजु गर्दा विद्यालयको कक्षा ११ र १२ मा अंग्रेजी र सामाजिक विषय अध्यापन गराउनुपर्ने टड्कारो आवश्यकता मध्यनजर गर्दै निवेदकको शारीरिक अस्वस्थताको अवस्थालाई समेत संवेदनशील हुँदै श्री त्रिवेणी माध्यमिक विद्यालय, पालुङटार ९ सेरा गोरखामा कार्यरत शिक्षक श्री चन्द्रकान्त न्यौपानेलाई सरुवा भई यस विद्यालयमा आउनका लागि सहमति दिने निर्णय सर्वसम्मत रूपमा गरियो ।’

0000

संगीता सुवेदी
कार्यबाहक नगर प्रमुख
कोहलपुर नगरपालिका, बाँके

जन ज्ञान ज्योति स्कुलमा विवाद भएको विषयमा मैले जानकारी पाएकी थिएँ । सोही अनुसार शाखा प्रमुखलाई यथार्थ बुझ्न भनेको हो । केही दिनअघि विव्यस अध्यक्षको टोली भेट्न आउनु भएको थियो । उहाँहरूले आफ्ना कुरा राख्नु भयो । मैले नियमअनुसार नै निर्णय गर्न भनेकी थिएँ । उहाँहरूले नियमसंगत निर्णय गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

0000

रामबहादुर हमाल
शाखा प्रमुख
नगर शिक्षा, युवा तथा खेलकुद शाखा

यो विषय सुरुदेखि नै विवादित थियो । उहाँहरूले निर्णय गर्नुभयो । पछि झन् विवाद भयो । आवेदकबाट निर्णय बदरको माग गरिएको छ । निर्णय गर्नु भएकोे सुनेको थिए । तर, अहिलेसम्म कुनैपनि निर्णय शाखामा आएको छैन । निर्णय पठाएको खण्डमा शाखाले प्रक्रियाअनुसार काम गर्छ । सही भए सदर गर्छ नभए फिर्ता गर्न सक्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार