कोहलपुर माओवादीको वार्षिक कार्ययोजना



कोहलपुर (बाँके) ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिको वार्षिक कार्ययोजना निर्माण गरिएको छ । नगर समितिले आगामी एक वर्षमा गरिने कार्यहरू समेटेर कार्ययोजना निर्माण गरेको हो । पार्टीको कार्ययोजना निर्माणसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । नगर अध्यक्ष बलबहादुर खड्काका अनुसार कोहलपुर नगर समितिले एक वर्षभित्र गर्ने कामका विषयमा वार्षिक कार्ययोजनामा अग्रजहरूबाट सुुझाव संकलन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।

पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र नगरका विभिन्न कमिटीमा आबद्ध नेता र जनवर्गीय संगठनका नेतृत्वको सहभागितामा कार्ययोजनाका विषयमा वृहत् छलफल भएको छ । ‘हामीले कार्यभार सम्हालेको ६ महिना पुगेको छ । यो अवधिमा हामीले प्रारम्भिक योजनाअनुसार काम ग¥यौँ । अब पार्टीले आगामी एक वर्षमा गर्ने कामका विषयमा कार्ययोजना निर्माण गर्न लागेको हो,’ उनले भने । पार्टीलाई पूर्णत जनतामा समर्पित गर्ने, नेताहरूलाई जनता, श्रमसँग जोड्ने र वडा कमिटीहरूलाई थप प्रभावकारी बनाउने गरी कार्ययोजना निर्माण भएको अध्यक्ष खड्काले बताए ।

कार्यशालाबाट प्राप्त रचनात्मक र सिर्जनात्मक सुझावलाई अन्तिम रुप दिएर कार्ययोजनालाई अन्तिम रुप दिइने खड्काको भनाइ छ । कार्ययोजनामा प्रमुख जनजीविकाका सवाल, सहिद तथा बेपत्ता परिवारसँग पार्टीलाई जोड्ने, उनीहरूका समस्या समाधान गर्ने विषय पनि कार्ययोजनामा समेटिनेछ । कार्यशालामा सुझाव दिँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा बाँके इन्चार्ज पूर्णाकुमारी सुवेदीले नेकपा माआवादी केन्द्रले अंगीकार गरेको उद्देश्य, लक्ष्य र पार्टी विधानको अधिनमा रहेर कार्ययोजना निर्माण गर्न सुझाव दिइन् ।

उनका अनुसार कोहलपुर नगर समितिले कार्ययोजना निर्माण गर्ने सिर्जनात्मक कार्यको थालनी गरेको छ । कार्ययोजनालाई कार्यान्वयनमुखी बनाउन उनले सुझाव दिइन् । केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले वर्तमान कमिटीले क्रियाशील रूपमा काम गर्दै आएको बताउँदै कार्ययोजना अनुसार काम गर्दा सजिलो हुने र परिणाम निस्कने बताए । संगठन सञ्चालन, परिचालन र जिम्मेवारी बाँडफाँटमा बिकेन्द्रीकरण गर्न आवश्यक रहेको केन्द्रीय सदस्य न्यौपानेको भनाइ थियो ।

‘एक वर्षे कार्ययोजना निर्माण गर्नु राम्रो कुरा हो । यसलाई कार्यान्वयन गर्न सकिने गरी अगाडि बढौँ । जनता र पार्टीलाई जोडेर संगठन विस्तारमा ध्यान दिनुपर्छ,’ न्यौपानेले भने । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले कोहलपुर नगर समितिले निर्वाचित भएको ६ महिनाको अवधिमा थुप्रै राम्रा काम गरेको बताए । उनका अनुसार आगामी दिनमा पनि अझै व्यवस्थित रूपमा काम गर्न एक वर्षे कार्ययोजना निर्माण भएको छ । यस्ता सिर्जनात्मक कार्य अन्य पालिका कमिटीलेसमेत गर्ने संयोजक पाण्डेले बताए । कार्यशालामा विभिन्न कमिटीका प्रमुखहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार