वीरेन्द्रनगर ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको बिचारलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका उनले पुष्पलालको बिचारलाई व्यवहारमा उतार्नसकेमा मात्र राष्ट्रको दीर्घकालीन हितमा काम गर्न सकिने तर्क गरे । नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।
पुष्पलालको योगदानप्रति श्रद्धा व्यक्त गर्दै उनले देशप्रेम, समाजवाद र समानताको पक्षमा पुष्पलालले देखाएको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । पुष्पलालले व्यक्तिगत लाभभन्दा राष्ट्र र जनताको हितलाई प्राथमिकता दिएकोले त्यो सोच आजको नेतृत्व र नयाँ पुस्ताले आत्मसात् गर्नुपर्ने उनको भनाइ छ ।
‘पुष्पलालको सिद्धान्त, संगठन निर्माण र संघर्षको शैलीबाट अहिलेको नेतृत्वले धेरै सिक्नुपर्ने आवश्यकता छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘पुष्पलालले कठोर परिस्थितिमा पनि समाजवाद, समानता र न्यायको पक्षमा अडिग रही कम्युनिस्ट आन्दोलनलाई संस्थागत गरेका थिए । उत्पीडित वर्गको पक्षमा बुलन्द आवाज उठाउन पुष्पलालले देखाएको साहसिक बाटोलाई हामी सबैले पछ्याउनुपर्छ ।’
पुष्पलालले शिक्षालाई जनचेतनाको मूल आधार ठानेर कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद गरी बिचारलाई आम जनतासम्म पु¥याएका थिए। जुन कार्यले प्रेरणा दिएको मुख्यमन्त्री कँडेलले बताए । उनले थपे, ‘पुष्पलालले जेल, निर्वासन र पीडासमेत सहँदै देशको परिवर्तनका लागि जीवन समर्पण गरेको थिए । आज हामीले पनि आदर्श मात्र होइन, व्यवहारमा लागु हुने नीति रोज्नुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्