
नेपालगन्ज ।
गएको माघ महिनामा कान्तितालको वरिपरि राखिएका तीन सय मिटर रेलिङ तोडफोड गरियो । रेलिङमा प्रयोग गरिएका फलामका सरियाहरु चोरीसमेत भए । त्यसरी रेलिङ तोडफोड र चोरी गर्नेहरुको अहिलेसम्म अत्तोपत्तो छैन । रेलिङको मर्मतसमेत गरिएको छैन । कान्ति तलाउलाई उपमहानगरपालिकाले ठेक्का लगाउने बेला तालको फुटपाथमा विभिन्न ठाउँमा आराम गर्नका लागि राखिएका सिमेन्टका बेञ्चहरु पनि गायब छन् ।
यहीबीचमा पछिल्लो केही समययता तालभित्र एक्साभेटर लगाएर साना–साना पोखरीहरु निर्माण भइरहेको छ । कान्तितालमा माछापालन तथा पर्यटकीय गतिविधिको रुपमा बोटिङ सञ्चालन गर्ने जिम्मेवारी पाएको ठेकेदार पक्ष माछापालनका लागि त्यस्ता पोखरीहरु निर्माण गरिएको बताउँछ । वर्षाको बेला पनि ताल सुख्खा बनाइएको छ ।
कान्तितालमा विभिन्न पन्क्षीहरुको बासस्थान रहेको र तालको प्रकृति सीमसार क्षेत्रको जस्तो रहेको भन्दै संरक्षणकर्मी तथा पर्यावरण संरक्षणमा चासो राख्नेहरुले आवाज उठाइरहेका बेला तालमा त्यसविपरीतका गतिविधि भइरहेका छन् । अहिले तालमा चराहरु देख्न कम भएको स्थानीयहरु बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाले ताल संरक्षण गरी पर्यटकीय स्थल बनाउन १० करोड खर्चेको कान्तिताल संरक्षणको अभावमा कुरुप बन्दै गएको छ ।
कुनैबेलाको सुंगुरबंगुर खेल्ने र फोहोर फाल्ने ठाउँ बनेको नेपालगन्जको पुरैनास्थित कान्ति तलाउमा नेपालगन्ज उपमहानगरपालिकाले करिब १० करोड खर्चेको छ । जसबाट ताल वरिपरि पर्खाल लगाउने, रेलिङ राख्ने र ताललाई परिक्रमा गर्ने करिब १८ मिटर लामो फुटपाथ र नालीसहितको सडक निर्माणको काम गरिएको छ । तर तालमा निर्माण भएको दुई वर्षभन्दा बढी भइसक्दा पनि ताल पर्यटकीय दृष्टिले उपयुक्त हुन सकेको छैन । अर्कोतिर तालको पर्यटकीय तथा पर्यावरणीय महत्व बढाउने चराहरुको बासस्थान पनि नष्ट हुने गतिविधि हुनु दुःखद भएको संरक्षणकर्मीहरु बताउँछन् ।
क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अभियन्ता डा. विनोद कर्णले नेपालगन्ज उपमहानगरपालिकाले तालको सदुपयोगमा गलत बाटो अपनाएको बताउँछन् । उनले तालको पर्यावरणीय महत्वलाई ध्यान नदिएर पैसा कमाउने उद्देश्यले मात्रै ठेक्का लगाइएको बताए । उनले उपमहानगरले पर्यावरणीय महत्वलाई जोगाएर त्यसैबाट पर्यटकीय गतिविधि गर्दा दीर्घकालीन हुने बताए ।
यतिमात्रै होइन ताल क्षेत्र अहिले लागूऔषध दुव्र्यसनीहरुको जमघट स्थल बनेको र रातको समयमा शंकास्पद गतिविधिहरु हुने गरेका स्थानीयहरु बताउँछन् । ताल क्षेत्रको नियमित रेखदेख र सरसफाइको अभावमा करोडौँको लगानी गरिएको योजना अनुत्पादक र जीर्ण अवस्थामा पुगेको छ ।
ताल संरक्षणका लागि हस्ताक्षर अभियान

क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज अभियानले कान्तितालको संरक्षणका लागि दबाब दिन हस्ताक्षर अभियान सुरु गरेको छ । बुधबार नेपालगन्जको विपी चोक र सेतु विक चोकमा हस्ताक्षर संकलन गरिएको थियो । क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जले तालको संरक्षण नभएमा तालमा आश्रित जलचर तथा चराचुरुङ्गीको बसोबास नष्ट हुने, स्थानीय जलस्रोतहरु सुक्ने र वातावरण असन्तुलन उत्पन्न हुने बताएको छ ।
तालको संरक्षणका लागि अभियानले पाँचवटा मागहरु अघि सारेको छ । जसमा तालमा सीमसार क्षेत्रको सीमा निर्धारण गरी स्पष्टरुपमा संरक्षण क्षेत्र घोषणा गर्न, अतिक्रमण हटाउन, फोहोरमैला व्यवस्थापन प्रणाली लागु गर्न, संरक्षण र प्रवद्र्धनको लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्न र ताल संरक्षणको लागि सुरक्षा गार्डको व्यवस्था गर्न माग गरिएको छ । संकलित हस्ताक्षरसहित नेपालगन्जका नगर प्रमुखलाई ज्ञापनपत्र बुझाइने अभियानका संयोजक डा. कर्णले जानकारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्