काँग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाटै निस्कासन



नवलपरासीमा काँग्रेसका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेल थिए । चौधरी नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवार भएर चुनाव जिते भने नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका कँडेल पराजित भएका थिए । चुनावमा चौधरी र कँडेललाई असहयोग गरेको आरोप खनालमाथि लागेको थियो । अनुशासन समितिले महामन्त्री खनालमाथि स्पष्टीकरण पनि सोधेको थियो । खनालले दिएको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै अनुशासन समितिले एक वर्षका लागि पार्टी सदस्यताबाट नै निस्कासन गर्ने निर्णय गरेको छ ।

बाँके ।

नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाही गरेको छ । आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिको असार १७ को निर्णयअनुसार महामन्त्री खनाललाई कारबाही गरिएको हो । अनुशासन समितिले महामन्त्री खनालमाथि कारबाही गरेको पत्र बुधबार लुम्बिनी काँग्रेस कार्यसमितिमा पठाएको थियो ।

पत्रमा नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको २०८२ असार १७ गते बसेको बैठकको निर्णयअनुसार नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १० निवासी नेपाली काँग्रेस लुम्विनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टिकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टिकरण चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणको आधारमा नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) र (घ) र उपधारा ८ (ड) बमोजिम निजलाई १ (एक) वर्षको लागि नेपाली कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

२०७९ मंसीरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी बर्दघाट १० घर भएका महामन्त्री खनालले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेको आरोपमा अनुशासन समितिमा उजुरी परेको थियो । नवलपरासीमा काँग्रेसका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेल थिए । चौधरी नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवार भएर चुनाव जिते भने नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका कँडेल पराजित भएका थिए । चुनावमा चौधरी र कँडेललाई असहयोग गरेको आरोप खनालमाथि लागेको थियो ।

अनुशासन समितिले महामन्त्री खनालमाथि स्पष्टीकरण पनि सोधेको थियो । खनालले दिएको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै अनुशासन समितिले एक वर्षका लागि पार्टी सदस्यताबाट नै निस्कासन गर्ने निर्णय गरेको छ । खनाल काँग्रेस संस्थापनइतर समूहका हुन् । असार १६ गतेदेखि असार २३ गतेसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमितिमा पनि अनुशासन कारबाहीमाथि केन्द्रित रहेर प्रश्न उठेका थिए । केन्द्रीय सदस्यद्वय चौधरी र कँडेलले चुनावमा असहयोग गर्नेलाई कारबाही गरिनुपर्ने धारणा राखेका थिए । केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका सिनियर साथीहरूलाई राख्नुपर्ने बताएका थिए ।

‘अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदो रहेनछ । तपाईँका विरूद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नु हुन्न उहाँहरू । यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन । एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ । कारबाहीमा किन विभेद ?’ कोइरालाले केन्द्रीय समितिमा प्रश्न गरेका थिए ।

यसपछि बोलेका केन्द्रीय सदस्यद्वय चौधरी र कँडेलले लुम्बिनी महामन्त्री खनाललाई ‘जोगाउन’ कोइरालाले यस्तो अभिव्यक्ति दिएको आरोप लगाएका थिए । महामन्त्री खनालले आफूलाई कारबाही गर्ने सूचना पाएसँगै जिल्लामै पत्रकार सम्मेलन गरेर त्यसको प्रतिवाद गरेका थिए ।
खनालले यसको जवाफ आफ्नो क्षेत्रमा रहेका पार्टी कमिटीले नै दिने बताएका छन् ।

‘काँग्रेस डन र धन भएकाहरूको कब्जामा गएको यो उदाहरण हो भनेर मैले भन्दै आएको छु, यस्तै गर्दै गए ०८४ मा पार्टी सकिने मेसो हो, जसले गल्ती गरेको छ उसलाई जोगाउने र जसले निरन्तर पार्टी बचाउन लागिरहेको छ उसलाई सकाउने तरिकाले कसरी चल्छ पार्टी ?’ उनले भने, ‘यसको जवाफ मैले दिने होइन यहाँका पार्टी कमिटीले कसरी दिन्छन्, सबै क्षेत्रको बैठक बोलाएको सुनेको छ । उनीहरूको निर्णयका आधारमा अघि बढ्ने हो ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार