मधुवनमा निःशुल्क शववाहन सेवा सञ्चालन



कोहलपुर (बाँके) ।

बर्दियाको मधुवन नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालन गरेको छ । नगरवासीलाई निःशुल्क सेवा प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालन गरेको हो ।

नगरपालिकाको चालू आर्थिक वर्ष ०८१–०८२ को नीति तथा कार्यक्रममा नगरपालिकामा निःशुल्क शववाहन सेवा सञ्चालन गर्ने योजना समावेश गरिएको थियो । नगरपालिकाको नीति तथा कार्यक्रमअन्तर्गत नै शववाहन खरिद गरेर सञ्चालनमा ल्याइएको मधुवन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता मेकबहादुर गुरुङले बताए । उनका अनुसार नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालन गरेको एक महिना भयो ।

‘नगरका मानिसको मृत्यु हुँदा घाटसम्म पुग्न घण्टौँ हिँड्नुपर्छ । तीनदेखि चार किलोमिटर टाढासम्म हिँड्नुपर्ने बाध्यता रहेको छ । स्थानीय जनताको सहजताका लागि नगरपालिकाले आफ्नै लगानीमा शववाहन खरिद गरेर सञ्चालन गरेको हो,’ नगर प्रवक्ता गुरुङले भने ।

नगरपालिकाले उक्त शववाहन २५ लाख रूपैयाँ लागतमा खरिद गरेको हो । शववाहन सञ्चालनमा आएपछि दाह संस्कारका लागि सहज भएको छ । यसअघि मधुवनका नागरिक कैलालीस्थित कर्णाली पुल रहेको कोठियाघाटसम्म पुग्ने गरेका थिए । नगरपालिकामा समेत दुई वटा शवदाह स्थल रहेका छन् । वडा नम्बर ८ कुसुम्भाघाट र वडा नम्बर ६ को लठुवाघाटमा शवदाह स्थल रहेको प्रवक्ता गुरुङको भनाइ छ ।

नगर प्रमुख तेजबहादुर भाट नगर क्षेत्रका विपन्न नागरिकहरूलाई सहज होस् भन्ने उद्देश्यले निःशुल्क शववाहन सेवा सुरु गरिएको बताउँछन् । उनका अनुसार स्थानीय सरकारले जनताको लागि शववाहन सेवा अत्यावश्यक रहेको महशुस गरेपछि खरिद गरिएको हो । ‘एक महिना भयो शववाहन सेवा सञ्चालनमा आएको हो । नागरिकले निःशुल्क सेवा पाइरहेका छन् । हामी यस्ता थुप्रै राम्रा काम गरेका छौँ । तीमध्ये शववाहन सेवा पनि एक हो ।’ नगर प्रमुख भाटले मिसन टुडे दैनिकसँग भने ।

मधुवन नगरपालिकाले यसअघि एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । यस्तै विपद्को पूर्वतयारीका लागि नगरपालिकामा दमकलसमेत सञ्चालनमा रहेको छ । विकास निर्माणमा सहजताका लागि नगरले केही वर्षयता जेसिबी र रोलरसमेत खरिद गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार