धनगढी ।
सुदूरपश्चिम प्रदेश सभाको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट सर्वसम्मत पारित भयो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको मौन समर्थनमा सर्वसम्मत ढंगले पारित भएपछि अहिले माओवादीको दोहोरो भूमिका देखिएको छ । बुधबार पारित भएको बजेटप्रति अहिले माओवादीका प्रदेश सभा सदस्यहरूले सामाजिक सञ्जालमार्फत सरकारको कार्यक्रममा सहभागी नहुनेदेखि बजेट पारित गराउँदा विरोध नगरेकोमा क्षमायाचनासमेत गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कल रावलले प्रदेशका मन्त्रीहरू सहभागी हुने कार्यक्रमहरू बहिष्कार गर्ने अभियान सुरु गरेको बताए । सामाजिक सञ्जाल फेसबुकमार्फत रावलले बजेटको दुरुपयोग र आर्थिक अनुशासनको उल्लंघन भएको आरोप लगाउँदै मन्त्रीहरूको उपस्थितिमा हुने कार्यक्रमहरूमा आफू सहभागी नहुने घोषणा गरे ।
उनले लेखेका छन्, ‘जो–जो मन्त्रीहरूले बजेट बनाउँदा आर्थिक अनुशासन कायम गरेका छैनन् र बजेटको व्यापक दुरुपयोग गरेका छन्, ती मन्त्रीहरू मन्त्री बन्न र भन्न लायक छैनन् । हामीले संसद्मा छानबिनको माग गरेका थियौँ, तर छानबिन गर्ने आँट सरकारमा देखिएन ।’ रावलले यस्ता मन्त्रीहरूसँग अब कुनै औपचारिक कार्यक्रममा बस्न नसकिने भन्दै भनेका छन्, ‘तिनीहरू सहभागी कार्यक्रम यसै गरी बहिष्कार गरिन्छ। तिनीहरूलाई माननीय भनिन्न । अनुहार हेर्दा पनि लाज लाग्छ ।’
उनका अनुसार बिहीबार धनगढीको होटेल डेभोटीमा आयोजना गरिएको कार्यक्रममा एक जना मन्त्रीको उपस्थिति रहेकाले आफूले कार्यक्रम बहिष्कार गरेर हिँडेको बताए । ‘यो त सुरु मात्र हो,’ उनले लेखेका छन् । रावलले प्रदेश सरकारले असारे बजेट खर्च गर्न लागेको आरोपसमेत लगाएका छन् । माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री ओमविक्रम भाट ‘सरल’ले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२–८३ को बजेट सङ्ख्या बलका आधारमा पास भएको भन्दै विपक्षीको भूमिकामा कमजोरी भएको स्पष्ट स्वीकार गरे ।
सामाजिक सञ्जाल फेसबुकमा उनले विपक्षी दलहरूले विरोधमा मतदान वा बहिष्कार गर्ने तयारी समयमै गर्न नसक्दा मौन बस्न बाध्य भएको बताए । ‘यो कति उचित वा अनुचित भयो, यसबारे समीक्षा गर्नेछौँ । यो हाम्रो कमजोरी रहन गयो । यसमा किन्तु परन्तु गर्ने छुट हामीलाई छैन । त्यसैले म आत्मालोचित हुँदै क्षमाप्रार्थी छु,’ उनले लेखेका छन् । उनले सरकार नैतिक रूपमा अल्पमतमा परेको र सत्ता पक्षका सांसदहरू नै बजेटविरुद्ध आक्रामक रहेको अवस्थामा प्रतिपक्षले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्नुले व्यवस्था कमजोर भएको टिप्पणी गरे । बजेट फेल हुने अवस्था नहुँदा पनि विपक्षी मौन बस्नु विडम्बनाको विषय रहेको उनको बुझाइ छ ।
‘हाम्रो विचार र व्यवहारको अन्तर नै मुख्य कारण हो,’ उनले थपेका छन्, ‘हाम्रो समर्थन थिएन र छैन् । तर प्रक्रियामा हामी चुक्यौँ । यसबाट गम्भीर शिक्षा लिएका छौँ,’ उनले स्पष्ट पारे । साथै, बजेट पारित भएपछि सरकारद्वारा आयोजना गरिएको भोजमा सहभागी भएको आरोपबारे उनले प्रस्ट पारेका छन्, ‘म आफैँ कुनै भोजमा गएको छैन । सरकार आफ्नो योजनामा सफल भयो र व्यवस्थापिकाभन्दा कार्यपालिका बलियो भएको सन्देश गयो । यसरी प्रदेश र संघीयता बलियो हुँदैन । सबैले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।’









प्रतिक्रिया दिनुहोस्