घरघरमै पुगेर हस्ताक्षर संकलन गर्दै रास्वपा



कोहलपुर (बाँके) ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेले घरघरमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै उनको न्यायका लागि घरघरमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको रास्वपाले जनाएको छ । रास्वपाले पार्टी स्थापनाको तेस्रो वर्षको अवसरमा देशव्यापी रूपमा ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान’ सुरु गरेको थियो ।

पार्टीले थालेको राष्ट्रिय अभियानअन्तर्गत बाँकेमा पनि अभियान निरन्तर सञ्चालन भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेले जनाएको छ ।
जिल्ला सचिव राजेन्द्र श्रेष्ठका अनुसार अभियान नेपालगन्जबाट सुरु भएको हो । अहिले कोहलपुर नगरपालिका लगायतका स्थानीय तहमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको सचिव श्रेष्ठले बताए । ‘पार्टी सभापति दोषि भए कारबाही भोग्नुपर्छ । तर राज्यले दुःख दिने नियत राखेको छ । लाखौँ धरौटी माग्दासमेत जेलमा हालेको छ । प्रतिशोधको राजनीति भएको छ ।

यसको विरुद्धमा पार्टीले हस्ताक्षर अभियान सुरु गरेको छ ।’ उनले भने । अभियानको क्रममा आफू नेपालगन्ज १८ मा पुगेको र त्यहाँ नागरिकहरूले स्वतस्फूर्त रूपमा रविको पक्षमा हस्ताक्षर गरेको उनले बताए । त्यहाँका ६० परिवारले रविमाथि अन्याय भएको भन्दै हस्ताक्षर गरेको श्रेष्ठको भनाइ छ । बाँकेका तीन वटै निर्वाचन क्षेत्रका बजार क्षेत्रमा डेस्क स्थापना गर्ने र गाउँक्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्ने निर्णय अनुसार हस्ताक्षर अभियान सञ्चालन गरिएको सचिव श्रेष्ठले जानकारी दिए । अभियानको क्रममा गाउँ पुग्दा र सहरी क्षेत्रमा समेत जनताले आफैँ हस्ताक्षर गरिरहेको उनको भनाइ छ ।

देशका मुख्य दलप्रति नागरिकको चरम असन्तुष्टि अभियानको क्रममा देखिएको छ । जनताले विकल्प खोजेका छन् । अहिले रवि लामिछानेमाथि मुख्यगरी सत्ताधारी पार्टीले अन्याय गरेको जनताले बताएको उनले जनाए । कोहलपुरस्थित न्युरोडमा पार्टीले स्थापना गरेको डेस्कमा हस्ताक्षर अभियानलाई समर्थन जनाउन पुगेका २० वर्षीय प्रकाश महताराले नयाँ शक्तिको नेताको रूपमा उदाएका रविमाथि राज्यले अन्याय गरेको र उनले न्याय पाउनुपर्ने मागसहित आफूले अभियानलाई समर्थन जनाएको बताए ।

रवि लामिछानेले पत्रकारितामा रहँदा कालीकोटमा अस्पताल बनाएको, मुसहर बस्ती बनाएको तथा विदेशमा बेचिएका चेलीको उद्धार गरेको उनले उल्लेख गरे । तर अहिले देशमा चरम भ्रष्टाचार गरिरहेका दलहरू मिलेर जेलमा हालेको महताराको भनाइ थियो । कोहलपुरका स्थानीय हेमराज पौडेलले आफू कूनैपनि पार्टीको कार्यकर्ता नभएको तर, अहिले राज्यले रविमाथि राजनीतिक प्रतिशोध साँधेको बताए ।

कुनैपनि कसुर गरेको प्रमाण नै नभएपनि न्यायालयले मागेको धरौटी बुझाउँदासमेत जेलमा राख्नु चरम अन्याय भएको उनको भनाइ छ । स्थानीय कृष्णबहादुर बस्नेतले देशमा केही गर्छु भनेर राजनीतिमा आएका नेतालाई राज्यले अन्याय गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेले हस्ताक्षर अभियान एकसातासम्म सञ्चालन गर्ने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार