बंगलादेश सरकारले स्पेसल पावर एक्टअन्तर्गत भएका सबै सम्झौता स्थगित गर्ने निर्णय गरेसँगै जिएमआर कम्पनीसँगको सम्झौता रद्द गर्ने तयारी भइरहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । बंगलादेशी अधिकारीहरूलाई उद्धृत गर्दै नेपालबाट ५०० मेगावाट बिजुली लैजाने योजना अनिश्चित भएको उल्लेख गरेका छन् । नेपालको ९०० मेगावाट क्षमताको जिएमआर अपर कर्णाली जलविद्युत् आयोजनाबाट बिजुली लैजाने विषय तीन देशीय मोडलमा कार्यान्वयन गरिने उल्लेख गरिएको थियो ।
काठमाडौँ ।
बंगलादेशले नेपालको अपर (माथिल्लो)कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली लैजाने योजना अन्यौलमा परेको छ । बंगलादेश सरकारले स्पेसल पावर एक्टअन्तर्गत भएका सबै सम्झौता स्थगित गर्ने निर्णय गरेसँगै जिएमआर कम्पनीसँगको सम्झौता रद्द गर्ने तयारी भइरहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बंगलादेशी अधिकारीहरूलाई उद्धृत गर्दै नेपालबाट ५०० मेगावाट बिजुली लैजाने योजना अनिश्चित भएको उल्लेख गरेका छन् । नेपालको ९०० मेगावाट क्षमताको जिएमआर अपर कर्णाली जलविद्युत् आयोजनाबाट बिजुली लैजाने विषय तीन देशीय मोडलमा कार्यान्वयन गरिने उल्लेख गरिएको थियो । तर बंगलादेशले हालै निर्णय गर्दै यसलाई अघि नबढाउने संकेत दिएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (ऊर्जा विकास बोर्ड)का अध्यक्ष इन्जिनियर रेजाउल करिमले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले स्पेसल पावर एक्टअन्तर्गत भएका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेको बताएका छन् । यो निर्णय भइसकेकाले जिएमआरसँगको प्रस्तावित सम्झौता पनि स्वत रद्द हुने भएको मान्न सकिने उल्लेख गरेका छन् । बंगलादेशले भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट बिजुली लैजाने योजना थियो ।
अहिले पनि नेपालबाट ४० मेगावाट बिजुली निर्यात भइरहेको छ । बंगलादेशले यो प्रसारण लाइन मार्गप्रति भूराजनीतिक र रणनीतिक चासो देखाउँदै प्रश्न समेत उठाएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बंगलादेशी अधिकारीहरूको भनाइमा अहिलेको अन्तरिम सरकार यो आयोजना अघि बढाउने विषयमा खासै इच्छुक देखिएको छैन । २०२४ मा बंगलादेशले भारतको जिएमआर इनर्जीसँग एमओयु गरेर नेपालबाट ५०० मेगावाट बिजुली लैजाने योजना अघि सारेको थियो ।
२०२३ मेमा भएको नेपाल–भारत–बंगलादेशको स्टेयरिङ कमिटी बैठकमा बंगलादेशका ऊर्जा सचिव मोहम्मत हाबिबुर रहमान र भारतका ऊर्जा सचिव आलोककुमारको उपस्थितिमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । विद्युत् व्यापारसँगै बंगलादेशले नेपालसँग संयुक्त लगानीमा जलविद्युत् आयोजना गर्ने रुचि पनि देखाएको थियो ।
तर स्पेसल पावर एक्टअन्तर्गत भएका अन्य परियोजनाहरू जस्तै तेल, ग्यास, ऊर्जा उत्पादन तथा खरिदसम्बन्धी सम्झौताहरू पनि वर्तमान सरकारद्वारा खारेज गरिँदै गएको सन्दर्भमा अपर कर्णाली जिमएआर परियोजना पनि स्थगित हुने प्रष्ट देखिएको उल्लेख गरिएको छ । नेपालले बंगलादेशमा पहिलोपटक गत वर्ष कात्तिक १८ (जुलाई १५)मा नेपाल विद्युत् निर्यात गरेको थियो । यो वर्षका लागि पनि ४० मेगावाट बिजुली निर्यात सुरू भइसकेको छ ।
भारतीय प्रसारण लाइन प्रयोग गरेर बर्खा याममा बिजुली निर्यात गरिँदै आएको छ । प्राधिकरणले यसवर्ष असार १ (जुन १५) राति १२ बजेदेखि ४० मेगावाट विद्युत् निर्यात सुरू गरेको हो । गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत् निर्यात भएको थियो । नेपाल विद्युत् प्राधिकरणले यो बर्खाको पाँच महिना निरन्तर बंगलादेशमा विद्युत् निर्यात गर्ने उल्लेख गरेको छ ।









प्रतिक्रिया दिनुहोस्