पशु प्रजनन केन्द्रले मनायो ४६औँ फार्म दिवस



नेपालगन्ज (बाँके) ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाट बाँकेले बुधबार आफ्नो स्थापनाको ४६औँ फार्म दिवस मनाएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटस्थित आफ्नै कार्यालयको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यालयले ४६औँ फार्म दिवस मनाएको हो ।
कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले नेपालमै तीन वटा मात्र रहेका पशु प्रजनन कार्यालयमध्ये एउटा आफ्नै पालिकाभित्र हुनु समग्र गाउँपालिकाकै लागि गर्वको विषय भएको बताए । उनले पश्चिम नेपालका २५ वटा जिल्लामा आफ्नो सेवा पुराएर कार्यालयले राष्ट्रिय योगदान दिएको बताए ।

‘यो कार्यालय यहाँ हुनु हामी सबैको लागि गर्वको विषय हो, कार्यालयले यस क्षेत्रका २५ वटा जिल्लामा घाँसको बीउ तथा बिरुवा उत्पादन वितरण र पशुहरूमा प्राकृतिक तथा कृत्रिम गर्भाधान गराएर राष्ट्रिय योगदान पुराउनुका साथै राजस्व संकलनसमेत गरेर आर्थिक टेवा पनि पुराएको छ।’ उनले भने, ‘यहाँ उत्पादन भएका घाँसका बीउ तथा बिरुवा र पशुका वीर्यलाई प्रोत्साहन गर्नका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।’
उनले कार्यालय र पालिकाबीच यथेष्टरूपमा समन्वय र सहकार्य नभएपनि यहाँ उत्पादन भएका घाँसका बीउ, बिरुवा तथा पशुका वीर्य पालिकाभित्रका किसानहरूले प्रयोग गरिरहेको जनाए ।

रैथाने बीउ उत्पादन तथा संरक्षणका लागि पालिकाले पशु सम्भाव्यता अध्ययन केन्द्रको तयारी गरिरहेकोसमेत उल्लेख गरे । बाहिरी जिल्लाबाट आउने तथा भारतबाट आउने घाँसका बीउ तथा बिरुवाहरूलाई पालिकाले पूर्णरूपमा निरुत्साहित गर्दै यहीँ उत्पादन भएका बीउ तथा बिरुवालाई प्रगोग गर्न आफूले पहल गर्ने उनले बताए । उनले भारतबाट आयात हुने दूधका कारण किसानले पालेका पशुबाट उत्पादन भएको दूधले बजार नपाएको भन्दै केन्द्र सरकारले भारतबाट आयात हुने दुग्धजन्य पदार्थलाई पूर्णरूपमा बन्द गर्नका लागि नीति बनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यालयका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा.खिमानन्द खनालले २०३६ सालमा भैँसी फाराम (बुल सेन्टर)का रूपमा स्थापना भएपश्चात् विभिन्न चरण हुँदै ४६औँ वर्ष प्रवेश गरेको बताए । उनले २०६० सालमा चरन तथा घाँसेबाली बिउवृद्धि फार्ममा रुपान्तरण भएको, २०४२ सालमा पशु प्रजनन कार्यालयका नाममा स्थापना भएको र देशमा संघीयता कार्यान्वयनसँगै २०७५ सालमा राष्ट्रिय पशु प्रजनन कार्यालयका नामबाट सेवा प्रदान गरिरहेको जानकारी दिए ।

उनले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी २५ जिल्लामा सेवा प्रवाह भइरहेको बताए । कार्यालयबाट विभिन्न जातका घाँसका बिउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधारअन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण गर्दै आएको बताए । साथसाथै प्राकृतिक गर्भाधानको सेवासमेत कार्यालयले प्रदान गर्दै आएको उनले जानकारी दिए ।

पशुविकास अधिकृत डा.मिलनकुमार चौधरीले कार्यालयले चालू आवमा मकैचरी घाँसको बीउ ७१०० केजी, जै घाँसको बीउ ८७०० केजी, बर्षिम घाँसको बीउ ५०० केजी, भेच घाँसको बीउ ६०० केजी र डाले घाँसको बिरुवा १५००० उत्पादन गरिएको जानकारी दिए । पशुसेवा प्राविधिक देवनारायण जैसी कार्यालयले चालू आवको हालसम्ममा जमेको वीर्य उत्पादन करिब एक लाख डोज, जमेको वीर्य वितरण ६२ हजार डोज, तरल नाइट्रोजन खरिद तथा वितरण ३० हजार डोज र ४६ हजार पशुचौपालाई कृत्रिम गर्भाधान गराइएको जानकारी दिए ।

कार्यालयले सेवा प्रवाह गरेवापत ५२ लाख रूपैयाँ राजस्वसमेत संकलन गरेको उनले बताए । कार्यक्रममा खजुरा ५ का वडाध्यक्ष गरिबे शेषले कार्यालयले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढे किसानहरूलाई थप सेवा सुविधा प्रदान गर्न सहज हुने बताए । कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक डा.सुमन खनालले कार्यालयले नश्ल सुधार र कृत्रिम गर्भाधान मात्र नगराएर उनीहरूको आहाराका लागि आवश्यक घाँसको समेत उत्पादन गर्दै र अन्य ठाउँमा पनि बीउ, बिरुवा तथा वीर्य वितरण गरेर पश्चिमका जनतालाई सेवा प्रदान गरेर महत्वपूर्ण कार्य गरेको बताए ।

उनले उन्नत जातका साथसाथै रैथाने जातका बीउ तथा पशुको वीर्य उत्पादन तथा वितरणसमेत गर्नुपर्नेमा जोड दिए । स्थानीय गड्डी जातको राँगाबाट वीर्य उत्पादन तथा वितरण गरेपनि पनि रैथाने तथा स्थानीय साँढे तथा बोकाको पनि वीर्य संकलन, उत्पादन तथा वितरण गरेर उनीहरूको समेत संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार