
बर्दिया ।
प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै स्थानीयलाई हैरानी दिने एक जनालाई बर्दियाबाट प्रहरीले पक्राउ गरेको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका–९ का १९ वर्षीय अर्जुन रोकायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालले जानकारी दिए ।
उनका अनुसार रोकायले होटल तथा पसलमा ‘म प्रहरी सहायक निरीक्षक हुँ’ भन्दै उधारो मागेर व्यवसायीहरूलाई हैरानी दिइरहेको सूचनाको आधारमा तत्काल प्रहरी टोली खटिएको थियो । प्रहरीले रोकायलाई नियन्त्रणमा लिइ सोधखोज गर्दा प्रहरी संगठनमा आबद्ध नरहेको खुलेको डीएसपी डमरपालले बताएका छन् ।
उनका अनुसार रोकायले झुठ्ठा तथा काल्पनिक पद सृजना गरी स्थानीयलाई दुःख दिने गरेको बुझिएको छ । स्थानीयलाई दुःख दिएको आधारमा रोकायलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको डमरपालले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार









प्रतिक्रिया दिनुहोस्