नेपालगन्जमा ‘स्ट्रिट फुडलेन’ सञ्चालन



नेपालगन्ज ।

ध्वजा र तुलहरूले सिंगारिएको त्रिभुवन चोकदेखि पूर्वपट्टी नेपालगन्ज उद्योग वाणिज्य संघको भवनसम्म विभिन्न प्रकारका बिजुली बत्तीले सिंगारिएको छ । सडकमै लहरै ठेलाहरूमा चाटदेखि थारू समुदायको मौलिक परिकार ढिक्रीसम्म बिक्रीमा राखिएका । परिकार विक्रेताहरू एप्रोन र हातमा ग्लोभ्स लगाएर सेवा प्रदान गरिरहेका । मानिसहरू आ–आफ्ना स्वादअनुसारका परिकारको स्वाद लिइरहेका । यो दृश्य नेपालगन्जको त्रिभुवन चोकमा सञ्चालनमा ल्याइएको नमुना स्ट्रिट फुडलेनको हो ।

वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करणका अवसरमा नमुनाका रूपमा उक्त फुडलेन सञ्चालन गरिएको हो । नेपालगन्जका रैथाने खानाको प्रचारप्रसारका साथै व्यवसायीहरूलाई अवसर सृजना गर्ने उद्देश्ले दुईदिने स्ट्रिट फुडलेन सञ्चालन गरिएको मार्टका संयोजक नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । त्रिभुवन चोक पूर्वलाइनमा ठेलामा विभिन्न खानाका परिकारहरू राखेर शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म फुडलेन सञ्चालन गरिएको थियो । आइतबार पनि सोही समयमा फुडलेन सञ्चालन गरिनेछ । ठेलामा खानाका स्टलका लागि ट्राफिक व्यवस्थापनका साथै खानाको सरसफाइका लागि व्यापारीहरूलाई एप्रोन र ग्लोभ्सलहरू पनि प्रदान गरिएको छ ।

फुडलेनमा खानाका परिकारको स्वाद चाख्न मानिसहरूको घुइँचो लागेको थियो । खानाको स्वाद चाख्न पुगेकाहरूले नेपालगन्जका खानाका परिकारहरू एकैठाउँमा व्यवस्थित तरिकाले उपलब्ध हुँदा खुसी लागेको बताए । व्यवसायीहरूले पनि नेपालन्जमा कुनै निश्चित स्थानमा स्ट्रिट फुडलेन नियमितरूपमा सञ्चालन गर्दा राम्रो हुने बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले नमुनाको रूपमा सञ्चालन गरिएको स्ट्रिट फुडलेनले नेपालगन्जमा खानाका परिकारको व्यवस्थित लेनको आवश्यकता र सम्भावना उजागर गरेको बताए ।

अब योजनाबद्ध रूपमा नेपालगन्जमा नियमित रूपमा खानाका परिकारको बजारको सञ्चालन गर्नु जरुरी रहेको उनको भनाइ छ । यसैबीच वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण पनि शनिबारबाट सुरु भएको छ । नेपालगन्जमा आयोजना हुँदै आएको ट्राभल मार्टको तेस्रो संस्करणको प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले उद्घाटन गरे ।

मार्टको उद्घाटन गर्दै राठौरले पछिल्लो दशकमा सडक मार्गमा उल्लेखनीय प्रगति भएकोले पर्यटकीय क्षेत्रसम्मको पहुँचलाई सहज बनाएको बताए । उनले यसलाई अवसरको रूपमा लिएर पर्यटन प्रवद्र्धनको कामहरू निरन्तर हुनुपर्ने बताए । उनले सबै कुरा रातारात सम्भव नहुने हुनाले नकारात्मक भन्दा सकारात्मक सन्देशहरू जनस्तरमा दिनु जरुरी रहेको पनि बताएका छन् ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट, नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वकेन्द्रीय अध्यक्ष अच्युत गुरागाईं लगायतले पश्चिम नेपालको पर्यटकीय सम्भावनाका बारेमा प्रकाश पारेका थिए । उनीहरूले भारतबाट आएका पर्यटन व्यवसायीहरूलाई पर्यटकहरू नेपाल पठाउने काममा सघाउन आग्रह गरेका थिए ।

इण्डियन टुर एण्ड ट्रेड वेलफेयर एसोसियसन लखनउका अध्यक्ष राजेश सिन्हाले नेपालसँग थुप्रै पर्यटकीय सम्भावना रहेकोले व्यावसायिक रूपमा सहकार्यका लागि आफूहरू तयार रहेको बताए । उनले पर्यटकीय क्षेत्रसम्म सडकमार्गको स्तरोन्नति गर्न पनि आग्रह गरे ।

मार्टमा भारतका महत्वपूर्ण पर्यटकीय सहरहरू बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ४० भन्दा बढी टुर एण्ड ट्राभल व्यवसायीहरूको सहभागिता रहेका मार्टको आयोजक मूल समितिका संयोजक सिग्देलले जानकारी दिएका छन् । साथै, भारतबाट पत्रकार, ब्लगर र सोसल मिडिया इन्फ्लुएन्सरहरू पनि मार्टमा सहभागी भएका छन् ।

शनिबार मार्टको उद्घाटनसँगै नेपाल र भारतका पर्यटन व्यवसायीहरूबीच बिटुबी सेसन पनि सञ्चालन गरिएको थियो । २६ गतेसम्म चल्ने मार्टको अवसरमा आइतबार पर्यटनबारे छलफल हुने जनाइएको छ । यसैगरी बाँके बर्दियाका पर्यटकीय स्थलहरूको परिचयात्मक भ्रमण, कर्णालीमा ¥याफ्टिङ र क्यासिनो तथा होटल भिजिटको कार्यक्रमहरू पनि तय गरिएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २५ गते आइतबार