जलवायु परिवर्तनका अनेकन संकेत हुन्छन् । हिमाल पग्लिनु नदीको पानी घट्नु अनियमित वर्षा कहिले बाढी कहिले सुख्खा जंगलमा आगलागीका घटना वृद्धि हुनु कृषि उत्पादन कमी हुनु जलवायु परिवर्तनका संकेत हुन् । जलवायु परिवर्तन एउटा लामो प्रक्रिया हो । जलवायु परिवर्तनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै हानी पु¥याइरहेको छ । सबैभन्दा ठूलो असर वातावरणमा परेको छ । विगतको तुलनामा पृथ्वीको तापक्रम केही बढेको छ ।
सागर गैरे ।
नेपाल आफू हिमाली देश भएको नाताले विश्वव्यापी जलवायु संकटका कारण स्थानीय समुदायका पिडालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले सगरमाथा संवाद कार्यक्रम आयोजना गरेको थियो । तीनदीने अन्तर्राष्ट्रिय सम्मेलन ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मूल नारासहित काठमाडौँमा आजसम्म सञ्चालन हुनेछ ।
‘सगरमाथा संवाद’लाई नेपालले हिमाली क्षेत्रको आवाज बनाउँदै, जलवायु परिवर्तनले हिमाल पग्लँदै गरेको, पानीको स्रोत घट्दै गएको र जनजीवनमा पारेको प्रभावलाई विश्व सामु प्रस्तुत गर्ने प्लेटफर्म बनाउन खोजेको देखिन्छ । अहिले पृथ्वी बिरामी छ । हामि सबैले महसुस गरिरहेका छौँ । एकै समयमा खडेरी र बाढी, एकै दिनमा चर्की र असीना, जलवायु असन्तुलनका लक्षणहरू हाम्रा आँखै अगाडि छन् । तर, अझै पनि हामी यसलाई सामान्य ठानिरहेका छौँ ।
आज काठमाडौँमा सम्पन्न हुने ‘सगरमाथा संवाद–२०८१’ जलवायु परिवर्तन सम्बन्धी चेतना र साझा कदमको एउटा सशक्त प्रयास बन्न पुगेको छ । विश्वका वैज्ञानिकहरू वर्षौँदेखि भन्दै आइरहेका छन् जलवायु परिवर्तन अब भविष्यको खतरा होइन, वर्तमानको संकट हो । नेपाल लगायतका हिमाली देशहरू यसको प्रत्यक्ष मारमा छन् ।
सगरमाथा संवादमा भारत, चीन, भुटान, बंगलादेश, मालिदभ्स, अजरबैजान लगायतका देशका मन्त्री, सांसद, विज्ञ, अनुसन्धानकर्ता, पत्रकार, जलवायु अभियन्ता, युवा नेतृत्वसहित १७५ जना सहभागी भएका छन् । यो संवादले नेपालजस्ता साना मुलुकको मौन आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने काम भएको छ । आउनुहोस् यो लेखमा हामी जलवायु परिवर्तन, त्यसका कारण असर र समाधानका बारेमा छलफल गरौँ ।
१. जीवनको अस्तित्व र पृथ्वीको सुरक्षा
एपोलो ११ मिसनका दौरान, जब पहिलोपटक मानिस चन्द्रमामा अवतरण ग¥यो, तिनले चन्द्र सतहबाट पृथ्वीको एक अद्भुत तस्बिर खिचे । उदाउँदै गरेको नीलो ग्रह, बादल, सागर, पहाड र मैदानसहित । अमेरिकाले त्यो ऐतिहासिक क्षणलाई समेट्दै उक्त तस्बिरसहितको हुलाक टिकट प्रकाशित ग¥यो । त्यो चित्रमा देखिएको पृथ्वी, अमूर्त कला जस्तै देखिन्थ्यो शान्त, सुन्दर र पूर्ण ।
सौर्यमण्डलको केन्द्रमा रहेको सूर्य पृथ्वीबाट करिब ९३ मिलियन माइल टाढा छ । सूर्यको परिक्रमा गर्ने नौ ग्रहमध्ये पृथ्वी एक हो तर यी सबै खगोलिय पिण्डहरूबीच पृथ्वी मात्र यस्तो ग्रह हो, जहाँ जीवन छ । पृथ्वीको संरचना यति अद्वितीय छ कि यहाँ करोडौँ प्रजातिका जीवजन्तु, वनस्पति र मानिसहरूको अस्तित्व सम्भव भएको छ । किन जीवन पृथ्वीमा सम्भव भयो र अन्यत्र भएन । यो बहसको विषय हुन सक्छ तर अहिलेको सन्दर्भ पृथ्वीको वर्तमान अवस्थाबारे हो ।
पृथ्वीको सतहमा करिब ७० प्रतिशत भाग पानीले ढाकिएको छ । यही पानी जीवनको आधार बनिरहेको छ । वैज्ञानिक भाषामा पानी हाइड्रोजन र अक्सिजनको यौगिक हो, तर प्रकृतिको दृष्टिमा यो जीवनको रहस्य हो । पानी जम्छ, तात्छ, उम्लिन्छ, बाफमा रूपान्तरण हुन्छ र सामान्य अवस्थामा तरल रहन्छ । पृथ्वीमा जीवन यीनै प्रक्रियाको सन्तुलित चक्रका कारण सम्भव भएको छ ।
तर, पृथ्वीको तापक्रममा भएको सानो परिवर्तनले नै यो सन्तुलन बिगार्न सक्छ । तापक्रम एक डिग्री मात्र तलमाथि हुँदा पनि पानीको रूपान्तरण प्रक्रियामा असन्तुलन आउँछ, जसको असर वनस्पति, जीवजन्तु, कीटपतङ्ग र मानव जीवनमै पर्छ । अन्टार्कटिका, ग्रीनल्यान्ड वा हिमालयका हिम नदीहरू पग्लँदा समुद्री सतह बढ्छ र त्यो बाढीले कैयौँ तटीय सहरहरू र देशहरू डुबाउने खतरा रहन्छ । तापक्रमको वृद्धिसँगै आँधी, हुरी, बाढी र खडेरीजस्ता प्राकृतिक विपत्तिहरू पनि तीव्र रूपमा बढ्न सक्छन् ।
पृथ्वीको जीवन प्रणाली आपसमा अत्यन्तै सूक्ष्म रूपमा जोडिएको छ । वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्, कि मानवीय गतिविधिहरू, उद्योग, इन्धन, वन विनास, प्लास्टिकको अत्यधिक प्रयोग जस्ता कारणले पृथ्वीको तापक्रम लगातार बढ्दै गएको छ । अहिले जलवायु परिवर्तन केवल वैज्ञानिकहरूको चिन्ता होइन, यो पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल, सबै सञ्चारमाध्यममा व्यापक बहसको विषय बनिसकेको छ ।
पृथ्वी मानव मात्रै नभएर सारा जिवजन्तु वनस्पतिको साझा घर हो । सबैको अस्तित्व एक अर्काको अस्तित्वसँग जोडिएको छ । पृथ्वीमा जीवनको अस्तित्व कायम रहिरहन पृथ्वीको स्वास्थ्य ठिकठाक रहन जरुरी छ । तर विगत केही दशकदेखि पृथ्वी बिरामी देखिन थालेको छ । पृथ्वी बिरामी हुनुका पछाडी मानवीय कारणहरू जिम्मेवार छन् । जलवायु परिवर्तनका पछाडी रहेका सबै खाले कारणका बारेमा अब खुलेर छलफल र बहस गर्नु जरुरी भएको छ ।
२. जलवायु परिवर्तन : कारण प्रभाव र असरहरू
पृथ्वीको वातावरणीय प्रणालीमा दीर्घकालीन रूपमा देखिने तापक्रम, मौसम, वर्षा, हावा र जलचक्रका स्वरूपहरूमा हुने परिवर्तन जलवायु परिवर्तन हो । यो परिवर्तन प्राकृतिक कारणहरूले पनि हुन सक्छ र मानवीय कारणले पनि । पछिल्ला दशकहरूमा प्राकृतिक भन्दा मानवीय क्रियाकलापले जलवायु परिवर्तन तीव्र भएको छ ।
पृथ्वीमा सूर्यको ताप परावर्तित भएर फर्किँदा पृथ्वीको वायुमण्डलमा हरितगृह ग्याँसको तह बढ्दै गएको छ । कार्वनडाईअक्साइड, मिथेन, नाईटोजन अक्साईड, क्लोरोफ्लोरो कार्बन आदि यसमा पर्दछन् । पृथ्वी तात्तिनुको एउटा मुख्य कारण वायुमण्डलमा हरित गृह ग्याँसको मात्रा बढनु हो ।
हरित गृह ग्याँसहरूको अत्यधिक उत्सर्जन रासायनिक मल, पशुपालन, उद्योगधन्दा, इन्धनको प्रयोग र वनको विनास जस्ता कार्यहरूले पृथ्वीको तापक्रम बढाउन ठूलो भूमिका खेलेका छन् । हरित गृह ग्याँसहरू पृथ्वीको सतहबाट परावर्तित हुन लागेको तापलाई पृथ्वीमा नै अड्काइदिन्छन् । जसले गर्दा पृथ्वी थप तातिन्छ । यसै प्रक्रियालाई ग्रीनहाउस इफेक्ट भनिन्छ । यिनै ग्याँसहरूको अत्यधिक सन्तुलन बिग्रँदा पृथ्वीमा चरम गर्मी, असमय बाढी, खडेरी, समुद्री जलसतहको वृद्धिजस्ता समस्याहरू देखापरेका छन् । सबै ग्रीनहाउस ग्याँस हानिकारक भने होइनन् तर मानवीय गतिविधिबाट उत्पन्न ग्याँसहरूको असन्तुलित वृद्धिले नै हालको संकट उत्पन्न गरेको हो ।
जलवायु परिवर्तनका अनेकन संकेत हुन्छन् । हिमाल पग्लिनु नदीको पानी घट्नु अनियमित वर्षा कहिले बाढी कहिले सुख्खा जंगलमा आगलागीका घटना वृद्धि हुनु कृषि उत्पादन कमी हुनु जलवायु परिवर्तनका संकेत हुन् । जलवायु परिवर्तन एउटा लामो प्रक्रिया हो । जलवायु परिवर्तनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै हानी पु¥याइरहेको छ ।
सबैभन्दा ठूलो असर वातावरणमा परेको छ । विगतको तुलनामा पृथ्वीको तापक्रम केही बढेको छ । तापक्रम बढ्दा हिमाल पग्लिन थालेका छन् । उत्तरी धुव्रका हिउँका ग्लेसियरहरू पग्लिन सुरु गरेका छन् । हिमालय क्षेत्रमा हिउँ पग्लिँदा हिम नदी बढेका छन् । समुन्द्रको सतह बढेको छ । समुन्द्रको सतह बढ्नुको मतलब तटीय क्षेत्रहरू पुरिँदै छन् । पानीले । भविष्यमा थुप्रै तटीय सहर डुब्दैछन् । कति देशको नामो निशान मेटिन सक्छ ।
४. जलवायु परिवर्तनमा जिम्मेवार मानव कर्महरू
जलवायु परिवर्तनको मूल कारण मानवीय गतिविधिहरू नै हुन्, जसले पृथ्वीको प्राकृतिक सन्तुलनलाई गम्भीर रूपमा असर पारेका छन् । जीवाश्म इन्धनको अत्यधिक प्रयोग जस्तै पेट्रोल, डिजेल, कोइला र ग्याँसले वायुमण्डलमा कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्याँसहरूको मात्रा बढाएको छ । यसले तापमान वृद्धिमा योगदान पु¥याएको छ । त्यस्तै वन विनासले प्राकृतिक कार्बन शोषण गर्ने प्रणालीलाई कमजोर बनाएको छ भने, आधुनिक कृषि प्रणालीबाट उत्सर्जित मीथेन र नाइट्रस अक्साइडले वातावरणलाई अझै प्रदूषित बनाइरहेका छन् ।
सहरीकरण, औद्योगिकीकरण, अत्यधिक उपभोग र फोहोर व्यवस्थापनको अभावले यो समस्यालाई थप गहिरो बनाइरहेको छ । विमान यात्रा र अन्तर्राष्ट्रिय व्यापारले पनि वातावरणीय भार बढाइरहेका छन् । यसरी मानिसका दैनिक क्रियाकलापदेखि वैश्विक आर्थिक संरचनासम्मका कर्महरूले जलवायु परिवर्तनको गति तीव्र बनाइरहेका छन्, जुन अब अवहेलना गर्न मिल्ने विषय रहेन ।
जलवायु परिवर्तनको असर कम गर्न व्यक्ति, समाज र राष्ट्र सबैको आ–आफ्नो तहमा कर्तव्य र जिम्मेवारी रहन्छ । व्यक्तिगत रूपमा, हाम्रा दैनिकी व्यवहारहरू जस्तै उर्जाको बचत, सार्वजनिक सवारीको प्रयोग, प्लास्टिकको न्यूनतम प्रयोग, फोहोर व्यवस्थापन र वृक्षारोपण प्रति सचेत हुन आवश्यक छ भने बीलासिताको प्रवृत्ति त्याग्नुपर्ने हुन्छ । सामाजिक तहमा, जनचेतना अभिवृद्धि, स्थानीय स्रोत र प्रविधिको सहजीकरण, सामूहिक वृक्षारोपण र हरित जीवनशैलीको प्रवद्र्धन गर्न सकिन्छ । समग्रमा राष्ट्रको भूमिका नीतिगत रूपमा अझ महत्वपूर्ण हुन्छ । नवीकरणीय ऊर्जा प्रवद्र्धन, कार्बन उत्सर्जन नियन्त्रण, वातावरणमैत्री पूर्वाधार विकास र अन्तर्राष्ट्रिय सहकार्यमा सक्रियता आवश्यक छ ।
साथै जलवायु सम्बन्धी शिक्षा र अनुसन्धानमा लगानी गर्न, पर्यावरणीय कानुन कार्यान्वयन गर्न र दूरगामी रणनीति निर्माणमा सरकारले नेतृत्व लिनुपर्छ । यसरी सबै तहका उत्तरदायित्व पूरा हुँदा मात्र जलवायु संकटको सामना प्रभावकारी रूपमा सम्भव हुन्छ ।
जलवायु परिवर्तनको वैज्ञानिक छलफल सन् १९५० को दशकदेखि सुरु भए पनि सन् १९८० पछि मात्र यो विषय विश्वव्यापी चिन्ताको रूपमा स्थापित हुन थालेको हो । सन् १९९२ मा रियो दि जनेरियोमा भएको पृथ्वी सम्मेलन र सन् २०१५ मा पारित पेरिस सम्झौता जस्ता प्रयासहरूले अन्तर्राष्ट्रिय स्तरमा जलवायु संकटविरुद्ध ऐक्यबद्धता प्रस्तुत गरेका हुन् ।
तर पछिल्ला दिनमा विश्वका शक्तिशाली देशहरू जलवायु सम्बन्धी मुद्दामा असम्वेदनशिल देखिएका छन् । जुन घोर निन्दनीय विषय हो । आज जलवायु परिवर्तन केवल मौसमको कुरा होइन । यो पृथ्वीमा जीवनको अस्तित्वसँग गाँसिएको, दीर्घकालीन, बहुआयामिक र गम्भीर विषय हो । तापक्रमको १–२ डिग्री वृद्धि पनि जीवमात्रामा प्रतिकूल असर पार्न सक्छ र सम्पूर्ण पारिस्थितिक सन्तुलन नै बिग्रन सक्छ । मानव कर्म नै यसको प्रमुख कारण भएकाले समाधान पनि मानवीय चेतना, नीति, प्रविधि र व्यवहारमै खोजिनुपर्छ ।
पेरिस सम्झौताले पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सीयस राख्ने लक्ष्य लिएको थियो । तर अहिलेको वृद्धिदर लगातार उकालो लागिरहेको छ । यदि यहीँ क्रममा तापक्रम बढिरहे एक्काइसौँ शताब्दिको अन्त्यसम्ममा त्यो दर २.४ डिग्री सेल्सीयस भन्दा बढी पुग्ने छ । आजै त पृथ्वीमा यतिधेरै गर्मी बढेको छ भने त्यतीव्रेलाको अवस्था कति बिकराल होला ? अनुमान मात्र गर्न सकिन्छ ।
५. जलवायु परिवर्तनका असरहरू
जलवायु परिवर्तनको असर आज पृथ्वीका हरेक कुनामा प्रत्यक्ष देखिन थालेको छ । तापक्रम वृद्धिका कारण हिउँ पग्लन, समुद्री सतह बढ्न, बाढी–पहिरो, खडेरी, जंगलमा आगलागी, अनियमित वर्षा र अत्यधिक गर्मीका घटना बारम्बार भइरहेका छन् । अन्टार्कटिका, ग्रीनल्यान्ड, र हिमालय क्षेत्रमा तीव्रगतिमा हिउँ पग्लँदा समुद्री सतह उचालिँदै गएको छ, जसले गर्दा समुन्द्र किनारका सहरहरू डुबानको खतरा बढ्दै गएको छ ।
यसका अतिरिक्त, कृषिमा गम्भीर असर परेको छ । असमयमै बाली सुक्ने, वर्षा चक्रमा अनियमितता, कीट प्रकोपको वृद्धि जस्ता कारणले कृषकहरूको जीवनयापन कठिन हुँदै गएको छ । वनस्पति र वन्यजन्तुमा समेत असर परिरहेको छ । धेरै प्रजातिहरू लोपोन्मुख अवस्थामा पुगेका छन् वा बसोबासका स्थानहरू परिवर्तन गर्न बाध्य भएका छन् ।
जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पनि गम्भीर प्रभाव पारिरहेको छ । अत्यधिक गर्मीका कारण वृद्ध, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भइरहेका छन् । सँगै, मलेरिया, डेंगु, हैजा जस्ता रोगको क्षेत्र विस्तार भइरहेको छ ।
सामाजिक र आर्थिक पक्षमा पनि यसको असर गहिरो छ । जलवायु असरबाट विस्थापित हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । जसले जलवायु आप्रवासनको समस्या निम्त्याइरहेको छ । विकासोन्मुख मुलुकहरू, विशेषतः साना द्वीप राष्ट्र र हिमाली क्षेत्र, जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित छन् तर यिनका स्रोत र क्षमताहरू तुलनात्मक रूपमा कमजोर छन् ।
छोटोमा भन्नुपर्दा, जलवायु परिवर्तनले हाम्रो इकोसिस्टम, अर्थतन्त्र, समाज र जीवनशैलीमा दीर्घकालीन र गम्भीर असर पारिरहेको छ । अब यो केवल वातावरणीय मुद्दा होइन, मानव अस्तित्वसँग जोडिएको संकट हो, जसको समाधान हामी सबैको साझा दायित्व हो ।
उपसंहार
नेपाल आफैँमा जलवायु परिवर्तनको कारक होइन, तर सबैभन्दा बढी असर भोगिरहेको छ । जलवायु संकटको यो अन्यायपूर्ण वितरणका बीच पनि नेपालले जलवायु न्यायको आवाज उठाइरहेको छ । सगरमाथा संवादले यही सन्देश बोकेको थियो । साना मुलुकहरू पनि जलवायु नीति निर्माणमा निर्णायक हुन सक्छन् । पेरिस सम्झौता, क्योटो प्रोटोकल, ग्रीन क्लाइमेट फण्ड जस्ता मञ्चमा नेपालको सक्रियता यहीँ दिशातर्फको संकेत हो ।
हिमनदीहरू पग्लँदा तलतिरका नदीहरूमा बाढी आउँछ । पानीको स्रोत सुक्दा अरबौँ मानिसको जीवन संकटमा पर्छ । विश्वका विकसित मुलुकहरूको औद्योगिक उत्सर्जनको असरले गरिब तथा हिमाली देशहरू बढी प्रभावित भएका छन् । जलवायु परिवर्तनको सबैभन्दा बढी मार अल्पविकसित र पर्वतीय देशहरूले बेहोरिरहेका छन् । जसमा धनी राष्ट्रले बढी जिम्मेवारी लिनुपर्ने सन्देश छ ।
सगरमाथा संवादको सार हो ‘यदि सगरमाथा सुरक्षित छैन भने, पृथ्वी पनि सुरक्षित रहने छैन ।’ हामी मनुष्य हौँ, हो हामिले धेरै कुरा गर्न सक्दैनौँ । तर, केही कुरा गर्ने प्रयास गर्न सक्छौँ । हामिले थाहा पाएका बुझेका छौँ । पृथ्वीमा ८ अर्ब मान्छे छौँ । हामिले गरेका स–साना प्रयासले पनि धेरै कुरा हुन्छ । बोध गरौँ उठौँ जागौँ काम गरौँ । पृथ्वी बस्न लायक रहँदासम्म सबै जुटौँ । ढिलो नहोस ।
यो संसारमा कुनै बेला डायनोसरको हालिमुहाली थियो । डायनोसरको नियती मानव जगतले बेहोर्ने दिन नआओस । समय छँदै सबै सचेत हुन जरुरि छ । पृथ्वीलाई मान्छे बस्न अनुकुल बनाउन विशेष गरि विकसित देशहरूले गम्भीरतापूर्वक सोच्न ढिलाई भैइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्