नेपालगन्ज ।
त्रिभुवन विश्वविद्यालयले नेपालगन्जस्थित आंगिक क्याम्पस क्याम्पसको महेन्द्र बहुमुखी क्याम्पसका २८ आंशिक प्राध्यापकलाई करारमा व्यवस्थापन गर्न पत्राचार गरेको छ । उक्त पत्राचारपछि क्याम्पसमा जारी आंशिक प्राध्यापकहरूको आन्दोलन स्थगित भएको छ ।
त्रिविले वैशाख २३ गते गरेको उक्त निर्णय ढिलोगरी प्राप्त भएसँगै उक्त निर्णय कार्यान्वयन गर्न माग गर्दै संघले अब आन्दोलनका कार्यक्रम रोक्ने जानकारी दिएको छ । संघका सचिव इश्वरी रिजालले हाललाई त्रिविको निर्णय कार्यान्वयन गर्न प्रशासनलाई आग्रह गर्दै आन्दोलन स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
क्याम्पसमा आंशिक प्राध्यापकहरू लामो समयदेखि आंशिक प्राध्यापकहरूको व्यवस्थापनको माग राख्दै आन्दोलनमा थिए । करिब एक हप्तायता उनीहरूले क्याम्पसमा पठन पाठकन गर्न बन्द गरेका थिए । त्यसपछि स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) पनि पठन पाठन प्रभावित भएको भन्दै आन्दोलनमा उत्रिएको थियो ।
स्ववियुले आइतबार आंशिक प्राध्यापकहरूको माग पूरा गरी पठनपाठको व्यवस्था मिलाउनुपर्ने मागसहित क्याम्पस प्रमुखको कार्यकक्ष बाहिर धर्नामा उत्रिएको थियो । बिहान ७ बजेदेखि साँँझ ५ बजेसम्म धर्ना दिएपछि साँझ एक विज्ञप्ति जारी गर्दै स्ववियुले त्रिविको निर्णय अनुसार आंसिक प्राध्यापकलाई निश्चित मापदण्डका आधारमा करार सेवा बनाउनु पर्ने बताएको थियो ।
स्ववियु अध्यक्ष केशरजंग शाहले आफूहरूको दबाबपछि २८ जना प्राध्यापकलाई करार गर्नु भन्ने निर्णय भएको दाबी गरे । क्याम्पसमा एक सय जनाभन्दा बढी आंशिक प्राध्यापक भएपनि त्रिविले विषयगत कोटा तोकर २८ जनाको मात्रै व्यवस्थापन गर्ने निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्