पछिल्लो समय विद्युत नहुँदा जुम्ला र डोल्पामा ७ सय बढी घरधुरी अन्धकारमा छन् । भने सुर्खेत लगायत कर्णालीका अन्य जिल्लामा गर्मी बढेसँगै अघोषित लोडसेडिङको भार बढेको छ । विद्युत पावरहाउसका मेसिन बिग्रिएपछि जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरीले विगत ३ महिनायता बत्ति बाल्न पाएका छैनन् । भने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का ३०० बढी घरधुरी ५ दिनदेखी विद्युतविहिन भएका छन् ।
नन्दराम जैशी । सुर्खेत ।
पछिल्लो समय विद्युत नहुँदा जुम्ला र डोल्पामा ७ सय बढी घरधुरी अन्धकारमा छन् । भने सुर्खेत लगायत कर्णालीका अन्य जिल्लामा गर्मी बढेसँगै अघोषित लोडसेडिङको भार बढेको छ । विद्युत पावरहाउसका मेसिन बिग्रिएपछि जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरीले विगत ३ महिनायता बत्ति बाल्न पाएका छैनन् । भने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का ३०० बढी घरधुरी ५ दिनदेखी विद्युतविहिन भएका छन् ।
यता सुर्खेत लगायतका जिल्लामा भने हरेक वर्ष झै यसवर्ष पनि गर्मी बढेसँगै उपभोक्ता अघोषित लोडसेडिङको मारमा पर्न थालेका छन् । एकातिर गर्मी दिनप्रतिदिन बढ्दै छ । भने अर्कोतिर बत्ति आयो गयो पत्तो छैन । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख अशोक लोहनीका अनुसार गर्मी बढेसँगै सुर्खेतमा अघोषित लोडसेडिङ बढ्ने समस्या वर्षौदेखिको हो ।
‘यसवर्ष पनि गर्मी बढेसँगै लोडसेडिङ बढ्नसक्छ । तर गत वर्षहरू जस्तो नहोला । वैशाख र जेठ महिनामा अलि लोडसेडिङको भार बढ्ने देखिन्छ’ उनले भने, ‘यस वर्ष कैलालीको लम्किबाट सुर्खेतमा ३३ केभीए प्रसारण लाइन जोडिएको छ । डडेल्धुरा–कालीकोट–दैलेख हुँदै थप ३३ केभीए प्रसारण लाइन पनि जोडिएकाले लोडसेडिङ कम हुने अनुमान छ ।’
उनका अनुसार हाल लम्कीबाट सुर्खेत आएको प्रसारण लाइनले गर्दा लोडसेडिङ कम गर्न सहयोग पुगेको छ । भने डडेल्धुरा–कालीकोट हुँदै आएको प्रसारण लाइनको ट्रान्समिटरको क्षमता कम हुँदा हुनुपर्ने विद्युत आपूर्ती हुनसकेको छैन । कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभीए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको छ । नेपाल विद्युत् प्राधिकरणको ५ करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बनाउँदै छ ।
केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । सबस्टेसन निर्माण सम्पन्न भएपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्राविधिक रमेश शाही बताउँछन् । यो प्रसारण लाइन विस्तारपछि कालीकोटसँगै बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् अभाव नहुने अनुमान छ । हाल रास्कोटमा ११ केभिए प्रसारण लाइन छ । उक्त प्रसार लाइनबाट आवश्यक विद्युत् आपूर्ति हुन नसकेको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।
४८० घरधुरी अन्धकारमा
जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी विगत ३ महिनादेखि विद्युत नहुँदा अन्धकारमा छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको हो ।
स्थानीय परेक ऐडीका अनुसार गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ । मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी–पिसानी मिल र स्थानीय फर्निचर उद्योग लगायतमा असर परेको स्थानीय गणेश ऐडीले बताए ।
आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको जानकारी दिए । गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले ३ लाख रकम विनियोजन गरेको जानकारी दिए । आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने उनको भनाइ छ । उनका अनुसार अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम हुँदैछ ।
५ दिनदेखि विद्युतविहिन वडा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का ३०० घरधुरी ५ दिनदेखी विद्युतविहिन छन् । छलगार्ड लघु जलविद्युत आयोजनामा प्रयोग भएको मेसिन बिग्रेपछि वडावासी विद्युतविहिन भएका हुन् ।
विश्व वन्यजन्तु कोषको सहयोगमा १८ वर्ष अघि निर्माण भएको उक्त जलविद्युत अहिले स्थानीय उपभोक्ता समितिमार्फत चलिरहेको छ । नगरपालिकाको केन्द्र भएको त्रिपुराकोट बजारमा बत्ती नहुँदा दैनिक जनजीवन नै प्रभावित बनेको छ । रातीको समयमा स्थानीयहरू खाना पकाउने तेलबाट बत्ती बालेर उज्यालो गर्न बाध्य छन् ।
आयोजनाका कर्मचारी मोतीप्रसाद हमालले एक्कासी मेसिनको बेरिङ बिग्रेपछि विद्युत सेवा अवरुद्ध भएको जानकारी दिए । बिग्रेको उपकरण बुटवलबाट मगाउनुपर्ने भएका कारण समय लाग्ने उनको भनाइ छ । तर त्यसका निम्ती समितीसँग पैसा पनि नभएकोले थप समस्या भएको उनले बताए । उनका अनुसार वडावासी कहिलेसम्म अन्धकारमा बस्नुपर्ने हो पत्तो छैन ।
छलगार्ड लघु जलविद्युत आयोजनाका व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बिष्टले समितिको खातामा रकम नभएकाले पालिकासँग समन्वय गरिरहेको जानकारी दिए । उनका अनुसार यसअघि पनि समितिसँग पैसा नभएपछि विद्युत बिग्रिदाँ व्यक्तिसँग ऋण निकालेर बिग्रेको सामान मगाइएको थियो । पहिलेकै पैसा तिर्न बाँकी रहेकाले हाल बत्तिको काम गर्न नसकिएको हो ।
४८ वर्ष पुरानो विद्युतको भर
विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले हाल सेवा दिइरहेको कोहलपुर–सुर्खेत ३३ केभीए प्रशारण लाइन निर्माण भएको करिब ४८ वर्ष बित्यो । यो प्रसारण लाइन २०३२ सालमा तत्कालिन सर्वेक्षणका आधारमा डिजाइन भएको हो ।
हाल सुर्खेतमा मात्रै ६८ हजार बढी विद्युत उपभोक्ता छन् । यो प्रसारण लाइन अन्तर्गत सुर्खेतको रामघाटबाट जाजरकोट, रामघाट–सुर्खेत र सुर्खेत–दैलेख–कालिकोट हुँदै जुम्लासम्म विस्तार गरिएको छ । तर विद्युत भोल्टेज घट्दै गएको छ । एकातिर दश गुणाले प्रदेशभर विद्युत उपभोक्ता बढ्दै छन् । भने अर्कोतिर विद्युत भोल्टेज घटेर ३३ केभीएबाट सुर्खेत पुग्दा २० केभीएमात्रै विद्युत आयात हुने गरेको छ । यही २० केभी सुर्खेत हुँदै जुम्लासम्म पुग्दा बत्ति धिपिक्क मात्रै बल्छ ।
सुर्खेत वितरण केन्द्रका अनुसार कर्णालीका सबै जिल्लामा बत्तिको लोड बढ्दैछ । भोल्टेज घट्दैछ । हिजोआज नागरिकले भोगिरहेको समस्या अन्त्य गर्न अब कोहलपुर–सुर्खेत १३२ केभी आउनुको विकल्प छैन । तर यो प्रसारण लाइन विस्तारमा विवादका कारण काम अझै अलपत्र छ ।
नियम अनुसार ३० हजार भन्दा बढी उपभोक्ता भएको खण्डमा विद्युत क्षमता विस्तार गरी अर्को वितरण केन्द्र स्थापना गर्नुपर्ने हो । तर, सुर्खेतमा मात्रै ६८ हजार उपभोक्ता पुग्दा एउटै वितरण केन्द्रले हेर्नुपर्ने बाध्यता छ । जसले गर्दा जिल्लाका सबै ठाउँमा प्रभावकारी सेवा दिन नसकेको कार्यालय प्रमुख अशोक लोहनी बताउँछन् ।
सुर्खेतसँगै कर्णालीका विद्युत उपभोक्ताले नियामानुसार विद्युत सेवा पाएका छैनन् । नियामानुसार प्रत्येक उपभोक्ताले कम्तिमा २२० भोल्टेज बत्ति उपभोग गर्न पाउनुपर्ने हो । तर सुर्खेतमा बर्खा सिजनमा मुस्किलले १२० भोल्टजसम्म बत्ति उपयोग गर्न उपभोक्ता बाध्य हुन्छन् । जसले गर्दा घरमा नत राम्रोसँग पंखा नै चल्न । नत फ्रिजदेखि पानी तान्ने मोटर नै चल्छन् ।
सुर्खेत वितरण केन्द्रका अनुसार १३२ केभीको कोहलपुर प्रसारणले कोहलपुरसम्म नै १२० केभी बढी बत्ति पाउँदैन । १२० केभीमा झरेको कोहलपुरबाट ३३ केभी सुर्खेत पठाउँदा सुर्खेतसम्म २० केभी मात्रै बत्ति पुग्छ । जसले गर्दा सुर्खेत वितरण केन्द्रले उपभोक्तालाई माग अनुसारको बत्ति पु¥याउने सम्भावना नै छैन । त्यसैमा झन् मन्त्रालय, कार्यालयहरू र घरघरमा जडान गरिएका इन्भटर र स्टाप्लाइजरका कारण सामान्य नागरिकको घरमा बत्तिको भोल्टेज पुग्दैन । इन्भटर र स्टाप्लाइजर जडानका लागि वितरण केन्द्रमा धाउनेको पनि दैनिक भीड छ ।
तर बत्ति आउने बित्तिकै मन्त्रालय र कार्यालयहरूले जडान गरेका इन्भटर र स्टाप्लाइजरमा बत्ति लोड हुँदा भोल्टेज ह्वातै घट्ने गरेको छ । सम्पन्न परिवार, मन्त्रालयका कर्मचारी र मन्त्रीहरू र कार्यालयका कर्मचारीहरूले इन्भटरमा बत्ति लोड गरेर बत्ति नहुँदा पनि मज्जैले पंखा, फ्रिज र एसी चलाएर बस्छन् । तर उनीहरूकै कारण बत्ति आउँदा पनि भोल्टेज लो हुँदा सामान्य नागरिकले पंखा समेत राम्रोसँग चलाउन पाउँदैनन् । यस्तै विद्युतीय गाडी चार्जिङ गर्न तथा उद्योगधन्दा सञ्चालनमा निकै सकस परेको छ ।
लोडसेडिङ हटाउन आकाशे पानी कुर्दै
हाल कर्णालीमा कुनै ठूला हाइड्रोपावर छैनन् । कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनले प्रदेशभर विद्युत पुग्दैपुग्दैन । कर्णालीमा विद्युत सेवा पु¥याउने विकल्पको रूपमा रहेका दैलेख जिल्लामा रहेका ३ वटै हाइड्रोपावर कम्पनी आकाशे पानीको भरमा छन् ।
तर असार महिनापछि वर्षा सिजन सुरु भएको खण्डमा दैलेखमा रहेका ३ वटा हाइड्रोपावरका कारण बर्खा सिजनभर लोडसेडिङ अन्त्य हुने सुर्खेत वितरण केन्द्रले अनुमान गरेको छ । दैलेखको नौमुले गाउँपालिका स्थित माथिल्लो लोहोरे हाइड्रोपावर कम्पनीमा पानीको स्रोत घट्दै गएपछि विद्युत उत्पादन घटेको छ । ८ मेगावटको यो हाइड्रोपावरले हाल २ मेगावट विद्युत उत्पादन गर्न मुस्किल छ ।
ठुलो पानी नपरेसम्म कर्णालीमा विद्युत भोल्टेज बढ्ने सम्भावना कम हुने सुर्खेत वितरण केन्द्रले जनाएको छ । पानीको स्रोत बढेको खण्डमा माथिका हाइड्रोपावरले विद्युत उत्पादन गर्नेछन् । तब मात्रै कम भोल्टेजको समस्या अन्त्य हुनेछ । विद्युत उत्पादनका लागि पानीको स्रोत नबढेसम्म हाल भोगिरहेको समस्या यथावत रहने छ ।








प्रतिक्रिया दिनुहोस्