‘लालपुर्जा वितरणको अन्तिम चरणमा छौँ’



बाँके जिल्लामै सबैभन्दा धेरै काम सम्पन्न भएको स्थानीय तह कोहलपुर नगरपालिका हो । सबै वडालाई छिटो छरितो तरिकाले काम गर्न भनिएको छ । म आफैँ खटेर लागि परेको छु । यदि मैले वितरण गर्न मिल्ने भए पदभार ग्रहण गरेकै दिनदेखि वितरण गर्ने थिएँ । वडामा नम्बरी जग्गा छैन् । जसको कारण नागरिकहरू समस्यामा छन् । ऋण तथा लोन लिन नपाउँदा अन्य कामहरू गर्न समस्या भएको छ ।

बद्रीप्रसाद जैशी । वडा अध्यक्ष । कोहलपुर नगरपालिका वडा नम्बर १ ।
००००

१. लामो समयको प्रतीक्षापछि तपाईँका वडाका स्थानीयहरूले लालपुर्जा पाउँदैछन् ? कति जनालाई वितरण गर्दै हुनुहुन्छ ?

पक्कै पनि मेरो वडामा २०३६ सालबाट अव्यवस्थित र सुकुम्वासी नागरिक बसोबास गर्दै आएका छन् । कतिपय जन्मेर पनि वृद्ध अवस्थामा पुगीसके । पटकपटक गरेर ६ पटकसम्म नापी भयो । तर, स्थानीयहरूले लालपुर्जा पाउन सकेका थिएनन् । ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भने जस्तै अवस्था सृजना भइसकेको थियो । अहिले लालपुर्जा वितरणको अन्तिम चरणमा छौँ ।

लगभग १ सय ४१ जनालाई प्रदान गर्ने भनिएको थियो । पछि पुनः चेकजाँच र छानबिन गर्दा कतिपयको दोहोरिएको, कतिपय यहाँ नभएको पाइयो । सबै हेर्दा १ सय १६ जनालाई लालपुर्जा वितरणको अन्तिम चरणमा छौँ । वडा नम्बर १ भनेको कोहलपुरको पछाडी परेको वडा हो । यहाँ अतिविपन्न र गरिब नागरिकहरू बसोबास गर्दै आएका छन् । अहिले लालपुर्जा वितरणका लागि सबै खटिएका छौँ ।

२. निस्सा वितरण गरेका कति जनाले अहिले लालपुर्जा पाउँछन् र अर्काे पटक कतिजनाले पाउँछन् ?

मेरो मात्रै एउटा चाहना र इच्छाले हुँदैन् । मैले पदभार ग्रहण गरेको दिनको पहिलो एजेण्डा नै मेरो यही थियो । र, मैले एउटाले गरेर मात्रै सम्भव नहुँने रहेछ । पहिला सुरुका दिनमा निस्सा वितरण गर्दा माहोल तात्यो । त्यस लगत्तै सरकार ढल्यो । हामीले त्यो समयमा लालपुर्जा वितरण गर्न सकेनौँ । अहिले एकदमै तीव्र गतिमा काम हुँदै गएको छ । नगरपालिका र भूमि आयोगको सक्रियताले सहज भयो ।

भूमि आयोगका अनुसार लालपुर्जा सबैले नपाउन्जेलसम्म अभियानका रूपमा जारी रहन्छ भन्ने छ । यसको लागि मेरो वडामा सबै कामहरू तयारी अवस्थामा छ । १६ सय जनाले निस्सा प्राप्त गरेका छन् । सबैको फिल्डबुक बनेको छ । यसमा श्रीमान र श्रीमती दुवैको फोटो र हस्ताक्षर चाहिन्छ भन्ने छ । तर, वडामा रहेका धेरैजना कोहीको श्रीमान त कसैको श्रीमती विदेशमा छन् । बाध्यता पनि बुझेर जसको नाममा निस्सा दिएको छ, उसको नाममा लालपुर्जा दिन आग्रह गरेको छु ।

३. यस विषयमा भूमि आयोगले तपाईँको कुरा स्वीकार गरेको छ ?

लालपुर्जा दिने कुरामा आयोगले स्वीकार गरेपनि नगरेपनि मेरो भनाइ के हो भने जसको नाममा निस्सा दियौँ । एक्लै भएपनि उसैको नाममा लालपुर्जा दिनुपर्ने मेरो भनाइ हो । दुवै श्रीमान र श्रीमती भएपछि मात्रै दिने कि ? जग्गाधनी मात्रै भए दिने कि ? यस विषयमा छलफल गर्छाैँ ।

४. १६ सय जनालाई निस्सा वितरण भएपनि लालपुर्जा पहिलोपकट १ सय जना बराबरले पाउँदैछन् । नपाउनेहरूको गुनासो र पाउनेहरूको खुसी कत्तिको पाउनु भएको छ ?

यो एकदमै राम्रो प्रश्न गर्नु भयो । म पनि लालपुर्जा पाउने व्यक्तिहरू मध्यको एक हुँ । म वडाको वडाध्यक्ष भएर पनि सबैले नपाउँदा अलिकति दुःख त लागेको छ । अव्यवस्थितलाई दिँदैन कि, सुकुम्वासीलाई मात्रै दिन्छ कि ? भन्ने आशंका त पैदा भइरहेको छ । आशंकाको बीचबाट सबैको कुरा सुन्दा अभियान सही ढंगले जान्छ र ३ हजारलाई जेठ महिनासम्ममा प्रदान गर्ने भूमि आयोगका अध्यक्षको भनाइ छ ।

बाँके जिल्लामै सबैभन्दा धेरै काम सम्पन्न भएको स्थानीय तह कोहलपुर नगरपालिका हो । सबै वडालाई छिटो छरितो तरिकाले काम गर्न भनिएको छ । म आफैँ खटेर लागि परेको छु । यदि मैले वितरण गर्न मिल्ने भए पदभार ग्रहण गरेकै दिनदेखि वितरण गर्ने थिएँ । वडामा नम्बरी जग्गा छैन् । जसको कारण नागरिकहरू समस्यामा छन् । ऋण तथा लोन लिन नपाउँदा अन्य कामहरू गर्न समस्या भएको छ ।

५. निस्सा पाएको एउटाले अर्कालाई बिक्री गर्दा तत्काल कानुनी रूपमा मिल्दैन भन्ने छ । तपाईँको वडामा यस्तो समस्या छ कि छैन् ?

कस्ले गरेको छ । कसलाई बिक्री गरेको छ । त्यस विषयमा हामी नजाउँ । त्यस विषयमा हामीलाई जानकारी आएको छैन् । तर, निस्सा र विगतका कर तिरेको रसिद ल्याउँछ भने लालपुर्जा पाउँछन् । तर, आधिकारिक रूपमा त्यस्तो समस्या मेरो वडामा आएको छैन् ।

६. तपाईँकै पालामा वडामा रहेका सबैलाई लालपुर्जा वितरण हुन्छ त ?

लगभग म १ नम्बर वडामा आएको २०५० सालमा हो । त्यस यता भएका आयोगहरूसँग जोडिएँ । पैसा तिरेर नापजाँच भए पनि र कतिपय विगठन भए । यति खटिएको भए त्यतिखेर लालपुर्जा पाउँथे कि ? मलाई अलि चिन्ता के छ भने सबै वडामा बाँड्दा मेरो के नै लाग्छ र ? मेरो कुरा सुनुवाइ नभए म तपाईँहरूसँग आउने हो । पालिकामा पनि बहुमत छैन् । सबैलाई वितरण गर्न सक्छु भनेर अहिले नै भन्न सक्दिनँ ।

७. भूमि सुधारमन्त्रीबाट २० गते तपाईँको वडामा लालपुर्जा वितरण सुरु हुँदै छ । यसलाई कसरी लिनु भएको छ ?

अहिलेको प्रविधिको जमानामा मिडियाबाट सबै कुरा बाहिर जानकारी भइहाल्छ । तपाईँले जे बुझिरहनु भएको छ । मैले पनि त्यही बुझेको छु । प्रधानमन्त्री आउन सक्नु भएन र भूमि सुधारमन्त्री आउने कुरा छ । मेरो कार्यकालमा लालपुर्जा वितरण गर्न पाउँदा खुसी छु । मेयर लगायत सबै सक्रिय रूपमा लागिपर्नु भएको छ । सबै एकजुट भएर अघि बढेका छौँ ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार