बढ्दो उमेर, घट्दो सुरक्षा : वृद्धावस्थाको सहारा वृद्ध भत्ता



रमा पन्थी,रुपन्देही :
सिद्धार्थनगर नगरपालिका आर्थिक वर्ष २०८१÷०८२ को संख्यात्मक विवरण अनुसार यस पालिकाको क्षेत्रफल ३६.०३ प्रतिशत छ । प्रमुख जातजातिहरुमा ब्राह्मण,क्षेत्री, मुस्लिम,मधेसी,मगर,गुरुङ,नेवार आदि छन् । यहाँ मानिने धर्महरू,हिन्दू,मुस्लिम र बौद्ध छन् । सिद्धार्थनगर नगरपालिकामा नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल’ रहेको छ ।

 

भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामाकरण गरिएको छ । सांस्कृतिक परम्परा र मान्यताहरू साहित्य, भाषा, कला, धर्म, सस्कृतिको साझा संगमको रुपमा यो नगरपालिका रहेको छ । १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका,उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा सुनौली–महाराजगञ्ज जिल्ला, भारतले सिमाकंन गरिएको छ ।

नगरपालिकामा ६८ बर्ष माथिका जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने २ हजार ८ सय ३० जनाको विवरण नवीकरण गरिएको थियो । चौथो चौमासिकसम्म आउँदा त्यसमा १ हजार ४ सय ५० पुरुष र १ हजार ५ सय ८५ महिला छन् । तीमध्ये ६० बर्ष माथिका भत्ता पाउने दलित जेष्ठ नागरिक २ सय ४ जना मध्ये चौथो चौमासिकसम्म आउँदा १ सय २० पुरुष र १ सय १९ महिला रहेका छन् ।

६० बर्ष माथिका एकल महिला जेष्ठ नागरिक ४ सय २३ जना रहेको छ । नगरपालिकामा रहेका १३ वटा वडामध्ये एक हो, वडा नम्बर ९ । वडा नम्बर ९ मा अन्य जेष्ठ नागरिक भत्ता ३ सय ५८ जना, त्यसमा वार्षिक कायम संख्यामा १ सय ८४ जना पुरुष र २ सय २ महिलागरी जम्मा ३ सय ८४ रहेकमा छन् । जेष्ठ नागरिक भत्ता दलित १० हाल हेर्दा पुरुष ८ महिला ७ जम्मा १५ पुगेका छ्न । जेष्ठ नागरिक एकल महिला ४५ वार्षिक कायम गरिएको संख्या पुरुष ० महिला ४८ र जम्मा ४८ रहेको छ ।
वडामा जेष्ठ नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा
वडा नम्बर ९ का अहेव मञ्जु सिग्देलका अनुसार स्वास्थ्य सेवा केन्द्र वडा नम्बर ९ ले माग र फागुन महिनामा ७५ वर्ष माथिका जेष्ठ नागरिकको घरमै गई स्वास्थ्य परीक्षण गरेको थियो । सो अवसरमा साधारण स्वास्थ्य परीक्षण निःशुल्क गरिएको थियो । यस्तै औषधि वितरण गरी सामान्य प्रयोगशालाका सेवा, स्वास्थ्य परामर्श हाडजोर्नी जाँच रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रममा ८० वर्ष माथिका ५२ जना,७५देखि ८० वर्ष उमेर समूहका ७० जना सहभागी थिए । वडाले वैदेशिक रोजगारमा गएका व्यक्तिका कारण वडामा रहेका शारीरिक तथा मानसिक पीडामा पहेका व्यक्तिहरूलाई औषधि उपलब्ध गराउनुका साथै नगरपालिकाबाट काउन्सिलर बोलाई परामर्श सेवा प्रदान गरिरहेको छ । वडामा जेष्ठ नागरिकका लागि झुल वितरण गर्ने,वार्षिक रूपमा सम्मान गर्ने तथा भत्ता वितरण गर्ने गरिएको वडाले जनाएको छ ।


वडा नम्बर ९ मा जेष्ठ नागरिकको अवस्था के कस्तो छ ? भनेर बुज्ने क्रममा जेष्ठ नागरिकले सरकारबाट के–कस्ता सुविधा लिएका छन्, त ? लिएका छन् कि छैनन् ? के कस्तो आवश्यकताहरू छन् ? भन्ने सन्दर्भमा जेष्ठ नागरिकका केही प्रतिनिधि पात्रसँग गरिएको कुराकानी प्रस्तुत छ ।
७५ वर्षीय उमानन्द चुदाली र उनकी जीवनसंगिनी सावित्रा चुदालीको जीवन अब उमेरसँगै थलिएको छ । पहिले खेतबारी जोतेर जीवन चलाउने उनीहरू अब आफ्नै खुट्टामा उभिन सक्दैनन् । सरकारको वृद्धभत्ता बाहेक उनीहरूका लागि अर्को विकल्प छैन । ‘सरकारले घरमै ल्याएर दिन सक्ने व्यवस्था गरिदिएको भए अझ राम्रो हुन्थ्यो,’ उमानन्द भन्छन्,‘बैंकमा जानु भनेको त वृद्धहरूको लागि तनावकै कारण हो ।’

७१ वर्षीया दीपा यादव यस्तै अर्को पात्र हुन्, छ जना सन्तानकी आमा भए पनि अहिले जीवनको यो मोडमा उनी एक्लै छिन् । ‘अब त वृद्धभत्ताले नै बाँचेकी छु,’ उनी भन्छिन्, ‘छोरा–छोरी त पराइझैँ भए ।’ परिवर्तित नामकी दीपा मधेसी महिला हुन् । ‘छोराले भत्ता बुझेको थाहा पाए माग्न आउँछन् । बिरामी हुँदा फर्केर हेरदैनन् । ज्वरो आएर झन्डै म मरेँ, मलाई छिमेकीले बचाए । भत्ता नभएको भए पहिले नै म मर्थे होला । मेरो फोटो नराखिदिनु होला,’ उनले डर मिश्रित आवाजमा भनिन् । इन्दिरा पन्थी ७८ वर्षकी एक जेष्ठ नागरिक हुन् । उनी २००४ सालमा अर्घाखाँची जिल्लाको एक मध्यम वर्गीय परिवारमा जन्मिएकी थिइन् । उनले एक जना सरकारी जागिरेसँग विवाह गरिन् ।

श्रीमानको निधन भएको करिब सत्र वर्ष भइसकेको छ । त्यसयता उनी एकल महिलाको रूपमा जीवनयापन गर्दै आएकी छन् । हाल उनी आफ्नो छोरा,बुहारी र दुई वर्षे सानो नातिसँगै बसिरहेकी छन् । त्यो नाति उनको जीवनको केन्द्र बनेको छ । उनी भन्छिन्,‘नाति नहुँदो हो त म बस्नै सक्दिनथें। नातिसँगको माया गहिरो र आत्मीय छ । दिनभर उनलाई हेर्नु, बोल्नु, खेलाउनु र माया गर्नु मेरो दैनिकी हो,’ नातिको उपस्थितिले उनको जीवनमा आनन्द,ऊर्जाशक्ति र आशा थपेको छ । उनको दैनिकी शान्त र सन्तुलित छ । कहिलेकाहीँ उनी आफ्ना साथीहरू तथा छोराछोरीहरूसँग भिडियो कलमा कुरा गर्छिन् । खाली समयमा टेलिभिजन हेर्नु, भजन गुनगुनाउनु र भक्ति भावमा डुब्नु उनको रोजाइका कामहरू हुन् ।

विगतका सम्झनाहरू मनभित्र बोकेर, इन्दिरा पन्थी अहिलेको जीवनलाई आत्मसन्तोष, माया र शान्तिपूर्वक बिताइरहेकी छन् । धेरै सन्तानकी आमा इन्दिरा पन्थीलाई थोरै होस् या धेरै, सबैले केही न केही दिन्छन् । तर सरकारले दिएको भत्ता भने नियमित र भएकाले उनलाई आफ्नै जस्तो प्यारो लाग्छ । करिब १५ वर्षदेखि उच्च रक्तचापको औषधि खाइरहेकी इन्दिरा पन्थी भन्छिन्,‘सरकारले बीमा सेवा दिएको भए पनि त्यसको सुविधा लिन अस्पतालमा निकै कठिन छ । लामो लाइन बस्नुपर्छ, एक दिनभरि समय दिनुपर्छ । सन्तानहरू व्यस्त भएका कारण मलाई सरकारी अस्पताल लैजान सक्दैनन्, जसले गर्दा सेवा लिन निकै गाह्रो परेको छ ।’

‘वडाले झुल दिएको छ,भत्ता पनि दिन्छ’
बुधनी हरिजन
जेष्ठ नागरिकसरकारबाट प्रदान गरिने ज्येष्ठ नागरिक भत्ताले हामीलाई धेरै सहज भएको छ । उमेरले ७० वर्ष पुगे । स्वास्थ्य अवस्था कमजोर हुन थाल्यो । स्वास्थ्य अवस्था विस्तारै कमजोर हुँदैछ ।रक्तचापको औषधि सेवन गर्छु मेरा दुई छोरा छन् ।

श्रीमान बितेको दश वर्ष भयो । त्यतिबेला एक्लै जीवन बिताइरहेकी छु । स्थानीय वडा कार्यालयबाट वर्षमा एक पटक मच्छेडानी (झुल) वितरण गर्छ । खुसी लाग्छ । साथै,वडाबाट सम्मान स्वरूप झुल बितरण गरेको थियो भने सरकारले ३÷३ महिनामा भत्ता दिएर सहयोग गरेको छ ।
‘बीमामा जेष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्छ’
इन्दिरा पन्थी
जेष्ठ नागरिक
मेरो जन्म अर्घाखाँची जिल्लाको एक मध्यम वर्गीय परिवारमा भएको हो । लामो मसयदेखि यतै बस्छु । श्रीमानको निधन भएको करिब सत्र वर्ष भइसकेको छ । छोरा,बुहारी र दुई वर्षे सानो नातिसँगै बसिरहेकी छु ।

त्यो नाति उनको जीवनको केन्द्र बनेको छ । कहिलेकाहीँ साथीहरू तथा छोराछोरीहरूसँग भिडियो कलमा कुरा गर्छु । टेलिभिजन हेर्नु, भजन गुनगुनाउनु र भक्ति भावमा डुब्छु । सरकारले बीमा सेवा दिएको छ । ो सुविधा लिन अस्पतालमा निकै कठिन छ । लामो लाइन बस्नुपर्छ । एक दिनभरि समय दिनुपर्छ । सन्तानहरू व्यस्त भएका कारण मलाई सरकारी अस्पताल लैजान सक्दैनन्, जसले गर्दा सेवा लिन निकै गाह्रो परेको छ ।

‘वृद्ध भत्ता मेरो जिउने आधार भएको छ’
कुमार हरिजन
जेष्ठ नागरिक
मलाल हरिजन ६९ वर्षका मलाल हरिजन २ छोरा र १ छोरीका पिता हुन् । उनले हाल तीन महिनामा ८ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् । बिमा सम्बन्धी सुविधा कसरी लिने भन्ने उनलाई अझै थाहा छैन ।

जीवनभरि लेबरको काम गरेर गुजारा चलाएका मलाल अहिले घरमै समय बिताउँछन् । समय निकै लामो लाग्छ कता जाने के गर्ने हुन्छ । उनको जिज्ञासा छ,‘तल्लो जात भएकाले ६५ वर्षपछि मासिक ४ हजार भत्ता पाइन्छ भन्थे, तर म किन पाउँदिन’ अहिले उनी ३ महिनामा मात्र ४ हजार भत्ता पाउछन् ।

‘वृद्धवृद्धालाई घरमै पुगेर सेवा दिइरहेका छौँ’
शेषकान्त भण्डारी
वडा अध्यक्ष
वडा नम्बर ९ ले जेष्ठ नागरिकमैत्री सेवा दिइरहेको छ । हामी निर्वाचित भएर आएदेखि जेष्ठ नागरिकलाई लक्षित गरेका छौँ । वृद्ध अवस्थामा शारीरिक र मानसिक रूपमा कमजोरी हुने गर्छ । ख्याल गर्नेहरूलाई पनि उत्तिकै दुःख हुन्छ । त्यसैले समयअनुसार आफूलाई ढालेर खुशी र आनन्द लिन सक्नुपर्छ । जस्तो अवस्था आउँछ, त्यस्तै बन्न सकियो भने जीवन जिउन सजिलो हुन्छ ।

उनले आफुले जेष्ठ नागरिकका समस्या बुज्ने र वडामा रहदासम्म सकिने खालका समस्या सम्बोधन गर्ने बताए । वडा नम्बर ९ मा वृद्धभत्ता लिने अधिकांश वृद्धवृद्धाको अवस्था यस्तै छ । सरकारबाट पाइने केही हजार रुपैयाँ नै औषधि, अस्पताल र दैनिक खर्चका लागि आधार बनेको छ । यो सहयोगी रकम वृद्धहरूको जीवनमा कठोर घाममा शीतल छायाँजस्तै बनिरहेको छ । तर यदि यो भत्ता अझ सहज, सुलभ र सम्मानजनक ढंगले प्रदान गरियो भने, बुढेसकाल पीडाको होइन, गौरवको हुन सक्छ ।

समग्रमा हेर्दा,सिद्धार्थ नगरपालिकाको वडा नम्बर ९ मा जेष्ठ नागरिकहरूको हितका लागि आवश्यक संरचना र सेवाहरूको अभाव देखिएको छ । जेष्ठ नागरिकहरुको पनि आमा समूहजस्तै समूहको स्थापना भएमा उनीहरूको सहभागिता र सामाजिक जीवनमा सक्रियता बढ्न सक्थ्यो, तर हाल त्यस्तो समूह छैन । सितल छहरी नजिकै सबैको पहुँचमा हुने गरी कुनै सेवा केन्द्र वा जमघट स्थान भएमा राम्रो हुन्थ्यो, तर हाल त्यस्तो सुविधा छैन । विशेषगरी गर्मी याममा जेष्ठ नागरिकलाई गाह्रो हुने भएकाले नजिकै सेवा सुविधा आवश्यक देखिन्छ । त्यसैगरी,घुमफिर तथा शारीरिक र मानसिक स्वास्थ्यका लागि उपयुक्त ‘जेष्ठ नागरिक मैत्री पार्क’ को पनि अभाव छ ।

साथै,जेष्ठ नागरिकहरूका लागि उनीहरूले जानेको र सकेको सीपअनुसार सानो व्यापार वा रोजगारीको अवसर भएमा उनीहरूको आत्मनिर्भरता र सम्मानजनक जीवनस्तरमा सहयोग पुग्ने थियो । यसबाहेक, सरकारले दिएको स्वास्थ्य बीमा कसरी सदुपयोग गर्ने भन्ने विषयमा जानकारीको कमी देखिन्छ । धेरैले बीमा प्रयोग गर्दा सेवाप्राप्तिमा कठिनाइ भएको गुनासो गरेका छन् । अर्कोतर्फ,शिक्षित जेष्ठ नागरिकहरू पनि आफ्ना अनुभव, विचार र भावना व्यक्त गर्न चाहन्छन् । आफ्नै स्थानमा बसेर लेख्ने इच्छा उनीहरूमा देखिन्छ ।

तर उनीहरूले लेखेका सामग्रीहरू सम्पादन, प्रकाशन गरी प्रोत्साहित गर्न र बाहिर ल्याउनका लागि सुलभ र पहुँचयोग्य कुनै प्लेटफर्म वा माध्यम छैन । यस्तो अवसर मिलेको खण्डमा उनीहरूको अनुभव र ज्ञान समाजका लागि निकै मूल्यवान स्रोत बन्न सक्छ । त्यसैले, वडा नम्बर ९ मा जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम, जानकारीमूलक तालिम,सेवा केन्द्र, र नजिकै मनोरञ्जन गर्ने ठाउ साथै गर्मी मा सितल हुने कुनै सुविधा जनक बस्ने ठाउँका साथै लेखन र अभिव्यक्तिको प्लेटफर्म स्थापना गर्नु जरुरी छ । जेष्ठ नागरिकका सबालका नीति र नियम कडाइमा वडाले चासो देखाएमा रेखदेखमा समेत फरक पर्न सक्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख १५ गते सोमबार