मालारानी–८ हंशपुरलाई वडास्तरीय भलिबलको उपाधि



गोपालप्रसाद भट्टराई । अर्घाखाँची ।

धारापानीमा सम्पन्न खुला वडास्तरीय भलिबलको उपाधि मालारानी–८ ले जितेको छ । भलिबलका खेल प्रतिभालाई प्रष्फूटन गर्न भूमिकास्थान नगरपालिका ४ नम्बर वडा कार्यालयले आयोजना गरेको प्रतियोगितामा आयोजक धारापानीलाई पराजित गर्दै भलिबलको उपाधि हंशपुरले उचालेको हो ।

भूमिकास्थान–४ को टीमलाई ३–० को सोझो सेटमा पराजित गर्दै मालारानी–८ ले उपाधि उचालेको थियो । उपाधिसँगै हंशपुरले नगद रु.३० हजार र ट्रफी हात पारेको छ । प्रतियोगितामा आयोजक धारापानी दोस्रो भयो । यस्तै भूमिकास्थान–३ को भलिबल टिम तेस्रो भएको थियो ।

भूमिकास्थान–३, धारापानीले सन्धिखर्क–८ लाई २–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो । प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु.२० हजार र १० हजारसँगै ट्रफी हात पारे । प्रतियोगितामा प्रथम हुने मालारानी–८ को टिमका खेलाडी अनिष पाण्डे उत्कृष्ट खेलाडी घोषित भए भने सन्धिखर्क–७ खाँचीकोटका खेलाडी मिशन खड्का अनुशासित खेलाडी घोषित भएका थिए ।

भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपाली र भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थीले खेलले स्वास्थ्य, पहिचान र समृद्धिमा सकारात्मक भूमिका निभाउने बताएका थिए । खेल र खेलको विकासका लागि आफूहरूले सक्दो सहयोग गर्ने उनीहरूले प्रतिबद्धता जनाए ।

तीन दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका विभिन्न वडाका १९ वटा टिमले भाग लिएको वडा सचिव निलम शाहीले जानकारी दिइन् । भलिबल खेललाई प्रोत्साहन गर्न, खेलाडीलाई अवसर प्रदान गर्न यो प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष पन्थीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २३ गते शनिबार