चीनबाट अमेरिका आउने सामानमा थप कर लगाइन्छ भने ती सामानहरूको मूल्य महँगो हुन पुग्छ र अमेरिकाका उपभोक्ताले सस्ता विकल्पको खोजी गर्न थाल्छन् । यसले गर्दा त्यस्ता सामानहरूको माग घट्छ र क्रमशः आयातमा कमी आउँछ । चीनको लागि अमेरिका सानो बजार खोसिएपनि चीनलाई खासै फरक पर्दैन र समय यस्तो आउन सक्छ । चीनले अमेरिकाको व्यापारको विकल्पमा अरु बजार खोज्नेछ । भनिन्छ सन् २०३० सम्म विश्वको ५० प्रतिशत उत्पादन चीनको आफ्नो हुन्छ । त्यस्तो अवस्थामा चीनलाई कसैले रोक्छु छेक्छु भनेर रोक्न सम्भव हुनेछैन् ।
सागर गैरे
दोस्रो विश्वयुद्धले संसारका साम्राज्यहरूको आकार, शक्ति र फैलावटलाई जरादेखि हल्लायो । चाहे त्यो अटोमन साम्राज्य होस् वा ब्रिटिस साम्राज्य, साम्राज्यवादी जापान होस् वा साम्राज्य बन्ने सपना बोकेको जर्मनी, सबैका लागि यो युद्ध एक ठूलो मोडको रूपमा आयो । यस युद्धले सम्पूर्ण विश्वको शक्ति सन्तुलनमा परिवर्तन ल्यायो र नयाँ विश्व व्यवस्था स्थापित भयो ।
दोस्रो विश्वयुद्धपछि संसार दुई प्रमुख ध्रुवहरूमा विभाजित भयो । एकातर्फ सोभियत संघ र अर्कोतर्फ अमेरिका । यद्यपि असंलग्न देशहरूको एउटा ठूलो समूह पनि जन्मियो, जुन आफ्नो स्वतन्त्रता कायम राख्न चाहन्थे । तर, ती देशहरूलाई पनि कुनै न कुनै सुपरपावरको प्रभावसँग जुध्नु परेको थियो । सोभियत संघको विचारधारा वैज्ञानिक र प्रगतिशील भएपनि पुँजीवाद र प्राविधिक पक्षमा अमेरिकाको प्रभुत्व बढ्दै गयो । पश्चिमी राष्ट्रहरू मुनाफामुखी थिए । अमेरिकाले युरोपमा मार्शल प्लान ल्याएर आर्थिक प्रभुत्व स्थापित ग¥यो र आफ्नो शक्ति संसारभर फैलायो ।
यसका साथै, संयुक्त राष्ट्र संघ, विश्व मुद्रा कोष र विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा अमेरिकाले आफ्नो प्रभुत्व कायम राख्यो र यी संस्थाहरूलाई आफ्नो राजनीतिक र आर्थिक प्रभावको हतियारका रूपमा प्रयोग ग¥यो ।
सन् १९९० को दशकमा सोभियत संघको पतनपछि अमेरिका विश्वको एकमात्र महाशक्ति राष्ट्रको रूपमा उभियो । अमेरिकाले आफ्नो एकल प्रभुत्वलाई आफ्नो इच्छा तथा चाहना अनुसार प्रयोग गर्न थाल्यो र जसलाई चाह्यो उसलाई दबाउन, धम्क्याउन वा तर्साउन सक्थ्यो । जापान जब आर्थिक रूपमा मजबुत हुन थाल्यो, तब अमेरिकाले त्यसलाई विभिन्न दबाबका माध्यमबाट झुकाउन प्रयास ग¥यो, र यसले आफ्नो प्रभाव र प्रभुत्वलाई कायम राख्यो ।
अमेरिकाको रणनीतिक चालको एक महत्वपूर्ण उदाहरण भनेको चीनसँगको सम्बन्ध हो । लामो समयसम्म अफिम युद्ध र आन्तरिक गृहयुद्धबाट थलिएको चीनलाई अमेरिकाले पुनर्निर्माण र समृद्धिका लागि सहयोग ग¥यो । यद्यपि, पश्चिमी शक्तिहरूसँग भएको अपमानजनक व्यवहार र अत्याचारको सम्झनाले चीन सतर्क र चनाखो थियो । बिस्तारै चीनले आफूलाई सम्हाल्दै, अमेरिकासँग सम्बन्धको सन्तुलन राख्दै, आफ्नो आर्थिक र राजनीतिक प्रभाव बढाउन थाल्यो ।
आज चीन अमेरिका पछिको विश्वको दोस्रो ठूलो आर्थिक शक्ति बनेको छ । उ सैन्य, प्रविधि, भौतिक विकास हरेक क्षेत्रमा निरन्तर छलाङ मार्दै अघि बढेको छ । उ चरम गरिबी र पछौटेपनबाट उठेर विश्वभर आफ्ना पाइला अघि बढाएको छ ।
चीन र डब्लूटीओ
चीनको विश्व व्यापार संगठन (डब्लूटीओ)मा प्रवेश ११ डिसेम्बर २००१ मा भएको हो । जुन चीनको लागि ऐतिहासिक मोड थियो र जसले अन्तर्राष्ट्रिय व्यापारमा प्रवेश गर्ने नयाँ अवसरहरूको ढोका खोलेको थियो । २००१ मा डब्लूटीओ सदस्य बन्नुअघि, चीनको अर्थतन्त्र अझै पूर्ण रूपमा विकसित भएको थिएन । यद्यपि चीनमा तीव्र गतिमा औद्योगिकीकरण भइरहेको थियो, तर उसले विश्व बजारसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सकेको थिएन ।
विश्व व्यापार संगठनको सदस्यता प्राप्त गर्नका लागि चीनले १९८६ मा पहल थाल्यो र झन्डै १५ वर्षको लामो परिश्रमपछि २००१ मा सदस्यता प्राप्त गर्न सफल भयो । त्यस समयमा चीनका अधिकांश उद्योग र कलकारखानाहरू सरकारी निगरानीमा थिए । डब्लुटीओमा प्रवेश गर्नका लागि चीनले आफ्नो व्यापार नीति र नियमलाई अन्तर्राष्ट्रिय मापदण्डसँग मिलाएर सुधार गर्नुपर्ने थियो ।
चीनको डब्लुटीओ सदस्यता प्राप्तिसँगै, बहुराष्ट्रिय कम्पनीहरूलाई चीनको विशाल बजारमा प्रवेश गर्ने अवसर प्राप्त भयो । चीन विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको राष्ट्र थियो र यसको विशाल जनसङ्ख्या स्वाभाविक रूपमा व्यवसायका लागि आकर्षक बिन्दु बन्यो । डब्लूटीओमा प्रवेश पश्चात् चीनले आफ्नो व्यापार नियम र नीतिहरूलाई विश्वव्यापी मानकअनुसार परिमार्जन ग¥यो र धेरै महत्वपूर्ण सम्झौताहरू ग¥यो । यसले चीनको अर्थतन्त्रमा उल्लेखनीय सुधार ल्यायो र चीनलाई प्रमुख निर्यातक र आर्थिक शक्ति बन्न मार्ग प्रशस्त ग¥यो ।
डब्लूटीओ सदस्यता प्राप्त गरेपछि चीनको विश्व व्यापार समुदायमा प्रभाव र हैसियत उल्लेखनीय रूपमा वृद्धि भयो । आज चीन संसारको सबैभन्दा ठूलो निर्यातक र दोस्रो सबैभन्दा ठूलो आयातक राष्ट्रको रूपमा स्थापित भएको छ । यसको व्यापार गतिविधिहरूले विश्व अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पारिरहेको छ । चीनलाई विश्वको ‘कारखाना’ मानिन्छ, जहाँ विभिन्न उद्योगका लागि कच्चा पदार्थदेखि तयार मालसम्म उत्पादन हुँदैछ ।
डब्लूटीओमा प्रवेशपछि चीनले ठूलो मात्रामा विदेशी प्रत्यक्ष लगानी आकर्षित गरेको छ र आफैँ पनि अन्य राष्ट्रहरूमा लगानी गर्ने प्रमुख राष्ट्र बनिरहेको छ । यसले चीनलाई आर्थिक वृद्धिमा सघाएको छ र भविष्यका लागि ठूलो विकासको मार्ग प्रशस्त गरेको छ ।
चीनलाई डब्ल्यूटीओमा ल्याउनुको पछाडि अमेरिकी स्वार्थ
अमेरिकाले चीनको विशाल बजारमा पहुँच बढाउन डब्ल्यूटीओको सदस्यतालाई एक प्रमुख अवसरको रूपमा उपयोग गर्न चाहन्थ्यो । अमेरिका चाहन्थ्यो कि चीनलाई पस्चिमी नीति र नियममा समायोजन गर्दै त्यसको राजनीतिक प्रभावमा दबाब बढाउँदै जाउँ । चीनमा प्रवेश गर्ने सजिलो र उपयुक्त उपाय भनेको डब्ल्यूटीओ थियो ।
अमेरिका चीनको सस्तो श्रम र उत्पादन क्षमताबाट भरपूर लाभ उठाउन चाहन्थ्यो । डब्ल्यूटीओमा चीनलाई सदस्य बनाउँदा, अमेरिकाले चीनमा आफ्ना कम्पनीहरूको सुरक्षा सुनिश्चित गर्ने र उनीहरूको व्यवसायलाई लाभकारी बनाउनका लागि सुविधाजनक वातावरण सिर्जना गर्ने अपेक्षा राखेको थियो ।
चीनले भने अमेरिकाको नियतलाई नबुझेको होइन् । उसका आफ्ना स्वप्न र आकांक्षाहरू थिए । चीनले आफ्नो आर्थिक मोडेल, अर्थात राज्य–नियंत्रित पुँजीवाद, लागु गरेर डब्ल्यूटीओबाट यथासम्भव लाभ लिन थाल्यो । त्यसपछि, चीनले अत्यन्त सस्तो मूल्यमा आफ्ना उत्पादनहरू विश्वभर पठाउन थाल्यो, जसले गर्दा अमेरिका र युरोपका केही देशहरूले छटपटाहट महसुस गर्न थाले । जहाँ अमेरिका चीनसँग लाभ उठाउने आशामा थियो, त्यहाँ उल्टो परिणाम आएर चीनसँगको व्यापार घाटा बढ्दै गयो ।
अमेरिकाले सोभियत संघलाई एक्ल्याउनका लागि चीनसँग मात्र सम्बन्ध सुधार गरेन, बरु मध्यम अर्थतन्त्र भएको चीनलाई विश्व व्यापार संगठनमा सदस्य बनाउने प्रयास पनि ग¥यो । अमेरिकाले चीनलाई बहुर्राष्ट्रिय कम्पनीहरू ल्याउन र आर्थिक मद्दत पु¥याउन प्राविधिक सहयोग पनि ग¥यो । चीनले यति छिटो छलाङ मार्ला भनेर अमेरिकाले कहिल्यै सोचेको थिएन । चीन यति छिटो शक्तिशाली होला भनेर अमेरिकाले कल्पनासम्म गरेको थिएन ।
सन् २००८ को आर्थिक मन्दीपछि जब अमेरिकी अर्थतन्त्र संकटमा परेको थियो, चीनले १० खर्ब डलरको अमेरिकी ट्रेजरी बील खरिद गरेर अमेरिकी अर्थतन्त्रलाई ध्वस्त हुनबाट बचायो । त्यसपछि नै हो, अमेरिका चीनमाथि अधिक निर्भर बन्न पुगेको ।
चीन–अमेरिका व्यापार युद्ध
आजको दिनमा अमेरिका र चीन बीचको सम्बन्ध जटिल र प्रतिस्पर्धात्मक बनिसकेको छ । व्यापार युद्धका कारण दुवै देशका अर्थतन्त्रमा असर परेको छ र विश्वव्यापी आपूर्ति शृंखलामा पनि यसको गहिरो प्रभाव परेको छ ।
चीन र अमेरिका बीचको हालको व्यापार युद्ध सन् २०१८ मा सुरु भएको मानिन्छ ।
त्यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार घाटा र बौद्धिक सम्पत्ति अधिकार उल्लङ्घनको आरोपमा चिनियाँ उत्पादनहरूमा उच्च भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरे । चीनबाट आउने स्टिल र आल्मुनियममा २५ प्रतिशत र १० प्रतिशत टेरिफ लगाइएको थियो । जवाफमा चीनले पनि अमेरिकाबाट आयात हुने भटमास, कार र हवाईजहाजमा टेरिफ लगाएको थियो । सन् २०१९ र २०२० मा यो व्यापार युद्ध थप बढेको थियो ।
कोभिड–१९ महामारीका कारण व्यापार युद्ध केही समयका लागि थामिएको जस्तो महसुस भएको थियो तर जब जो बाइडेनको शासन अवधि समाप्त भयो र डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किए उनले फेरी चीनसँग व्यापार युद्ध सुरु गरे ।
अमेरिका र चीन बीचको व्यापार असन्तुलन अत्यन्त ठूलो छ र हरेक वर्ष यसको मात्रामा बढोत्तरी भइरहेको छ । अमेरिका चीनबाट धेरै सामान आयात गर्छ र चीनलाई थोरै निर्यात गर्छ । चीनबाट अमेरिका जाने सामानको तुलनामा अमेरिकाबाट चीन जाने सामानको परिमाण निकै कम छ । ट्रम्पले यो असन्तुलनलाई गम्भीरतासँग हेरिरहेका थिए र उनलाई लाग्थ्यो कि चीन अमेरिकासँग व्यापारमा अनियमित लाभ उठाइरहेको छ । यसलाई नियन्त्रण गर्न उनले चीनमाथि उच्च भन्सार शुल्क लगाउने निर्णय गरे ।
अमेरिका र चीनको व्यापार घाटा विशाल छ । चीन अमेरिकाको सबैभन्दा ठूलो निर्यातक राष्ट्र हो, जसले अमेरिकाको कुल आयातको १७ प्रतिशत हिस्सा ओगटेको छ । उदाहरणका लागि चीनले अमेरिकामा ५४० अर्ब डलरको सामान निर्यात गर्दा अमेरिकाले चीनबाट मात्र १३० अर्ब डलरको सामान आयात गर्छ । चीनले मुख्य रूपमा कृषि उपज, कुखुरा, भटमास, सुँगुर र गाईको मासु, फलफूल लगायतका सामग्री अमेरिकाबाट आयात गर्छ ।
अमेरिकी राष्ट्रपति चीनसँगको व्यापार घाटा कम गर्न कम्मर कसेर लागेका छन् । उनले जसै चिनियाँ सामानमा अतिरिक्त कर थोपरे, चीनले पनि अमेरिकी कृषि उत्पादनहरूमा १५ प्रतिशत अतिरिक्त कर (ट्यारिफ) लगाएको छ, जसले अमेरिका र चीन बीचको व्यापार युद्धलाई थप जटिल बनाएको छ ।
दुवै देशहरूको व्यापार युद्धले मात्र आर्थिक मात्र होइन, राजनीतिक र कूटनीतिक तनावलाई पनि बढाएको छ । व्यापार युद्धका कारण अमेरिकाले चीनबाट आयात हुने ६० अर्ब डलर बराबरको सामानमा भन्सार शुल्क लगाएको छ भने चीनले पनि अमेरिकाबाट आउने ३ अर्ब डलर बराबरको सामानमा टेरिफ लगाएको छ ।
दुवै देशले एकअर्कामा प्रतिशोधको भावना राखेका छन्, जसको कारण व्यापार अवरोधहरू उत्पन्न भइरहेका छन् । जब अमेरिकाबाट आउने सामानमा थप कर लगाइन्छ, चीनमा ती सामानहरूको मूल्य बढ्छ र उपभोक्ताहरू ती सामानका विकल्प खोज्न थाल्छन् । यस्तै, चीनबाट अमेरिका आउने सामानमा थप कर लगाइन्छ भने ती सामानहरूको मूल्य महँगो हुन पुग्छ र अमेरिकाका उपभोक्ताले सस्ता विकल्पको खोजी गर्न थाल्छन् । यसले गर्दा त्यस्ता सामानहरूको माग घट्छ र क्रमशः आयातमा कमी आउँछ । चीनको लागि अमेरिका सानो बजार खोसिएपनि चीनलाई खासै फरक पर्दैन र समय यस्तो आउन सक्छ । चीनले अमेरिकाको व्यापारको विकल्पमा अरु बजार खोज्नेछ । भनिन्छ सन् २०३० सम्म विश्वको ५० प्रतिशत उत्पादन चीनको आफ्नो हुन्छ । त्यस्तो अवस्थामा चीनलाई कसैले रोक्छु छेक्छु भनेर रोक्न सम्भव हुनेछैन् ।
आज अमेरिका र चीन बीचको व्यापार युद्धले दोहोरो पक्षको आर्थिक र कूटनीतिक परिदृश्यमा ठूलो प्रभाव पारेको छ । यी दुई राष्ट्रहरू बीचको व्यापार असन्तुलन, थप प्रतिस्पर्धा र प्रतिशोधका कारण यो युद्ध झन् झन् जटिल हुँदै गएको छ । अमेरिकी कृषकहरूको लागि चीनमा कृषि उपज पठाउनु एकादेशको कथा बन्ने छ ।
अमेरिका युद्ध होइन, टेरिफ युद्ध लड्दै छ चीनसँग
जब दुई वा दुईभन्दा बढी देशले एकअर्काको सामानमा भन्सार शुल्क (टेरिफ) वृद्धि गरेर व्यापारमा अवरोध सृजना गर्छन्, त्यसलाई टेरिफ युद्ध भनिन्छ । यस प्रक्रियामा एक देशले अर्को देशको सामानमा आफ्ना भन्सार शुल्कलाई आफ्नो इच्छाअनुसार बढाउँछ र जवाफमा अर्को देश पनि आफ्ना आयातित सामानमा कर थप्छ । यसरी दुई देश एकअर्कामा शुल्क थोपर्दै जान्छन् ।
अमेरिकाको श्रम महँगो छ भने चीनको श्रम बजार सस्तो छ । अमेरिकामा उत्पादित सामानहरूभन्दा चीनका सामानहरू सस्तो, आकर्षक र भरपर्दो हुने भएकाले अमेरिकी उपभोक्ताहरू चीनका उत्पादनप्रति झुकाव राख्छन् । चीनका सामानले अमेरिकाका उत्पादनलाई प्रतिस्पर्धामा पछाडि पारेर धेरै अमेरिकी कम्पनीलाई धराशायी बनाएको छ ।
अमेरिका आफ्नो ओरालो लागेको उद्योगलाई सम्हाल्न चाहन्छ र चीनका सामानका मूल्यहरू बढाएर स्वदेशी उत्पादनलाई सस्तो बनाउने रणनीति अपनाउँछ । जबदेखि चीनले अमेरिकामाथि प्रगति देखाउन थालेको हो, अमेरिका त्यसको वृद्धि र सशक्तीकरणप्रति शङ्कित भएको हो ।
अमेरिकाले चीनमाथि समय–समयमा विभिन्न आरोपहरू लगाएको छ । कहिले मानवअधिकार उल्लङ्घनको आरोप, कहिले कोरोना भाइरस फैलाएको आरोप, कहिले साउथ चाइना सागरमा जबरजस्ती गरेको आरोप, कहिले ताइवान र हङकङको सुरक्षा नीति र कहिले तिब्बतको मुद्दा उठाएको छ । सबै कुराको जडमा छ भूराजनीति । चीनको प्रगति अमेरिकालाई असह्य भएको छ । अमेरिका जुनसुकै अवस्थामा चीनको प्रगति र रफ्तारलाई रोक्न चाहन्छ । यसका लागि टेरिफ युद्ध अमेरिकाले एउटा विकल्पको रूपमा प्रयोग गरिरहेको छ ।
अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्ति चोरी, जबरजस्ती प्रविधि हस्तान्तरण र सब्सिडी दुरुपयोगको आरोप लगाउँदै आएको छ । चीनले आफ्नो घरेलु उद्योगहरूलाई प्रोत्साहन दिन र बाह्य दबाब घटाउन टेरिफ युद्धलाई एक प्रभावकारी औजारको रूपमा प्रयोग गरिरहेको छ । डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार घाटा कम गर्न टेरिफ लगाउन थालेपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा टेरिफ थपेको हो । अमेरिकाको यस शैली र रणनीतिमा चीन रुष्ट भएको छ र यसले वैश्विक सम्बन्धहरूमा तनाव सिर्जना गरेको छ ।
चीनले अमेरिकाको धम्की र दबाबलाई अस्वीकार गर्दै स्पष्ट रूपमा भनेको छ– ‘हामी धाक र धम्कीबाट डराउँदैनौँ । चीनसँगको व्यवहारमा दबाब र जबरजस्ती गर्नु उपयुक्त तरीका होइन् ।’ यो चीनबाट आएको अहिलेसम्मकै कडा प्रतिक्रिया हो । यस्तैमा चीनको रक्षा खर्च ७.२ प्रतिशतले बढाएको कुरा चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जोडतोडका साथ उठाएका थिए ।
चीन र अमेरिका बीचको व्यापार युद्धले अब अर्को रूप लिँदै गएको छ । व्यापारिक तनाव युद्धमा परिणत हुन सक्छ कि भन्ने आंशकाहरू उब्जिन थालेका छन् । चीनले प्रतिक्रियामा भनेको छ– ‘यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्तिमसम्म लड्न तयार छौँ ।’ उसले प्रष्ट शब्दमा अमेरिकाकै भूमिमा रहेको दूतावासबाट अमेरिकाले चाहेको युद्ध लड्न आफू तयार रहेको भन्नू डरलाग्दो जवाफ हो । डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा आयात शुल्क बढाउँदै गएका छन् र चीनले अमेरिकी नीतिको तीव्र आलोचना गर्दै भनेको छ कि उनीहरू युद्धको लागि तयार छन् ।
अन्त्यमा
चीन र अमेरिका बीचको व्यापार युद्धले केवल दुई देशको रणनीतिक प्रतिस्पर्धा मात्र उजागर गरेको छैन्, यसले विश्वव्यापी आर्थिक परिप्रेक्ष्यलाई पनि प्रभावित गर्दैछ । व्यापार युद्धका कारण अमेरिकी अर्थतन्त्रमा अनिश्चितता थपिएको छ । अमेरिकाको क्यानडा, युरोप र चीनसँग लगाइएका टेरिफले अन्तर्राष्ट्रिय व्यापारमा तनाव र असमझदारी सिर्जना गरेको छ । यसले अमेरिकी लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ, जसका कारण कम्पनीहरूले नयाँ खरिदमा डर महसुस गरिरहेका छन् । खर्च घटाउने प्रयास गर्दैछन् र कर्मचारी भर्ना स्थगित गरेका छन् ।
अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् कि यदि यसरी नै टेरिफ बढिरहन्छ भने यसले मूल्यवृद्धि र आर्थिक वृद्धिमा सुस्तता ल्याउन सक्छ । उपभोक्ताहरूको खर्च घट्ने र व्यापारिक गतिविधिहरू कम हुने सम्भावना बढेको छ । अमेरिकाको टेरिफ नीतिले स्वयम् अमेरिकी अर्थतन्त्रमा समेत भुइँचालो ल्याएको छ, जसले व्यापारिक तनाव बढाएको छ र मन्दीलाई जन्म दिएको छ । चीनको पक्षमा कुरा गर्दा अमेरिकी टेरिफले चिनियाँ सामानहरूको पनि मूल्य बढाएको छ । बढेको मूल्यकै कारण अमेरिकी बजारमा ती सामानहरूको माग घटाएको छ ।
चीनले अमेरिकी टेरिफको असरलाई कम गर्नका लागि आफ्ना आपूर्ति शृंखलामा विविधता ल्याउन प्रयास गरिरहेको छ र आन्तरिक बजार तथा अन्य देशहरूमा निर्यात र खपत बढाउन कार्य गर्दैछ । त्यसैको परिणाम हो चिनियाँ विदेशमन्त्रीले भारतीय समकक्षीलाई भेटेर आफूहरूका आन्तरिक द्वन्द्व बिर्सिएर व्यवसायिक हित साँध्ने प्रस्ताव गरेको प्रसङ्ग ।
समग्रमा, यो स्पष्ट छ कि चीन र अमेरिका बीचको यो टेरिफ युद्धले अर्थतन्त्रलाई मात्र प्रभावित गरेको छैन् तर यसले विश्वभरको व्यापार र भूराजनैतिक रणनीतिलाई पनि नयाँ मोड दिएको छ । यसले विश्वव्यापी आपूर्ती शृंखलामा अवरोध उत्पन्न गरेको छ । विश्व व्यापार संगठनको भूमिका कमजोर बनाएको छ । यस्तो लाग्छ कि विश्व नजानिदो गरी चीन र अमेरिकाको दुई ध्रुवमा विभाजन हुँदै गएको छ ।
अमेरिका अहिले आफैँले बनाएका नियम ‘म मान्दिन, मलाई घाटा भयो’ भनेर पन्छिन खोजेको छ । उ विश्व व्यापार संघबाट पनि निक्लन चाहेको छ । संयुक्त राष्ट्र संघबाट पनि उम्किन खोजेको छ । विश्व बैंकबाट बाहिरिन खोजेको छ । घटनाक्रमहरू छिटो छिटो बदलिन थालेका छन् ।
यसका असरहरू निश्चित रूपमा भूराजनीतिमा देखिने छन् । चीन र अमेरिकाबीच प्रविधि सुरक्षा र सैन्य क्षेत्रमा प्रतिस्पर्धा हुने नै छ । दक्षिण चीन सागर ताइवान र कोरियाली प्रायद्विपमा तनाव बढ्नेछ । अमेरिकाले चीनलाई जहाँ प्रहार गर्दा दुख्छ, त्यहीँ प्रहार गर्नेछ । यस्ता गतिविधिले चीन अमेरिका सम्बन्ध साँच्चै खराब बन्नेछ ।
यो द्वन्द्वले विश्वव्यापी आर्थिक वृद्विमा कमी आउने छ । विश्वव्यापी मुद्रास्फीति बढ्नेछ । हुन सक्छ चीन र अमेरिकी अर्थतन्त्र खुम्चिने छ र त्यसको असर विश्व अर्थतन्त्रमा पर्नेछ । के थाहा भोलिका दिनमा विश्वको आर्थिक संरचनामै परिवर्तन पो आउँछ कि ?









प्रतिक्रिया दिनुहोस्