कैलाली ।
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनमा पार्टीभित्रको अन्तर्घातदेखि अहिले राजा ज्ञानेन्द्रको समर्थनमा उत्रेको हुलसम्मका कुरा उठेका छन् । सम्मेलनलाई सम्बोधन गरेका शीर्ष नेताहरूले पार्टीभित्रको अन्तर्घात अन्त्य गर्नुपर्नेदेखि सडकमा भइरहेको हुलको पछि नलागी जनताको जीवनमा परिवर्तन ल्याउनेसम्मको चर्चा गरेका थिए ।
सम्मेलनमा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रकै अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको भन्दै पार्टीभित्रका सदस्यहरू इमान्दार भए पार्टीलाई कुनै असर नपर्ने बताए । देउवाले आफ्नो पार्टीका केही व्यक्तिमा रोग लागेको बताए । ‘हाम्रा साथीभाइमा केही रोग लागेको छ’, उनले भने, ‘अन्तर्घात भन्ने एउटा रोग छ । त्यसलाई सदासदाका लागि निर्मूल गर्नुपर्छ । पार्टीभित्र लड्ने त ठीक हो । तर, चुनाव लड्दा र भोट हाल्दा एक भएर जानुपर्छ ।’
अहिले प्रतिनिधि सभामा समानुपातिक समावेशीको आधारमा राजनीतिक प्रतिनिधित्व भएका कारण कुनै पनि दललाई बहुमत ल्याउन समस्या रहेको देउवाले बताए । ‘अहिले पनि बहुमत कसैको छैन, भोलि पनि बहुमत ल्याउने सम्भावना कम छ,’ सभापति देउवाले भने, ‘तर, हाम्रो पार्टी एक भएर लागेको खण्डमा भने एक्लै बहुमत प्राप्त गर्न सक्छ । त्यसैले पार्टीका सबै साथीहरूलाई मतभेद अलग राखेर लाग्न आग्रह गर्दछु । सुदूरपश्चिमबाटै त्यसको सुरुवात होस् ।’
उनले सुदूरपश्चिममा जन्मिएर देशभरीबाट माया पाएको बताए । ‘सुदूरपश्चिमले मलाई माया र सद्भाव दियो,’ उनले भने, ‘सुदूरपूर्वले पनि माया दियो । तराइदेखि हिमालसम्मको साथ पाए । फेरी पनि यस्तै साथ पाएपछि प्रधानमन्त्री बन्ने सम्भावना छ ।’ देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई वर्षपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति रहेको स्मरण गराए ।
‘दुई वर्ष ओलीजीले सरकार चलाएपछि प्रधानमन्त्री मलाई बनाउने सहमति भएको छ,’ उनले भने, ‘हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो । एमालेको पनि कांग्रेस हो । अहिलेको आवश्यकता भएकाले मुख्य प्रतिस्पर्धीसँग मिलेर बसेका छौंँ ।’ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहबारे चर्चा गर्न आवश्यक नरहेको बताए । उनले ज्ञानेन्द्रलाई बहिर्गमनको समयमा आफूले गरेको पहल स्मरण गर्दै यस्तो बताए । ‘राजाबारे चर्चा हुने गरेको छ । मैले भन्ने गरेको छु, किन धेरै चर्चा गर्नु हामीले । म आफैँ बिदा गर्न गएको हुँ,’ नेता सिटौलाले भने, ‘राम्रै सम्झाएको हुँ ।’
नेता सिटौलाले सरकारले चाह्यो भने पूर्वराजा ज्ञानेन्द्रलाई उपलब्ध गराइएका सुविधाहरू खोस्न सकिने समेत बताए । ‘सरकारकै निर्णयले उहाँलाई निवास दिएर बस्न दिएको छ । सरकारले चाह्यो भने हटाइदिन सक्छ,’ उनले भने, ‘सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले यो बारेमा हामीले धेरै चर्चा नगर्नु जाती हो ।’
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्था नचाहनेहरू आगोमा रोटी सेक्नतर्फ लागेको बताए । ‘अहिलेको व्यवस्था कहिल्यै पनि नचाहेकाहरू अहिले रोटी सेक्नेतर्फ लागेका छन्,’ उनले भने, ‘तर, नेपाली कांग्रेस त्यसतर्फ नलागेर आम नागरिकमा देखिएको आक्रोसको आगो निभाउनेतर्फ लाग्ने छ ।’ व्यवस्था बदल्न साथ दिएका आम नागरिकमा अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढेको महामन्त्री थापाले स्वीकार गरे ।
त्यो अवस्था कांग्रेसको नेतृत्वमा बनेको संविधानकै अधिनमा रहेर बदल्ने उनको दाबी थियो । नेपाली कांग्रेसले लोकतान्त्रिक व्यवस्थाको विकल्प नखोज्ने पनि थापाले बताए । ‘अहिले एमालेको नेतृत्वमा सरकार छ,’ उनले भने, ‘केही समयपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार बन्छ । त्यो अवसरलाई प्रयोग गरेर नागरिकका बाचा पूरा गर्नतर्फ लाग्नुपर्छ । नागरिकको अवस्था बदल्न हामीले लाग्नुपर्छ ।’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा सबैभन्दा परिपक्क व्यक्ति भएको बताए । ‘आदरणीय सभापति पाँच पटक प्रधानमन्त्री बनिसक्नुभएको छ,’ उनले भने, ‘छैटौँ पटक बन्ने कुरा ठूलो होइन । उहाँले केपी ओलीलाई, प्रचण्डलाई प्रधानमन्त्री बनाएको हामीले देखिसकेका छौँ । राष्ट्रपति बनाएको पनि देखेका छौँ । हुनसक्छ कांग्रेसका कसै अरुलाई पनि प्रधानमन्त्री बनाएको पनि देख्न सक्छौँ ।’
राजाको शासनको समयमा बोल्नसमेत नपाइएको स्मरण गर्दै महामन्त्री शर्माले त्यो व्यवस्थाप्रति कसैको पनि चासो नरहेको दाबी गरे । ‘राजाको शासनले मुख बन्द ग¥यो, लेख्न दिएन,’ उनले भने, ‘त्यो शासनले थुप्रैलाई फाँसीमा चढायो ।
अहिले त्यो व्यवस्थातर्फ आम नागरिकको चासो छ भन्नु भ्रम मात्रै हो ।’ नेपाली कांग्रेसका युवा नेता प्रकाश रसाइली ‘स्नेही’ले पूर्वराजा ज्ञानेन्द्र शाहको वकालत गरेर पार्टीविरुद्ध लाग्ने नेता–कार्यकर्तालाई कांग्रेस बन्ने छुट नभएको बताए । उनले राजावादीको पक्षमा लागेर पार्टीप्रति नकारात्मक धारणा राख्ने नेता–कार्यकर्तालाई कांग्रेस बन्ने छुट नभएको बताए । ‘चाहे रवि होस् चाहे राजा ज्ञानेन्द्र होस्, जसले नेपाली कांग्रेसका नेताहरूको सन्दर्भमा, नेपाली कांग्रेस पार्टीको सन्दर्भमा चुलो–चौको, बाटोघाटो, चिया पसलमा मिडियामा कुनै नेगेटिभ कुरा गर्छ त्यसलाई अब कांग्रेस बन्ने छुट छैन,’ केन्द्रीय सदस्य रसायलीले भने ।
उनले कांग्रेसको गर्विलो इतिहासमात्रै नभएर क्रान्तिकारी इतिहास रहेको पनि स्मरण गराए । ‘नेपाली कांग्रेस पार्टी मुलुकका सबै समस्या र चुनौतीको सामान गरेर अगाडि बढ्ने पार्टी हो,’ रसायलीले भने, ‘हाम्रो इतहिास गर्विलोमात्र होइन, हाम्रो इतिहास क्रान्तिकारी इतिहास पनि हो ।’ उनले सभापति शेरबहादुर देउवाका कारण सुदूरपश्चिम संघीय राजधानी काठमाडौँसँग सडक सञ्जालसँग जोडिएको तथ्य पनि उद्घाटन समारोहमा स्मरण गराए ।
‘आदरणीय पार्टी सभापतिज्यू, तपाईँ सुदूरपश्चिमलाई नेपालसँग जोड्ने पहिलो पात्र हो, जब कर्णालीको पुल बन्यो । हामी भारतको बाटो हुँदै राजधानी काठमाडौँ जान्थ्यौँ’, नेता रसायलीले भने । रसायलीले कांग्रेसबाहेकका राजनीतिक दलहरूलाई समस्याका रूपमा चित्रित गर्दै कांग्रेस पार्टी र पार्टी सभापति देउवा समाधान भएको पनि जिकिर गरे । ‘नेपाली कांग्रेस पार्टी समस्या होइन, समस्या राजा हो, समस्या माओवादी हो । समस्या एमाले हो, समस्या नेपालका मधेशवादी दलहरू हुन्,’ केन्द्रीय सदस्य रसायलीले भने, ‘नेपाली कांग्रेस पार्टी समाधान हो । हाम्रो सभापति समाधान हो ।’
नेपाली कांग्रेसका नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै तन्त्र हुन नसक्ने बताए । संघीय राजधानी काठमाडौँमा राजावादीहरूले आइतबार गरेको प्रदर्शनतर्फ लक्षित गर्दै उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै हुन सक्ने बताएका हुन् । ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हुन सक्छ,’ नेता साउदले भने ।
उनले प्रजातन्त्रले कुनै विकल्पलाई निषेध भने नगरेको स्पष्ट पार्दै प्रजातान्त्रिक प्रक्रियाको माध्यमबाट आउने विकल्पलाई संविधानले जहिले पनि अंगिकार गर्दै आएको स्मरण गरे । उनले संसदमा रहेका कम्युनिस्ट र सडकमा रहेका राजावादीबाट जुनसुकै बेलामा पनि प्रजातन्त्रमाथि प्रहार हुन सक्ने भन्दै कांग्रेस सहज रहनुपर्नेम जोड दिए ।
‘आज मुलुकको अवस्था जटिल छ । संसद्भित्रै हेर्ने हो भने कम्युनिस्टहरूको दुईतिहाइ सङ्ख्या छ । सडकमा हेर्ने हो भने हिजो जनआन्दोलनको प्रक्रियाबाट हामीले इतिहासको भग्नावशेषमा सुताइसकेकाहरू पनि ब्युँतिन खोज्दै छन्,’ साउदले भने, ‘त्यसकारण यी शक्तिहरूबाट जनुसुकै बेलामा पनि प्रजातन्त्रलाई, प्रजातान्त्रिक संविधानलाई, नेपाली जनताका उपलब्धि र आकांक्षालाई प्रहार हुन सक्ने भएकाले नेपाली कांग्रेस जहिले पनि सजग, सचेत, चनाखो रहनुपर्ने आवश्यकता छ ।’ संविधान, संवैधानिक प्रक्रिया र नेपाली जनताले संघर्ष गरेर ल्याएको प्रजातन्त्र÷गणतन्त्रविरुद्ध कुनै शक्ति जुर्मुराउन खोजे त्यसलाई परास्त गर्न कांगे्रस अगाडि आउने पनि साउदले बताए ।









प्रतिक्रिया दिनुहोस्