राजा र हिन्दु राज्यको माग गर्दै राजावादीहरूको मोटरसाइकल ¥याली



नेपालगन्ज (बाँके) ।

बाँकेको नेपालगन्जमा सोमबार वृहत् मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । विभिन्न राजसंस्था तथा राजावादीहरूको संयुक्त आयोजनामा मोटरसाइकल ¥याली निकालिएको हो । ‘राष्ट्रवादी जनता’का नाममा स्थानीय रामलीला मैदानबाट सुरुभएको मोटरसाइकल ¥याली भेरी अस्पताल, ट्राफिक चोक, गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, कारकाँदो चोक, बाइपास रोड, न्यू रोड, सहिद सेतु विक चोक, त्रिवेणी मोड हुँदै त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

संघीयता र गणतन्त्रको विरोध गर्दै देशमा राजासहितको हिन्दु राष्ट्रको माग गर्दै निकालिएको मोटरसाइकल ¥यालीमा शिव सेना नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका विभिन्न हिन्दु संघसंगठन लगायत राजावादी पार्टीका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

कोणसभालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय तहका नेताहरूले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा राजतन्त्रको आवश्यकता भएको बताए । उनले देशमा राजतन्त्र नहुने हो भने सुशासन मात्र नभएर भावी पुस्तासमेतको भविष्य अन्योल हुने बताउँदै देशकै अस्तित्व संकटमा पर्ने बताए ।

‘कुनैपनि देशमा राजतन्त्र राख्ने भनेको देशको लागि राख्ने हो, व्यक्तिको लागि राख्ने होइन्, व्यक्तिका आआफ्नै फरकफरक विचार हुन्छन् ।’ उनले भने, ‘राजसंस्था देशको लागि जोगाउने हो, लोकतन्त्रमा कहिले राम्रो त कहिले नराम्रो प्रधानमन्त्री परेजस्तै राजसंस्थामा कहिले राम्रो राजा त कहिले कमजोर राजा पर्न सक्छ, राजा र राजसंस्थाबाट पनि गल्ती भएका छन्, राजा र राजसंस्थाबाट दश वटा गल्ती हुँदा राजनीतिकर्मीहरूबाट हजारौँ गल्ती भएका छन्, जनताबाट पनि गल्ती भएका छन् ।’

नेता मिश्रले अहिले राजसंस्थावादीहरूको देशैभर आन्दोलन भइरहेको र देशैभरमा भएका सबै आन्दोलनलाई एकीकृत गरेर काठामाडौँमा आन्दोलन केन्द्रित गराइ गणतन्त्र व्यवस्थाको अन्त्य गरी राजसंस्थाको पुनः उदय गराउनका लागि आवश्यक रहेको बताए । राप्रपाका महामन्त्री एवम् संघीय सांसद धवलशमसेर राणाले देशबाट महंगो संघीयता र गणतन्त्र हटाउनुपर्ने बताए । उनले सनातन सहितकको हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रका लागि अन्तिमसम्म लडाइँ लड्ने बताए । अरुको धर्ममाथि अन्याय अत्याचार गर्न नहुने भन्दै उनले सबै धर्मलाई सम्मान गर्नका लागि देशमा हिन्दु राष्ट्र अनिवार्य रहेको बताए ।

राप्रपाका प्रवक्ता समेत रहेका संघीय सांसद ज्ञानबहादुर शाहीले देशमा राजासहितको प्रजातन्त्र आवश्यकता रहेको बताए । संसदीय व्यस्थाबाट मुलुक नबनेको भन्दै उनले यो व्यवस्थाले खाली बुढापाकाहरूलाई पटकपटक प्रधानमन्त्री बनाएको र आम युवाहरूलाई दुबई र खाडीतिर पठाएको बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने धारणा राखे ।

वैदिक सनातन सहित हिन्दु राष्ट्र र पहिचानका लागि जनमत संग्रह हुनुपर्ने उनको भनाइ थियो । देशमा तीन तारे र पाँच तारे होटल खोलेर विदेशीहरूलाई नेपालमा ल्याउन सकेमात्र देश समृद्ध नेपाल र सुखी नेपाली बन्ने भन्दै उनले टिकटकर ट्यापेहरूलाई बालुवाटारमा भेटेर समृद्ध नेपाल र सुखी नेपाली नबन्ने बताए ।

राप्रपाका नेता एवम् संघीय सांसद दीपकबहादुर सिंहले सनातन सापेक्ष हिन्दु राष्ट्र कायम गर्नका लागि सबै जनताहरू एकजुट हुनुपर्ने बताए । राजा र जनता मिलेर देशलाई नयाँ मुलुक बनाउन सकिने उनको भनाइ थियो । कार्यक्रममा राप्रपा नेपालका सहमहामन्त्री हिक्मत ढकाल, शिव सेना नेपालका अध्यक्ष किशोर लामा, राप्रपा निकट मुस्लिम संगठनका अध्यक्ष सलाउद्दिन जसगढ लगायतले सम्बोधन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार