तेस्रो पटक स¥यो दसौं राष्ट्रिय खेलकुद



बाँके ।

कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद तेस्रो पटक सरेको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने तय भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

यसअघि राखेपको ११८औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसअघि प्रतियोगिता मंसिरमा गर्ने भनिएको थियो । बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ । राखेपले ओलम्पिक कमिटीको निर्वाचन अवैध रूपमा भएको बताउँदै आएको छ । निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् ।

राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कारबाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १६ गते शुक्रबार