‘कर्णालीमा मधेशबासीले कुनै विभेद भोग्नुपरेको छैन’



अन्य प्रदेशमा पहाडियाहरूले मधेशका समुदायलाई ‘देसी’ भनेर हेप्ने गरेको सुुनिएपनि कर्णालीमा भने त्यस्तो अवस्था नरहेको प्रतिनिधिमुलक मधेशबासीको दाबी छ । विशेष गरी शिक्षण र व्यापार व्यवसायका सिलसिलामा कर्णाली प्रदेश आइपुगेका उनीहरू मधेशभन्दा कर्णालीमा राजनीतिक पनि संस्कार राम्रो भएको बताउँछन् ।

सुर्खेत ।

‘हामीलाई देसी भनेर हेपिन्छ, इन्डियन (भारतीय) को बिल्ला भिराइन्छ’ यो गुनासो अधिकांश मधेशबासीले भन्ने गरेको सुनिन्छ । तर लामो समयदेखि कर्णाली प्रदेशलाई कर्मभूमी बनाएका बसोबास गर्दै आएका मधेशी समुदायका प्रतिनिधिले भने कर्णालीमा त्यस्तो विभेद् भोग्नु नपरेकामा गर्व गरेका छन् ।

अन्य प्रदेशमा पहाडियाहरूले मधेशका समुदायलाई ‘देसी’ भनेर हेप्ने गरेको सुुनिएपनि कर्णालीमा भने त्यस्तो अवस्था नरहेको प्रतिनिधिमुलक मधेशबासीको दाबी छ । विशेष गरी शिक्षण र व्यापार व्यवसायका सिलसिलामा कर्णाली प्रदेश आइपुगेका उनीहरू मधेशभन्दा कर्णालीमा राजनीतिक पनि संस्कार राम्रो भएको बताउँछन् । जसले गर्दा कर्णालीमा बस्दै गर्दा कुनै पनि प्रकारका विभेद भोग्न नपरेको उनीहरूको भनाइ छ ।

तराई मधेशका विभिन्न जिल्लाबाट कर्णालीमा आइपुगेका उनीहरूलाई एकै थलोमा जुराएको हो, कर्णाली उत्सवले । मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक इन्जिनियर हरिनारायण यादवले सहजीकरण गरेको कर्णालीमा मधेश नामक सत्रमा सहप्राध्यापक डा. विनयकुमार दास, प्रधानाध्यापक श्रवणकुमार शर्मा र नेपाल नाई संघ सुर्खेतका अध्यक्ष अर्जुन ठाकुरले मधेसबाट आएर कर्णालीमा बस्दाका अनुभव सुनाए थिए । तर ती अनुभव तिताभन्दा मिठा नै बढी थिए ।

२०४७ सालदेखि वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा प्राध्यापनका लागि सुर्खेत आइपुगेका सहप्राध्यापक विनयकुमार दासले मधेशमा भन्दा कर्णालीमा राजनीतिक कल्चर राम्रो रहेको दाबी गरे । कर्णालीमा जुनसुकै पार्टीको भएपनि मेलमिलाप, आपसी समन्वय राम्रो रहेको उनको भनाइ छ । ‘म कर्णालीमा आएको बेला भर्खर बहुदलीय व्यवस्था आएको थियो । त्यतिखेरदेखि हालसम्म यहाँको राजनीतिक कल्चर हेर्दै आएको छु’ उनले भने, ‘यहाँ राजनीतिक दलहरूले मिलेर काम गरेको देख्छु, तर मधेशमा त्यस्तो देख्दिनँ । मधेशले अब कर्णालीबाट राजनीतिक कल्चर सिक्नुपर्छ ।’

मधेशको राजर्षी जनक विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय एकैदिन स्थापना भएपनि राजर्षी जनकभन्दा मध्यपश्चिमले राम्रो प्रगति गरेको उनले टिप्पणी गरे । मधेशमा राजनीतिक संस्कार र राजनीतिक प्रणाली राम्रो नहुँदा त्यहाँका सार्वजनिक संस्थाले प्रगति गर्न नसकेको उनको भनाइ थियो । जसले गर्दा समग्र मधेशबासीको बृद्धि विकासमा पनि असर पर्ने उनी बताउँछन् ।

‘मधेशभन्दा कर्णालीको हावापानी राम्रो छ । न ज्यादा गर्मी । नत ज्यादा चिसो नै । मानिसहरू पनि हामी मधेशीप्रति विभेद गर्दैनन्’ दासले भने, ‘तर अलि मधेसको भन्दा कर्णालीका विद्यार्थीहरू कम अध्ययन गर्ने पाएँ । पढाइलाई त्यति महत्वको दिएको पाइँन । मधेशमा कि त स्कुुल नै जादैँनन् । यदी स्कुल गएको खण्डमा राम्रोसँग पढ्छन् । यहाँ स्कुल त जाने तर राम्रोसँग पढ्ने चलन छैन ।’

सुर्खेतको बराहतालस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय स्याउलेका प्रधानाध्यापक श्रवणकुमार शर्माले कर्णालीमा शिक्षक, कर्मचारीलाई काम गर्ने राम्रो वातावरण रहेको बताए । २०७२ साल मंसिरदेखि सुर्खेत कार्यक्षेत्र बनाएका सप्तरीका उनले आफूलाई कर्णाली छाडेर मधेश जान मन नलागेको उल्लेख गरे ।

‘यहाँ शिक्षकप्रतिको सम्मान राम्रो छ । त्यसैले मलाई सुर्खेत भन्दा त बराहताल नै छाड्न मन लाग्दैन, धेरैले माया गर्नुहुन्छ, मैले विभेद कहिल्यै खेपिन’ उनले भने, ‘त्यसैले शिक्षण पेशामा पनि हौसला जाग्छ । मन पनि खुसी रहन्छ ।’
वीरेन्द्रनगरमा २०४६ सालदेखि हजाम व्यवसाय सञ्चालन गर्दै आएका महोत्तरीका अर्जुन ठाकुरले पनि आफूले मधेशी समुदायका रूपमा कर्णालीमा बस्दा कुनै प्रकारको विभेद भोग्नु नपरेको बताए । ‘हामीलाई कुनै विभेद छैन् । यहाँका मानिसहरू असाध्यै मिलनसार र सहयोगी रहेको पाएको छु’ उनले भने, ‘कर्णालीबासीको अगाध मायाकै कारण मधेश जान मन लाग्दैन् । व्यवसायसँगै यहाँका मान्छेको व्यवहारले सन्तुष्ट छुँ ।’

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ११ गते आइतबार