बैजनाथमा ५८ लाखको भ्यू टावरभन्दा अग्ला रूख



बैजनाथ गाउँपालिकाले निर्माण गरी न्यू हरियाली सामुदायिक वनलाई हस्तान्तरण गरेको पाँचतले उक्त टावरभन्दा रूखहरू नै अग्ला छन् । जहाँबाट कुनै विशेष दृश्य देखिँदैनन् । गाउँतिरका केही दृश्यहरू मात्रै उक्त टावरबाट देखिन्छन् । २०७५ साल वैशाख १९ गते निर्माण सुरु गरी २०७८ साल चैत २६ गते उद्घाटन गरिएको भ्यू टावर त्यसयता ताला लगाइएको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ लालपुरस्थित न्यू हरियाली सामुदायिक वनमा करिब ५८ लाखभन्दा बढी रूपैयाँको लागतमा निर्माण गरिएको भ्यू टावर अनुपयोगी अवस्थामा रहेको छ । बैजनाथ गाउँपालिकाले निर्माण गरी न्यू हरियाली सामुदायिक वनलाई हस्तान्तरण गरेको पाँचतले उक्त टावरभन्दा रूखहरू नै अग्ला छन् । जहाँबाट कुनै विशेष दृश्य देखिँदैनन् । गाउँतिरका केही दृश्यहरू मात्रै उक्त टावरबाट देखिन्छन् ।

२०७५ साल वैशाख १९ गते निर्माण सुरु गरी २०७८ साल चैत २६ गते उद्घाटन गरिएको भ्यू टावर त्यसयता तालाबन्दी अवस्थामा रहेको छ । मिसन संवाददाता पुग्दा उक्त भ्यू टावरको ताल्चा खोल्ने चाबी नभेटिँदा तोडेर खोल्नुपरेको थियो । उक्त टावर निर्माण गर्दा नै अनुपयुक्त ठाउँमा निर्माण गरिएकाले अहिले प्रयोगविहीन अवस्थामा रहेको स्थानीयहरू बताउँछन् । एक स्थानीयले भने, ‘त्यतिबेलाका जनप्रतिनिधिहरू यस विषयमा बोल्यो भने रिसाउनुहुन्छ । तर, जनताको करबाट अनुपयोगी टावर बनाएर दुरुपयोग गरिएको छ । हेर्दा बडो दुःख लाग्छ ।’

पुष्पलाल स्मृति बाटिकाका नाममा उक्त स्थानमा भ्यू टावर निर्माण गरिएको थियो । न्यू हरियाली सामुदायिक वनका अध्यक्ष रामकुमार रानामगरले टावर निर्माण गर्दा नै अनुपयुक्त ठाउँमा निर्माण भएको बताए । उनले टावर बनाउँदा दृश्यहरू हेर्न मिल्ने नमिल्ने सबै हेरेर बनाउनुपर्नेमा हचुवाका भरमा बनाउँदा अनुपयोगी बन्न पुगेको बताए । उनले भने, ‘रूखभन्दा टावर नै होचो छ । रूखहरू काट्न पनि नमिल्ने । वरिपरि हेर्नैपर्ने दृश्य पनि खासै छैनन् ।’
सामुदायिक वनलाई भ्यू टावर हेरचाह तथा सञ्चालनका लागि हस्तान्तरण गरे पनि कोही पनि उक्त टावरमा पैसा तिरेर चढ्न तयार नहुने गरेको अध्यक्ष रानामगरको भनाइ छ । ‘हामीलाई हस्तान्तरण त गरेको हो । तर कर्मचारी राखौँ भने सञ्चालन खर्च कसरी जुटाउने ? त्यस्तो केही पनि नदेखिने टावरमा पैसा तिरेर को चढ्छ ?’

अर्काेतिर टावरको निर्माण नै असुरक्षित तवरले गरिएको छ । बालबालिकालाई उक्त टावरमा चढ्न दिन डर लाग्ने गरेको स्थानीयले बताए । टावरमा चढ्ने सिँढीको रेलिङहरू असुरक्षित रहेको उनीहरूको भनाइ छ ।
टावरमाथि केही फिट थप गरेमा मात्रै दृश्यावलोकनका लागि उपयुक्त हुने अनुमान गरिए पनि टावरको डिजाइन नै उक्त उचाइभन्दा माथि थप्न नमिल्ने गरी गरिएको बुझिएको बैजनाथ वडा नम्बर ६ का अध्यक्ष भुपाल पुनमगरले बताए । हालसम्म वडाले टावर सञ्चालनका लागि कुनै योजना नबनाएको उनको भनाइ छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही पूर्व जनप्रतिनिधिको पालामा अनुपयुक्त ठाउँमा हचुवाका भरमा लगानी गरिएको आरोप लगाउँछन् । टावर अनुपयुक्त र अनावश्यक ठाउँमा निर्माण गरिएका कारण लगानी खेर गएसरह भएको उनको भनाइ छ । ‘टावरभन्दा अग्ला रूखहरू छन् । न त्यहाँबाट केही हेर्नलायक दृश्य छन् । लगानी गर्नुअघि त्यसबाट हुने फाइदाको लेखाजेखा नगरीकनै हचुवाका भरमा टावर बनाइयो,’ अध्यक्ष शाहीले भने ।

टावर निर्माण हुँदा गाउँपालिकामा नेकपा एमालेका मानबहादुर रुचाल अध्यक्ष र शारदा रेग्मी विश्वकर्मा उपाध्यक्ष थिए । उनीहरूकै जोडबलमा कार्यकर्ता रिझाउन र कमिसनका लागि टावर निर्माण गरिएको कांग्रेस पक्षधरहरू आरोप लगाउँछन् । टावर निर्माण गर्दा वडा नम्बर ६ का वडाध्यक्ष रहेका भद्रबहादुर बस्नेत टावर ७ तले बनाउने भनिए पनि विविध कारणले पाँचतले मात्रै बनाउन सकिएको बताउँछन् ।

अहिलेका जनप्रतिनिधिले टावरमा तला थपेर सञ्चालनमा ल्याउनुपर्नेमा त्यसो नगरेको बस्नेतको आरोप छ । टावरमा गरिएको लगानी अनुत्पादक भएको भने बस्नेतले स्वीकार गरे । गाउँपालिका अध्यक्ष शाही अब उक्त टावरलाई नजिकै रहेको खेलकुद मैदानसँग जोडेर उपयोगको प्रयत्न गरिने बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ७ गते बुधबार