सुर्खेत ।
भूकम्पबाट घरबासविहिन बनेका प्रभावितहरूको अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ता वापतको रकम निकासा भएको छ । भूकम्प गएको १५ महिनापछि सरकारले टहरा निर्माणको रकम निकासा गरेको जनाएको छ ।
रूकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केन्द्रिय विपद् व्यवस्थापन कोषबाट अस्थायी आवासका लागि भुक्तानी दिन बाँकि रकम जिल्ला विपद् व्यवस्थापन कोषमा प्राप्तभएपछि सम्बन्धित पालिकाहरूमा निकासा पठाईएको हो ।
रूकुमपश्चिमका १५ हजार ८८१ जना भूकम्प प्रभावितहरूको टहरा निर्माण वापतको दोस्रो किस्ताको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत सम्बन्धित पालिकाको विपद् व्यवस्थापन कोषमा पठाईएको हो । यस अघि प्रथम किस्ता वापत २५ हजार रूपैयाँको दरले अनुदान रकम प्राप्त गरी टहरा निर्माण गरिसकेका लाभग्राहीहरूको दोस्रो किस्ताको लागि ३९ करोड ७० लाख २५ हजार रूपैयाँ निकासा गरिएको छ ।
सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० अनुसार २ किस्तामा टहरा निर्माणको रकम दिने व्यवस्था गरेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार रूकुमपश्चिममा ३२ हजार ९९६ जना भूकम्पपीडित लाभग्राही कायम भएका छन् ।
जसमध्ये १६ हजार जनालाई गत आर्थिक वर्षमा नै दोस्रो किस्ताको रकम भुक्तानी भइसकेको छ । भने १५ हजार ८८१ जनालाई यसपटक निकासा पठाईएको हो । सम्बन्धित पालिकाहरूको मागको आधारमा नै उक्त रकम निकासा गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चौरजहारी नगरपालिकाका ३ हजार ९१२, आठविसकोट नगरपालिकाका ७ हजार ३८१, मुसीकोट नगरपालिकाका १ हजार ६१०, त्रिवेणी गाउँपालिकाका ३३७ जना र बाँफिकोट गाउँपालिकाका २ हजार ६४१ जना लाभग्राहीको लागि दोस्रो किस्ताको रकम निकासा गरिएको हो ।
गत आर्थिक वर्षमा चौरजहारीका २ हजार ९५४, आठबिसकोटका ३ हजार १३, सानीभेरी गाउँपालिकाका ५ हजार ६४५ र त्रिवेणीका ४ हजार ३८८ लाभग्राहीलाई दोश्रो किस्ताको रकम उपलब्ध गराईएको थियो । हालसम्म जिल्ला विपद् कोषबाट दोस्रो किस्ताको लागि मात्रै ३१ हजार ८८१ जना लाभग्राहीको लागि ७९ करोड ७० लाख २५ हजार रूपैयाँ निकासा भएको छ ।
पालिकाको खातामा रकम निकासा गएपछि अब लाभग्राहीले दोस्रो किस्ताको रकम पाउने भएका छन् । आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले ढिलै भएपनि दोस्रो किस्ताको रकम आएको बताए । पहिलो किस्ताको रकमपछि टहरा निर्माण गरेका अधिकांस प्रभावितहरूले दोस्रो किस्ता नै नपाउँदा गुनासो गर्ने गरेका थिए । अब पालिकाले सम्बन्धित लाभग्राहीको खातामा दोस्रो किस्ताको रकम जम्मा गर्न ढिलाई नगर्ने उनले बताए ।
प्राधिकरणले थाल्यो क्षतिको मूल्याङ्कन
भूकम्प गएको झन्डै १५ डेढ वर्षपछि भौतिक क्षतिको विस्तृत मूल्याङ्कन थालिएको छ । २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।जाजरकोटमा पहिलो चरणमा भेरी नगरपालिका वडा नं १,३,४,८ र ११ का साथै नलगाड नगरपालिकाको वडा नं १,३ र ४ बाट कामको शूरुवात गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी समीर गौतमले प्राधिकरण, स्थानीय सङ्घ संस्था र पालिकाबाट समेत गरेर आवश्यक इन्जिनियरलाई क्षतिको मूल्याङ्कनका लागि वडा वडामा पठाइएको बताए । सोका लागि इन्जिनियरलाई २ दिनको अभिमुखीकरण समेत दिएर कार्यक्षेत्रमा परिचालन गरिएको छ ।
अहिलेसम्म जाजरकोटमा ३४ हजार, रूकुम पश्चिममा ३२ हजार र सल्यानमा १ हजार ३ सय अस्थायी आवास बनेका छन् । भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा १ सय ५४ जनाले ज्यान गुमाएका थिए ।नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले ढिलै भएपनि क्षतिको विस्तृत मूल्याङ्कन गर्ने कार्य सुरु हुनु भूकम्प पीडितको लागि सुखद कार्य रहेको बताए ।
सरकारले ढिलै भए पनि पुर्ननिर्माण कार्यका लागि प्राविधिकहरू घरघरमा पठाउनु आफूहरूका लागि स्थायीवासमा बस्न पाउने आशा पलाएको भूकम्प पीडित पूर्णबहादुर रावतले बताए । जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटमा ४० हजार ४१ घर धुरी लाभग्राही कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्