देशभर सञ्चारमाध्यम बन्द गरी तत्कालीन राजा ज्ञानेन्द्रले मिडियामाथि नियन्त्रण गर्दा तत्कालीन भेरी अञ्चल भित्र सूचनाको पहुँच र आन्दोलनको सन्देश प्रवाह गर्ने गरी पार्टीको सल्लाह बमोजिम प्रकाशन गरिएको ‘बिगुल साप्ताहिक’ आफ्नै घरमा मुख्यालय बनाएर प्रकाशन र वितरण गर्ने टिमको प्रमुख सदस्य थिएँ म । जसबापत प्रहरी र सेनाको ‘सशक्त खोजी’को सुचीमा पर्दा केही दिन फिरन्ते भएर डुलियो घर छोडेर ।
सतिश निरौला ।
समाज बदल्ने चेतना । युगान्तकारी परिवर्तनको सपना । एउटा उत्कृष्ट समाज र समृद्ध देशको कल्पना । रुढीबादी चिन्तन र संस्कार मेटाएर गतिशील र जीवन्त सभ्य समाजको निर्माण । गरिबी, पछौटेपन मेटाएर गरिबी र अशिक्षाबाट मुक्ति । यी र यस्तै कुराहरूले थप प्रेरित गरिरहन्थे राजनीतिमा ।
म सक्रिय राजनीतिमा आफूलाई जति उभ्याएँ, त्यो समय निकै लामो रह्यो । समाजलाई बेथितिविरुद्ध बोल्न, समाजमा देखिएका थुप्रै विषय र विकास निर्माणसँगै गतिशील र सभ्य समाज निर्माणका लागि मैले आफ्नो योग्यता र क्षमता अनुसार केही न केही गरेँ । मैले ०४७ सालमा तत्कालीन मालेसँगै जोडिएर राजनीतिमा अघि बढेँ । बाल अवस्थामा नै, सिधा पार्टीसँग जोडिएर ।
‘बाल कम्युनिस्ट’ भएको म कक्षा ६ मा पुगेपछि अनेरास्ववियुको स्कुल कमिटीमा औपचारिक रूपमा आबद्ध भएर सक्रिय भएँ । विद्यार्थी राजनीतिमा स्कुल कमिटीदेखि इलाका कमिटी, क्षेत्रीय कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै दुई कार्यकाल अनेरास्ववियुको केन्द्रीय कमिटीमा बसेर काम गर्ने मौका पाएँ । कुनै कसर बाँकी नराखेर विद्यार्थी राजनीतिलाई गतिशील बनाएको थिएँ । स्कुल स्कुलमा पुगेर अनेरास्ववियु निर्माण गर्नेदेखि जनजीविका र राष्ट्रियताका सवाल अनि विद्यार्थी हकहित र अधिकारका लागि मात्रै होइन, पार्टीको हरेक साना ठूला आन्दोलनको अग्रमोर्चामा आफूलाई उभ्याएँ । ०६२/६३ को जनआन्दोलनमा पार्टीको तर्फबाट नियमित लाग्ने र अगुवाइ गर्ने ८/१० जना भित्रको एउटा व्यक्ति म पनि थिएँ ।
देशभर सञ्चारमाध्यम बन्द गरी तत्कालीन राजा ज्ञानेन्द्रले मिडियामाथि नियन्त्रण गर्दा तत्कालीन भेरी अञ्चल भित्र सूचनाको पहुँच र आन्दोलनको सन्देश प्रवाह गर्ने गरी पार्टीको सल्लाह बमोजिम प्रकाशन गरिएको ‘बिगुल साप्ताहिक’ आफ्नै घरमा मुख्यालय बनाएर प्रकाशन र वितरण गर्ने टिमको प्रमुख सदस्य थिएँ म । जसबापत प्रहरी र सेनाको ‘सशक्त खोजी’को सुचीमा पर्दा केही दिन फिरन्ते भएर डुलियो घर छोडेर ।
त्यसयता केही समय जिम्मेवारीविहीन अवस्थामा पार्टीको शुभचिन्तक मात्रै भएर पनि लामो समय बसियो । पार्टीमा मेरो लगानी र मलाई एउटा राजनीतिक व्यक्ति बनाउन पार्टीको लगानी बराबरी छ । मैले राजनीतिमा गरेको लगानीको नाफा अहिलेसम्म खोजिन र खोज्नेपनि छैन । राजनीतिमा लगानीको मुनाफा खोज्नेहरू र बटुल्नेहरूबाट नै राजनीति दूषित भैरहेको छ र अहिलेको नयाँ पुस्ताको राजनीति, राजनीतिक दल र राजनीतिमा सक्रिय मानिसहरू प्रतिको नजरिया नराम्रो छ ।
राजनीतिमा लाग्नेहरू पेशा र रोजगारीविहीन हुने तर उनीहरूको जीवनशैली विलासी बन्ने कुराले राजनीति गर्नेहरूमाथि चोर औँलो उठाइन्छ । राजनीतिक नियुक्ति र जिम्मेवारीहरू स्वभाविक रूपमा राजनीतिमा लागेकाहरूले नै प्राप्त गर्ने हो । पार्टी भित्रको आन्तरिक जिम्मेवारीहरू पनि पार्टीमा सक्रियहरूले नै प्राप्त गर्ने गर्छन् ।
तर यसमा पनि निकटतादेखि रकम चलखेल, बसउठ र सेवासत्कारका प्रभावले काम गर्दा निष्ठा, आदर्श र समर्पणको राजनीति गर्नेहरू निमोठिन्छ्न् । त्यसको एउटा पात्र म स्वयम हुँ । मैले कहिले पनि जागिर वा उत्कृष्ट जिन्दगीका लागि अन्य कुरा नसोचेर शुद्ध राजनीतिमा आफूलाई लगेँ । विद्यार्थी राजनीतिबाट स्वेच्छाले बिदा लिएपछि जीवन निर्वाहका लागि सानोतिनो व्यापारमा पनि लागेँ । त्यसबाट म आफू र परिवारलाई केही आर्थिक योगदान गर्न सक्ने अवस्था भयो सँगसँगै राजनीतिमा पनि सकेको सक्रियता थियो नै ।
राजनीति लटरी वा जुवा जस्तो पनि हुँदो रहेछ । कसैले २/४ वर्षमै सबै कुरा प्राप्त गर्ने । यसलाई जुवा भन्ने वा चमत्कार केहीलाई राजनीति चमत्कार भएको देखिन्छ केहिले बालापन, किशोर अवस्था, जवानी र जिन्दगीनै बिताउँदा पनि राजनीतिमा सन्तुष्टि र आत्मसम्मान समेत अनुभूत गर्न सकेका हुँदैनन् ।
राजनीतिमा प्रारम्भिक चरण ०४७ देखि ०५२ सम्म ६ वर्ष र २०५३ सालदेखि ०८१ सम्म सुझबुझपूर्ण २८ वर्ष गरी ३४ वर्ष बिताउँदा पूरा निरास चाहिँ छैन म । १२ पास गर्नासाथ युरोप÷अमेरिका लगायत पश्चिमा मुलुक पुगेर त्यहाँको समृद्धि÷विकास र गतिशीलता देखेका र अहिलेको ग्लोबल भिलेज अनि ईन्टरनेट र प्रविधिमा हुर्केको पुस्ता धेरै निरास हुनु स्वभाविक हो । तर हामी चिठी–पत्र, आवा, टेलिफोन र फ्याक्स जानेका र रेडियो सुनेर हुर्केको पुस्तामा धेरै फरक छ । उ बेला हाम्रो आँखा अगाडि पाएका र हामीले अहिले प्रयोग गर्न पाएका कुराहरू र अहिलेको हाम्रो जीवनशैली त हाम्रो आँखै अगाडि भएको क्रान्तिकारी परिवर्तन हो ।
तर राजनीति योबीचमा धेरै धुमिलिएको छ । बेथितिको दलदलमा फसेको छ । सबै क्षेत्रमा सुधारको आवश्यकता छ । राजनीतिमा निष्ठा, त्याग र समर्पण अनि सादगीपन ५० साल भन्दा अगाडिको अवस्थामा फर्काउन सके राजनीतिले सही बाटो समात्नेछ र देश स्वभाविक रूपमा समृद्धिको यात्रातर्फ लम्किनेछ ।
प्रतिक्रिया दिनुहोस्