कुस्ती र बुद्धिचालका खेलाडी छनोट



धनगढी ।

दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा एथलेटिक्स कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरू छनोट भएका छन । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगितामा दुई दिनसम्म सञ्चालन भएका प्रतियोगिता अन्तर्गत एथलेटिक्स, कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरू छनोट भएका हुन् । यसअघि नै जुडो र भारात्तोलन खेलका खेलाडीहरू छनोट भइसकेका छन् । तीन वटै खेलहरूबाट दशौँ राष्ट्रिय खेलकुदका लागि पुरुष र महिला खेलाडी छनोट भएका छन् ।

एथलेटिक्समा पुरुषतर्फ ५ हजार मिटर दौड, १५०० मिटर दौड र ४०० मिटर दौड तर्फ ९ जना खेलाडी छनोट भएका छन् । यस्तै ज्याभलिङ थ्रो, हाइजम्प र लङजम्पमा पनि ९ जना खेलाडी छनोट भएका छन् । ४०० गुणा १०० मिटर रिलेमा पनि १२ जना खेलाडी छानिएका छन् । एथलेटिक्स महिलातर्फ पनि ५ हजार मिटर दौड, १५०० मिटर दौड र ४०० मिटर दौडतर्फ ९ जना खेलाडी छनोट भएका छन् । यस्तै ज्याभलिङ थ्रो, हाइजम्प र लङजम्पमा पनि ९ जना खेलाडी छनोट भएका छन् । ४०० गुणा १०० मिटर रिलेमा पनि १२ जना खेलाडी छानिएका छन् ।

कुस्ती पुरुषतर्फ पनि विभिन्न तौल समुहमा ९ जना खेलाडी छनोट भएका छन् । ५७ किलो तौल समूहदेखि एक सय २५ किलो तौल समूहमा खेलाडीहरू छानिएका हुन् । छनोट भएका खेलाडीहरूमा सबैभन्दा बढी ६ जना कन्चनपुरका रहेका छन् भने २ जना कैलाली र एक जना दार्चुलाका रहेका छन् ।

कुस्ती महिलातर्फ पनि १० जना खेलाडी छनोट भएका छन् । ५० किलो तौल समूहदेखि ७६ किलो तौल समूहका खेलाडीहरू छानिएका हुन् । त्यसमा ८ जना खेलाडी कन्चनपुरका रहेका छन् भने एक÷एक जना दार्चुला र डडेल्धुराका रहेका छन् । बुद्धिचालमा पनि महिला र पुरुष गरी १० जना खेलाडी छनोट भएका छन् । त्यसमा ५ जना पुरुष र ५ जना महिला खेलाडी रहेका छन् । पुरुषतर्फ कैलालीका दुई जना र बझाङ, डोटी र कन्चनपुरका एक÷एक जना खेलाडी छनोट भएका छन् । महिलातर्फ पनि ५ जना खेलाडीहरूमा दुई जना कन्चनपुरका र कैलाली, डोटी र दार्चुलाका एक एक खेलाडी छानिएका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७ सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । ४५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका २ हजार ८०० खेलाडी सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भईरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दिपकबहादुर सिंहले जानकारी दिए ।

छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कैलाली र कन्चनपुरमा भइरहेका छन् । कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसु लगायत खेलहरू भइरहेका छन् । त्यसैगरी कन्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्ती लगायतका खेलहरू भइरहेका छन् । प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल ३३२, द्वितीय मेडल ३२०, तृतीय मेडल ४५६ गरी १ हजार १९८ वटा मेडल रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १ गते बिहीबार