काठमाडौँ ।
अन्तरजातीय प्रेमविवाह गरेकै कारण राज्यबाटै चरम अत्याचार भोगिरहेका सर्लाहीको बरहथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम (चमार) र सोही नगरपालिका वडा नम्बर १७ की नेहा रौनियारको विषय प्रतिनिधि सभामा प्रवेश गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक र शून्य समयमा बोल्ने सांसदहरूले गृहमन्त्री रमेश लेखककै निर्देशनमा अन्तरजातीय बिहे गर्ने दलित युवामाथि अत्याचार भएको भन्दै विरोध जनाएका थिए ।
अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने सरकारको नीतिविपरीत गृहमन्त्री र उच्च प्रहरी अधिकारीकै संलग्नतामा उक्त जोडीलाई अत्याचार गरेको विषय गम्भीर भएको भन्दै उनीहरूले त्यसको सशक्त विरोध गरेका हुन् । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथि भएको भनिएको बर्बरताबारे गृहमन्त्री रमेश लेखकले सत्यतथ्य छानबिन गरी जानकारी दिन माग गरिन् ।
प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहार सत्य हो भने ६० लाख दलित समुदायको अपमान भएको बताइन् । उनले गृहमन्त्री रमेश लेखकको निर्देशनमा उनीहरूमाथि अपमानजनक व्यवहार भएको भनेर समाचारहरू आए पनि ती सबै सत्य हुन नसक्ने बताइन् ।
प्रतिनिधि सभा सदस्य हर्कमाया विकले अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारमाथि राज्यबाट गरिएको ज्यादतिप्रति घोर भत्र्सना गरिन् । पीडित युवायुवतीमाथि सरकारले अन्याय गरेको उनको भनाइ थियो ।
‘विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्य शक्तिको दुरुपयोग भयो । उनीहरूलाई जबर्जस्ती छुट्याउन खोजियो । यो उनीहरूमाथि भएको मानव अधिकार हनन् भएको छ । १४ प्रतिशत दलित माथिको घोर अपमान हो ।’ प्रतिनिधि सभा सदस्य विकले भनिन् । यस घटनामा प्रहरी मात्रै होइन अदालतले समेत लापरबाही गरेको विकले बताइन् । घटनामा संलग्नमाथि कानुनी कारबाही हुनुपर्ने उनले माग गरिन् ।
यस्तै प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले नेपाल सरकारका गृहमन्त्रीकै आदेशमा अन्तरजातीय विवाह गर्ने जोडीलाई अत्याचार भन्ने शीर्षकले सिंगो नेपालका दलितहरूलाई स्तब्ध बनाएको बताए । उनका अनुसार जीवी राई जस्ता मान्छेलाई पक्रन नसक्ने गृहमन्त्रीले प्रेम विवाह गरेका जोडीलाई समात्न भारतमा प्रहरी पठाउनु गम्भीर विषय रहेका बताए । यस घटनाका सम्बन्धमा गृहमन्त्रीमाथि नै छानबिन हुनुपर्ने उनले माग गरे । उनले भने, ‘उनीहरूको जीवन सुरक्षा गर्नुपर्छ । सरकार यस विषयमा गम्भीर हुनुपर्छ ।’ प्रेम विवाह गरेकै कारण भूमिगत अवस्थामा बस्नुपर्ने बाध्यता राज्यस्तरबाटै सिर्जना भएको उनको ठहर छ ।
प्रतिनिधि सभा सदस्य शिव नेपालीले राज्यमा सबै नागरिकको समान अस्तित्व र आत्मसम्मान रहेको भन्दै के प्रेम गर्नु अपराध हो ? भन्दै प्रश्न गरे । ‘सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको छ । तर, व्यवहार उल्टो छ,’ उनले प्रश्न गर्दै भने, ‘यो कसको कमजोरी हो ?’अन्तरजातीय विवाह गर्ने दलित सत्येन्द्र राम चमार र नेहा रौनियारमाथि अत्याचार भइरहेको समाचार आएको र विवाद दर्ता भइसकेको र कानुनी रूपमा वैध सम्बन्धलाई जबर्जस्ती तोड्न गृहमन्त्रीकै निर्देशन हुनु गम्भीर अपराध भएको उनको भनाइ थियो ।
अन्तरजातीय विवाह गरेकै कारण बालविवाहको मुद्दा लगाइएको र लागूऔषध र मानव बेचबिखन जस्ता जघन्य अपराधको झूटा मुद्दा लगाउने काम गरिएको घटनालाई सामान्य रूपमा लिन नहुने उनले बताउ । उनले प्रश्न गरे– ‘के सरकार संविधानभन्दा माथि हो ? सरकारले संविधानप्रदत्त दलित समुदायको अधिकारलाई रक्षा गर्ने हो या जातीय विभेदलाई स्थापित गर्ने हो ?’ शक्तिको दुरुपयोग गर्ने र जातीय भेदभावलाई मौलाउने र संविधानको धज्जी उठाउने यस विषयमा निष्पक्ष छानबिन गर्न पनि उनले माग गरेका छन् ।
यस्तै प्रतिनिधि सभा सदस्य अनिसा नेपालीले अन्तरजातीय विभेद प्रकरणमा गृहमन्त्री र प्रहरी प्रमुखमाथि छानविन हुनुपर्ने बताइन् । उनका अनुसार उमेर पुगेका युवायुवतीले मन मिलेपछि प्रेम विवाह गरेका थिए । ‘सरकारको यस्तो हर्कतले स्वतन्त्र पूर्वक विवाह गर्न पाउने नागरिकको मानव अधिकारको गम्भीर हनन् भएको छ’ प्रतिनिधि सभा सदस्य नेपालीले भनिन्, ‘तर, उनीहरूको सम्बन्ध तोड्न राज्य शक्ति नै लाग्नु पर्ने किन ? के दलित मान्छे होइनन् र ? यस घटनाको यथार्थ छानविन हुनुपर्छ ।’
नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए । आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछूतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रष्ट पारे ।
‘अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर छ,’ गृहमन्त्री लेखकले भने । तथ्यलाई तोडमोड गरेर समाजलाई विभाजनतर्फ नधकेल्न र त्यस्ता समाचार सामग्री तयार नगर्न पनि उनले सञ्चारमाध्यमसँग अनुरोध गरे ।
प्रतिपक्षले माग्यो गृहमन्त्रीसँग स्पष्टीकरण
नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अन्तरजातीय विवाह गर्ने दलित युवामाथि भएको अत्याचारको विषयमा गृहमन्त्रीसँग स्पष्ट जवाफ माग मागेका थिए । बिहीबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले समाचारमा सत्यता नरहेको दोहो¥याउनुबाहेक थप जवाफ नदिएपछि पुनले स्पष्ट जवाफ मागेका हुन् ।
गृहमन्त्रीले घटनाबारे स्पष्ट जवाफ नदिएको भन्दै माओवादी सांसद पुनले भने, ‘सर्लाहीको जोडी सत्येन्द्र र नेहाको वैवाहिक प्रश्नमा गृहमन्त्रीजीले उठेका प्रश्नहरूको जवाफ दिनुभयो । तर, एउटा कुराको जवाफ आएन कि भारत पुगेर एक जना एसपी र एक हवल्दारसहितको टोलीले गिरफ्तार गरेर ल्याएको, त्यसमा गृहमन्त्रीजीको संलग्नता भएको भन्ने कुराहरू उठेका छन् । त्यसबारेमा जवाफ आएन ।’
गृहमन्त्रीको जवाफका लागि सभामुखमार्फत रुलिङको माग गर्दै उनले थपे, ‘यसमा तथ्य छानबिन होस्, आवश्यक कारबाही होस् र यस प्रकारका जातीय विभेद नियन्त्रण गरियोस्, अन्त्य गरियोस् ।’
बिहीबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लेखकले आफू र आफ्नो पार्टी कांग्रेस कुनै पनि प्रकारका छुवाछूत र जातीय विभेदको विरुद्धमा रहेको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो जीवन र आदर्शको अवमूल्यन भएको बताएका थिए । पीडित जोडीको गुनासो सम्बोधन गर्ने र सम्पूर्ण सुरक्षाको प्रत्याभूति दिने कुरामा गृह मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्