संरक्षणबाहिरका सिमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा



कैलाली : कैलाली र कन्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सिमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा परेको छ । अनियन्त्रित चोरी सिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहोर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ ।

नेपाल पन्छी संरक्षण संघ (बीसीएन) का चराविद् हिरूलाल डगौरा सिमसार क्षेत्र खुम्चिँदै जाँदा चराको बासस्थानमा खलल पुगेको बताउँछन् । ‘ताल तथा सिमसार क्षेत्र अतिक्रमण हुँदा ८६ प्रतिशत चरा जोखिमा रहेको पाइएको छ,’ उनले भने, ‘चराको बासस्थानसँगै ताल तलैया तथा सिमसार क्षेत्रमा चरा मार्नका लागि विषादीको प्रयोग हुने गरेको पाइएको छ, त्यस कार्यले चराको अस्तित्व खतरामा परेको हो ।’

उनका अनुसार कैलालीको रामसार सूचीमा रहेको घोडाघोडी तालबाहेक भजनी नगरपालिका, कैलारी गाउँपालिकामा रहेका सिमसार क्षेत्रमा चराहरू खतरामा रहेका छन् । बेलौरी नगरपालिका–६ स्थित पुरैनी तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा २ हजार २ सय जलपन्छी फेला परेका थिए । त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको संख्या घटेर सात सय ५ पुगेको छ । चराको संख्या बर्सेनि घट्दै जानुमा बासस्थान विनाश प्रमुख कारणका रूपमा रहेको छ । बीउ छर्न र उमार्न, परागसेचन गर्न, पारिस्थितिकीय प्रणालीमा सहयोग गर्न, कीरा फट्यांग्रा नियन्त्रण गर्नमा चराले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । योसँगै पर्यापर्यटनमा टेवा, वातावरणको शोभा बढाउने कार्यसँगै चराको धार्मिक तथा सांस्कृति महत्व रहेको चराविद् डगौरा बताउँछन् ।

विषादी प्रयोग गरी चरा मार्ने तथा सिकार गर्ने कार्यलाई स्थानीय सरकार, प्रशासनिक निकायले नियन्त्रण गर्नुपर्ने उनी बताउँछन् ।स्वस्थ्य, प्राकृतिक सिमसार क्षेत्र मानव अस्तित्वका लागि महत्वपूर्ण रहेको कुरा समुदायलाई सम्झाउने बुझाउने कार्य हुँदै आएको कन्चनपुर पन्छी संरक्षण समूहका अध्यक्ष सन्देश चौधरी बताउँछन् । ‘सिमसारसँग मानव समाजको अत्यावश्यक र आधारभूत सम्बन्ध छ,’ उनले भने, ‘ताजा पानी आपूर्ति गर्ने कार्यसँगै सिमसार क्षेत्रले पानी भण्डारण गर्दछन्, जसका कारण सिमसार क्षेत्र महत्वपूर्ण छ ।’

एक सर्वेक्षणअनुसार आधाभन्दा बढी विश्वको मुख्य आहाराका लागि सिमसारमा उब्जाएको उत्पादनमा निर्भर छ । विश्वका एक अर्बभन्दा बढी मानिसका लागि सिमसार क्षेत्रका माछाहरू प्रोटिनका प्राथमिक स्रोत हुन् । सिमसार क्षेत्रमा उब्जाएको धानले वार्षिक तीन दशमलव पाँच अर्ब मानिसलाई खान पुग्छ । सिमसार क्षेत्रको महत्व नबुझ्दा अतिक्रमणको चपेटामा पर्दै गएको छ । प्रवासी चराचुरुंगी र अन्य जनावरहरू यात्राका क्रममा आराम गर्ने, खाना खाने ठाउँ वा प्रजननका लागि सिमसारमा निर्भर हुन्छन् ।

कन्चनपुरमा ४ सय ८० प्रजातिका चराहरू पाइन्छन् । जसमा संरक्षितको सूचीमा रहेका ९ प्रजातिमध्ये सेतो गरुड, कालो गरुड, खरमजुर, सानो खरमजुर, सारस, राजधनेशलगायतका चराहरू पनि यहाँ पाइन्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा संरक्षित पन्छी सिकार गरी मारेमा वा घाइते बनाएमा १५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए । सोही ऐनअन्तर्गत संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २० गते आइतबार