कथा-भूतपूर्व स्वास्नी



भरतबहादुर रानाभाट-

पाँच वर्षपछि घर हिँड्दा उसको मनमा अनेक प्रकारका कुरा खेल्दै थिए । लामो समय नभेटेका छोराछोरीको मायाले उसको मन अत्यासले पग्लिरहेको थियो । श्रीमतीको न्यानो स्पर्र्स नपाएको पाँच वर्ष पुगेको थियो । मन बेचैनीले हावामा उडीरहेको थियो । कल्पनाका अनगिन्ती मिठासले मन भरिएको थियो । मनमा एक प्रकारको छुट्टै उत्साह, छुट्टै उमंग थियो ।
हावासँग पैठेजोरी खेल्दै आफ्नै रफ्तारमा जहाज आकाशमा उडीरहेको थियो । उडानभरी छोराछोरी र श्रीमतीको सम्झनाले उनीहरुको तस्बीर आँखा अगाडि नाचीरहेको थियो । कतिबेला घर पुगाँैला र छोराछोरी र श्रीमतीलाई अँगालोमा बेरौला भनेर उसको मन हतारिएको थियो ।
जहाज भित्र पनि मन भन्दा उसका पाइला अगाडि बढ्न हतारिएका हुन्थे । मन सारै अतासिएको थियो । तर मन जति आत्तिए पनि जहाजको सिटमा चुपचाप बस्नुको अर्को बिकल्प थिएन । तर मन भने जहाज भन्दा अगाडि घरमा पुगेको थियो । शर्मिलालाई घरमा छोडेर बिदेश गएको यतिलामो समयसम्म पनि उसले छोराछोरी घर व्यवहार धानेर बसेकी हुँदा शर्मिला प्रति उसको गर्वले छाती पूmलेर आयो ।

सुदर्शन प्रहरी सेवामा कार्यरत थियो । नेपालगन्जबाट जुम्ला सरुवा भएर गएको महिना दिनभित्र जुम्ला सदरमुकाममा बिद्रोही पक्षको भिषण हमलामा परेर ठुलो भाग्यले बाँचेको थियो ।
जुम्ला घटनापछि सुदर्शन काठमाण्डौं गएर केही समय जागिर खायो । पछि प्रहरी सेवाबाट उपदानमा निस्केर केही वर्ष नेपालगन्जमा सेक्युरिटी गार्डमा जागिर खायो । श्रीमती शर्मिलासँग सल्लाह गरेर सुदर्शन साउदी अरब गएको थियो । साउदी अरबको एउटा कम्पनीमा उसले सेक्युरिटी गार्डमा काम गरेको थियो ।

घरमा पुग्दा छोराछोरी र सासु आमालाई मात्र देखेर ऊ छक्क पर्यो । शर्मिलालाई नदेख्दा अचम्म मान्दै “ आमा, शर्मिला खोई ?” भनेर सासुआमालाई सोध्यो । शर्मिला उपचारको लागि लखनउँ गएको कुरा सासुआमाले बताएपछि भने सुदर्शनको मनमा भुकम्पका धक्का जान थाले । शर्मिलासँग एकाएक मन कुडियो । त्यो उत्साह, त्यो उमंग क्षणभरमा सिथिल भयो । उसको मन ससंकित भयो । शर्मिला प्रतिको उसको विश्वास टुटेर गयो । आशा र भरोसाको दियो एकै झमटमा झपक्क निभ्यो ।

उसको मनमा खहरेखोला उर्लन थाल्यो । उसको सास रोकिएला जस्तो भयो । उसलाई दिउँसै अन्धकारले छपक्कै छोप्यो । मनभरी संगालेर ल्याएका अनेकौँ खुसीहरु एकैपल्ट गाग्रीको पानी घोप्टीए झै सबै खुसीहरु निमेसभरमा घोप्टीए । जिन्दगीका सबै खुसीहरु लुटिएको आभाष भयो उसलाई ।
छोराछोरीसँग पनि राम्रोसँग बोल्न मन लागेन । कुनै न कुनै रहस्य नभई शर्मिला घर छोडेर हिँडेकी छैन । उसको मन झनझन शङ्कालु बन्दै गयो । छोराछोरीसँग केहीबेर हाँसे जस्तो गरेर खेले पनि उसको मनभित्र बेचैनीको खहरे भने उर्लि नै रह्यो ।

सासु आमाले साँझको खाना पकाएर “बाबु खाना खान आउँनुहोस् ” भनेर बोलाउँदा उसले खान मन गरेन ।“ मलाई भोक लागेको छैन, छोराछोरीलाई दिनुहोला र हजुरले खानुहोला आमा ” भनेर ऊ शर्मिला सुत्ने कोठामा गयो ।
पाँच वर्षपछि पहिलो पटक घरमा लोग्ने आउँदा समेत श्रीमती घरमा नहुनु भनेको संयोग मात्र नहुन सक्छ । त्यसले ऊ झन्झन् भयभित् र ससंकित् बन्दै गयो । उसको ओठ सुक्का भयो । श्रीमतीले जानाजानी गरेको ठुलो धोका र बेइमानी हो, भन्ने कुरा उसले राम्रोसँग बुभ्mयो ।
उसले श्रीमतीलाई साउदी अरबको एयरपोर्टबाट घर हिँड्न लागेको जानकारी गराएको थियोे । श्रीमान बिदेशबाट आउँने दिनैमा घरमा श्रीमती नहुनु भनेको ठुलै षडयन्त्र र रहस्यमय घटना ठान्यो उसले ।

सुदर्शन बिस्तरामा पल्ट्यो । निद्रा लाग्ने कुरै भएन । उसलाई छट्पटी र बेचैनीले छपक्कै छोप्दै लग्यो । सिरानी होचो लागेर अर्को सिरानी उचाल्दा उसले सिरानी मुनी खामबन्दी एउटा चिठी देख्यो । चिठी शर्मिलाको थियो ।
चिठी समाउने बित्तिकै उसको हंसले ठाउँ छोड्यो । उसको मनमा झन शङ्का माथि शङ्काको कालो बादल मडारिन थाल्यो । सुदर्शनले लामो सुस्केरा हाल्यो । जगमा रहेको एक जग पानी घट्घट् पियो । उसको अझै तिर्खा मेटिएको थिएन । पानी पिएर भिजेको जिब्रो पनि झन्झन् सुक्का हुँदै गयो । सुदर्शनले चिठी समाएर खोल्न लाग्दा उसका हात थरथर काप्न थाले । उसको मुटुको धड्कन जोड्जोड्ले बढ्न थाल्यो । लामो सास तानेर केहीबेर मौन बसेर सुदर्शन टोलायो । उसले बिस्तारै चिठी खोलेर मन्मनै पढ्दै गयो ।
प्रिय नानीका बुबा 
तपाईले साउदी अरबको एयरपोर्टबाट “ शर्मिला म एयरपोेर्टमा छु , आजै काठमाण्डौ पुग्छु । भोलि प्लेनको टिकट मिले नेपालगन्ज घरमा पुग्दै छु ” भनेर मलाई फोन गर्नु भयो । त्यसपछि मेरो होसहवास उड्यो । मलाई पानी खान मन लागेन । मनमा सन्त्रासको तरङ्गले छपक्कै छोप्यो ।
मलाई डरको मात्रा बढेर छिन्छिन्मा पिसाब लाग्न थाल्यो । मन भत्भत् पोल्न थाल्यो । मनको जलनले मलाई भित्रभित्रै जलाएर खरानी बनाउँन थाल्यो । मन आत्तिएर हड्बडाउँन थाल्यो । म एक्लै बर्बराउँन थाले । बेचैनीले मनमा नानतरहका कुरा खेल्न थाले । मेरो ओठ मुख सुक्यो । मैले के गरु ? कसो गरुँ? भनेर मलाई दिनभर छट्पट् छट्पट् भइरह्यो ।

तपाई आउँने कुराले मेरो भोक हरायो । तिर्खा हरायो । ग्यासमा पकाउँदै गरेको खाना डढेर गनाउँदा समेत पत्तो पाइन मैले । मेरो मोबाइलको मेसेन्जरमा कसैको घण्टी बज्दा समेत तपाईको हो कि ? भनेर मेरो सातो जान थाल्यो ।
तपाईको पर्खाइमा लामो समय प्रतिक्षा गरेर बसेकी थिए म । तर तपाई घरमा आउँने कुराले खुसी हुनु पर्नेमा, झन एकाएक भित्रभित्रै आफै भयभित हुन थाले । के गरुँ कसो गरुँ भनेर अन्यौलमा अल्मलिएँ म ।

यति लामो समय सम्म प्रतिक्षा गरेर दिन रात बिताए । तपाईलाई सम्झेर तड्पीतड्पी रोएँ । तर आज तपाईले म घर आउँदै छु, भनेर फोन मात्र गर्दा पनि म खुसीले गद्गद् हुनु पर्ने बेलामा मेरो हंसले ठाउँ छोड्यो । मेरा हात खुट्टा फतक्क गलेर लगलग काप्न थाले ।
तपाईका नाममा एउटा चिठी लेख्न मैले हातमा कलम समाएकी छु । मेरो हात थरथर कापी रहेकोछ । अत्तालिएको मनमा हुन्डरी चलेको छ । मन भत्भत् पोलेर म छट्पटिएकी छु । मैले के गर्दै छु । के सोच्दै छु । म हड्बढ र हतास मनस्थितिबाट गुज्रिदै छु । मैले ठिक गरे वा गरिन ? मैले राम्रो गरे वा गरिन ? मलाईनै थाहा छैन ।

समाजले मेरो बारेमा फरकफरक दृष्ट्रिकोणले व्याख्या गर्ला । विश्लेषण गर्ला । जे गर्दा पनि गल्ती मेरो नै ठहर्ने छ । कुरा काट्ने समाजलाई मैले यति गरेपछि मसला पुगिहाल्छ । त्यसैले समाजले के सोच्ला वा के भन्ला भनेर म चिन्तित छैन ।
मलाई रत्तिभर समाजको डर छैन । बरु म आफैसँग डराएकी छु । पतिको आस्थालाई डग्मगाउँन दिएकी थिइँन । त्यसैकारण शिर ठाडो पारेर हिडेकी थिए ।

तर अचानक् त्यो सिमारेखा भत्काउँन पुगे । त्यो बन्धन, त्यो बाचा मैले एक्कासी तोड्न पुगे । मलाई ग्लानी महसुस त भएको छ । तर म उम्कने बाटो पनि छैन । मैले गलत बाटो समाते । अव त्यहाँबाट पार पाउँने ठाउँ छैन । जाल भित्र परेको माछा जस्तै भएकी छु म, न मर्न सक्छु, न फुत्कन ।
जानेर वा नजानेर, गल्तीले वा भूल गरेर बाटो बिराएँ । परिवन्धले अलग बाटो हिँड्न बाध्य भएँ । अलग बाटो हिँड्न सजिलो छैन । त्यो बाटो हिँड्दा आई पर्ने चुनौति र बाधाहरु धेरै छन् । समस्याका पहाडहरुले कति बिग्न बाधाहरु अगाडि ल्याएर छरपस्ट पर्ने हुन् ? त्यो भोग्दै जादा पाएको दुःख र हण्डरले बल्ल चेत पाउँला मैले ।

मेरो मनभित्र एउटा ठुलो भय दबिएर बसेको छ । एघार वर्षको छोरो र आठ वर्षकी छोरीको मायाले मेरो मनमा हुन्डरी मच्चिएको छ । उनीहरुको निश्चल अनुहारले मलाई लखेटीरहेको छ । तिनीहरुको मनमा के होला? आमा खोई? भन्दा तिनीहरुले के जवाफ देलान् ? समाजले उनीहरुलाई तड्पाई तड्पाई कति बिक्षिप्त बनाउँला? उनीहरुको मनोदशा कस्तो होला? मैले अनुमान गर्न सक्दिन ।

नौ नौ महिना गर्भमा राखेर जन्माएका ति अवोधहरुलाई मैले जानेर वा नजानेर गरेको गल्तीले कतै उनीहरुको मान्सिकतामा कुनै असर त गर्दैन? मलाई चिन्ता नै यसैका छ । मैले उनीहरुलाई जीवनभर पुग्ने पिडा त दिइँन ? मैले उनीहरु माथि ठुलो अन्याय त गरीन ? मेरो मनमा डर नै यहीँ छ । मेरो मनमा धेरै कुरा खेलेको छ । म ति कुरा कसरी व्यक्त गरु ? कसरी तपाईलाई भनुँ ?

समय कठोर रहेछ । समयलेनै आज यसरी तपाई र मलाई छुटाएर अलगअलग धारबाट हिँड्न बाध्य बनायो । हुनतः समयको मात्र पनि के दोष भन्नु र ? यसमा हाम्रो दोष कती हो ? तपाईको दोष कति हो? मेरो दोष कति हो?
किन हामीले पैसालाई मात्र महत्व ठान्यौँ । बाच्नको लागि आवश्यक पर्ने त पैसा नै हो । पैसा नभए केही पनि छैन । तर पनि पैसा कमाउँने फरकफरक बाटाहरु थिए ।

अरबको खाडीमा पचास डिग्रीमा ज्यानको बाजी लगाएर काम गर्नु भन्दा आफ्नै देशमा परिवार, छोराछोरीहरुसँग बसेर थोरै खाएर पनि सन्तुष्ट हुन सकिदैन र ? हामीले यसमा सोचेको खोई ? के यसमा तपाईको गल्ती छैन ? यसमा मेरो गल्ती छैन ? हामी दुबैजना यो दोषको भागिदार होइँनौँ र ?
अहिले यसरी पछुताएर तपाईको नाममा चिठी लेखिरहँदा तपाईको अनुहार मेरो सामुन्ने झल्झली नाचीरहेको छ । तपाईको मायाले मेरा आँखाबाट आँशुको भल भगीरहेको छ । मन भक्कानिएको छ । कस्तो निष्ठुरी समय आयो, श्रीमानको लागि तपस्या गरेर बसेकी थिए । श्रीमानको न्यानो स्पर्स पाउँन हतारिएको थियो मन् । लामो बिछोडको यादले बिक्षिप्त भएको मन, श्रीमानको काखमा निदाएर आँसुको भल बगाउन मन थियो ।

तर यहाँ त उल्टो भयो । आफ्नै श्रीमानका अगाडि मुख देखाउन नसकेर भाग्नु पर्ने परिस्थिति बन्यो मेरा सामु । अचानक मन परिवर्तन भयो । यस्तो समयमा बाच्न पर्यो मलाई । एक मन आजै यो इहलिला मेटाई दिउँ जस्तो लाग्छ । फेरि सक्दिन, त्यसो गर्न पनि । म के गरु ? न बाच्न सक्ने, न मुख देखाउन सक्ने अवस्थामा भए । आफैलाई धिक्कार्नु बाहेक अरु उपाय छैन, मसँग ।

तपाईलाई जुनीभरीको माया दिने कसम खाएर तपाईको हात समाएर तपाईको घरमा भित्रिएकी थिएँ । तपाईको त्यो निश्चल पवित्र मायामा मैले कहिल्यै खोट देखिन । कति सोझो, कति इमान्दार हुनुहुन्थ्यो तपाई । मलाई पुरा विश्वास गरेर घर व्यवहार सुम्पेर परदेश जानु भयो ।
खाडीको प्रचण्ड गर्मिमा तपाईले त्यहाँ खानु भएको छ छैन ? आराम छ छैन ? गर्मि कति छ ? दुःख कष्ट कति छ ? तपाईको निधारबाट तपतप पसिना कति बगेको छ ? त्यो कुरा मलाई केही थाहा छैन ।

तपाईले दुःखको बारेमा मलाई कहिल्यै केही भन्दा पनि भन्नु भएन । तर जहिल्यै मेसिन्जरमा कुरा गर्दा हसिलो देखिनुहुन्छ । मायालु पाराले बोल्नुहुन्छ । हामीलाई खुसी बनाउँन आफ्ना सबै दुःखहरु मन भित्र लुकाएर नक्कली हाँसो त देखाउँनु भएको होइननी तपाईले ?
श्रीमती र छोराछोरीका साथमा बस्न कति रहर होला ? आफ्ना इच्छा र चहाना कति मार्नु भएको होला ? छोराछोरीलाई साथमा राखेर सुम्सुम्याएर खेल्न कति रहर होला ?

तर ति सबै चहानालाई मनभित्र दबाएर ओठमा नक्कली हाँसो देखाएर पैसालाई नै सर्वस्व ठानेर काममामात्र जोतिनु भएको छ । मलाई तपाईको माया कति छ कति ? तपाईको याद कति छ कति ? तपाईको सम्झनामा मैले कैयौँ रातहरुमा सिरानी भिजाएकी छु । कैयौँ रात अनिदोमा बिताएकी छु । तपाईको कुशलताको कामना गर्दै देवीदेवता भाकेर सम्झेको छु ।

छोराछोरीहरु मेरो काखमा मस्तसँग लुट्पुटिएर निदाउँदा म भने तपाईको यादमा कैयौँ रात आँसुको भेलमा हुन्थे । रातभर छट्पटिन्थे । तपाईको माया असाध्यै हुँदा हुँदै पनि मैले अन्तिम समयमा आएर तपाईलाई धोका दिएँ । आजबाट म तपाईको भूतपूर्व स्वास्नी बनेर सदाको लागि यो घर त्यागेर कतै टाढा जादैछु ।

तपाई प्रतिको बिश्वास गुमाए । मैले आफ्नो धर्म, इमान्दारीपूवर्क निभाउँदा निभाउँदै पनि अनायासै बाटो बिराएँ । मैले बाटो मोडे । फरक बाटो रोज्नु मेरो गल्ती हो । त्यो बाटो रोज्नु हुँदैनथ्यो । तर परिस्थितिले मलाई झुकायो । परिस्थितिले मलाई भिरबाट धकेल्यो ।
मेरो दिल पत्थरको थियो । मेरो पत्थरको दिलसँग पत्थरै आएर ठोक्किए पनि हार खाएको हुन्थ्यो । मैले आत्मबल दरो बनाएर मनको थैलोमा साङ्लो बाधेर ताला लगाएकी थिएँ ।

तर कहिलेकाहीँ मनलाई जसरी कसेपनि जसरी छेकेपनि यो मन भन्ने चिज क्षणभरमा फसक्क भएर खुकुलो हुँदोरहेछ । हो मेरो मन पनि त्यस्तै भयो ।
मन खुकुलो भएको मौका छोपेर निशाना लगाउँन खोज्नेहरुले दाउँ छोप्नेरहेछन् । हो त्यहीं मौकामा मेरो मन पग्लियो । मैले संसार भुले । मैले तपाईलाई भुले । तपाईको माया भुले । तपाई प्रतिको विश्वासलाई कुल्चे । मैले तपाईलाई विश्वासघात गरे । छोराछोरीको माया भुले । इज्जत भुले । सबै कुरा भुले ।
जानेर वा नजानेर, रहर वा बाध्यताले, आग्रहले वा चहानाले मैले सबै कुरा भुले । मैले सिमाहरु भत्काएँ । सिमारेखा नाघेर म धेरै अगाडि बढे ।
सिमाना भत्काएपछि अव बाँकी के नै रह्यो र ? तपाईलाई विश्वास नलाग्न पनि सक्छ ? हो मलाई पनि कहाँ यस्तो होला भनेर विश्वास थियो र ? तर परिस्थिति फरक बन्यो । फरक परिस्थितिले गर्दा मन चञ्चल भयो । मन उचालियो । मन उचालिएपछि कसैको केही लागेन ।

मेरो मन मानेन । मनलाई मनाउँने प्रयत्न गरेपनि सकिन । मनका अगाडि म हारे । मन काबुमा नहुँदा मलाई श्रीमान, छोराछोरी र सम्पत्ति केही झै लागेन । म अन्धी भएँ । म एकोहोरी भएँ । जसले गर्दा म दलदलमा फस्दै गएँ । त्यो दलदलबाट उद्धार गरेर तान्ने कोही भएन । म आफै दलदलबाट बाहिर निस्कन सकिन । भएको कुरा यहींं हो ।

तपाईले पठाएको सबै पैसाको हिसाब किताब कापीको पानामा छ । पैसा हिनामिना केही गरेकी छैन । घडेरी तपाईको नाममा थियो । मैले नक्सा पास गरेर चार कोठाको पक्की घर बनाएँ । चारकोठाको घर चटक्क परेको छ । रङरोगन गरी पर्खाल लगाएर गेट हालेको छ । घरको अगाडि पूmलहरुले सुगन्ध दिन थालेका छन् । मलाई, मैले बनाएको घरको असाध्यै माया लागेको छ । घरको कुनाकाप्चाले मेरो स्पर्स पाएको छ ।
सुगन्धले मलाई चिन्ने भएका छन् । साँझ बिहान पानी दिने ति हातहरु खोई ? भनेर पूmलहरु ओइलाएर टोलाउँने छन् । उनीहरु फक्रन नखोज्लान । घरमा भएका हरेक बस्तुले मेरो उपस्थिति खोज्ने छन् । तर “ तिमीहरु निरास नहुनु म छु, तिमीहरुको लागि ” भनेर तिनीहरुलाई सान्त्वना दिनुहोला । हरेक चिज बस्तुको स्याहार सम्भार गनुृहोला ।

मेरो अभाव त्यो घरलाई कहिल्यै नहोस् । मेरो सम्झनाले कहिलेकाहीँ छोराछोरी र तपाईले आँसु झारे पनि त्यो घरलाई कहिल्यै न्यास्रो नलागोस् । छोराछोरीहरु मनलाग्दी गरेर खेल्ने त्यो स्वर्गको एउटा मन्दिरलाई मैले आफैले आगो झोसेर चटक्क छोडेर हिडेकी छु ।
मैले दश औंला जोडेर बिन्ती गर्छु । कुनैपनि दिदीबहिनीले आफैले बनाएको मन्दिर, आफैले सजाएको बगैचामा आँगो झोसेर खरानी बनाई छोराछोरीहरुलाई बिचिल्ली बनाएर नहिँड्नु होला, यो मेरो बिन्ती हो ।

हुन त मैले मेरो सुन्दर बगैचालाई खरानी बनाएर हिडे । मैले ठिक गरे वा बेठिक गरे अन्योलग्रस्त मेरो भविष्यले मलाई भोलि देखाउँने छ । मैले जति पश्चताप गरे पनि मैले खनेको खाल्डोमा म आफै पुरिने छु । भोलि मसँग रुने म बाहेक अरु कोही नहुन सक्छ ।
घर बनाउँने ठेकदार संगम इमान्दार रहेछ । ठेक्का लिएर समयमा निर्माण सम्पन्न गरी उसले मलाई घर बुझायो । घर सम्पन्न भएपछि बिधिवत पूजा गरेर छोराछोरीको साथमा म नयाँ घरमा प्रबेश गरे । त्यो घर हाम्रो मायाको मन्दिर हो ।

सायद जिन्दगीमा मैले ठुलो गल्ती गरे । म न मर्न सक्छु । न बाच्न सक्छु । कस्तो दोधारमा पार्नु भयो तपाईले । पाँचपाँच वर्ष सम्म घर नआउँने लोग्ने तपाई निष्ठुरी नै हो । खाली पैसापैसा मात्र भनेर पैसाको पछिमात्र लाग्नु भयो । घर बिग्रेको चालै पाउँनु भएन तपाईले ।
तपाई सोझो न सोझो हुस्सु, तर घोचो जस्तै सोझो बन्नु भयो । लोग्ने मानिस भएर यति धेरै सोझो पनि हुनुहुँदैन । घरमा एक्ली श्रीमती भएपछि शङ्का उपशङ्का गरेर समयसमयमा घर पुग्नु पर्ने हो । तर अव सबै कुरा बिग्रेपछि पुर्पुरोमा हात राखेर बस्नुहोला तपाईले । पछुताएर अव के नै मिल्ला र ?

तपाईले कहिल्यै श्रीमती र छोराछोरीको माया सम्झेर जाबो एक महिना बिदा लिएर घरमा आउँन सक्नु भएन । आँखामा पट्टी बाधेर पाँच वर्ष सम्म ढुक्कसँग पैसा पैसा मात्र भनेर बस्नु भयो । तपाई बुबा भएपछि छोराछोरीको पढाई के कस्तो छ भनेर चिन्ता मान्नु पर्ने होइन ? यसमा तपाईको दोष छैन ?
कति चाड पर्व आए गए । सधै बिरानो । सधै खल्लो । “ बुबा कहिले आउँनुहुन्छ ”? भनेर सोधीरहने छोराछोरीलाई मैले के भनेर जवाफ दिनु ? कति सधैं छोराछोरीलाई ढाटी रहनु ?

छट्पटी, पिडा, बेचैनीले सिमा नाघ्यो । सधैं एक्लो एक्लो मात्र भएर कति दिन बाच्नु ? यो निष्ठुरी जिन्दगी कति दिन एक्लै मरी मरी बाच्नु ? प्रकृतिको नियमलाई कसैले तोडेर तोडिदैन । हो, यही कारणले आज मेरो मन एकोहोरो भयो । तपाई देखि मन पटक्क भाच्चियो । नसोचेको कोणबाट अगाडि बढे म ।
एक दिन अचानक छोरो बिमारी भएर लखनउ लिएर गए । पुनः चेकअपको लागि दोस्रो पटक लखनउ लिएर जाँदा ठेकदार संगमले धेरै सहयोग गर्यो । घर बनाउँदा चिनेको ठेकदार सारै असल रहेछ ।

मैले बल्ल उसलाई राम्रोसँग चिने । उसले मेरो मन सुटुक्क चोर्यो । चोरेको मन फिर्ता ल्याउँन मैले हरसम्भव प्रयत्न गरेकी थिए । म असफल भए । त्यसपछि म एकोहोरी भए । मैले लडाईका सबै मोर्चा हारे । मेरो पेटमा संगमको बच्चा छ । त्यसैकारण मैले संगमसँग आत्मसर्मपण गर्नु बाहेक मसँग अर्को बिकल्प रहेन । त्यसैले मैले संगमसँग आत्मसर्मपण गरे ।

तपाईलाई धेरै बोझ नहोस् भनेर मैले कानमा लगाएको एकजोर टप, एउटा सिक्री र एकलाख नगद लगेकी छु । अरु केही हिनामिना गरेकी छैन । घर बनाउँदाको सबै पैसा चुक्ता गरेकी छु । कसैलाई पनि एक पैसा तिर्नु छैन । तपाईले अर्को विवाह गरेर राम्रोसँग बस्नुहोला । छोराछोरीलाई माया गर्नुहोला । म पापिनीलाई भुल्दै जानुहोला ।
आफैले सिर्जना गरेको सुन्दर फूलबारीमा आफैले आगो झोसेर हिँडेकी छु । मेरो भविष्य के हुन्छ ? मलाई थाहा छैन । संगमले कहिले सम्म साथ दिने हो ? जे गर्ला उसैको भर परेर हिँडेकी छु ।

यति ठुलो गल्ती गरेर हिँडे पनि मैले मेरो प्राण जाने अन्तिम समयसम्म तपाईलाई माया गरीरहने छु । मेरा दुई कोपिलाहरुलाई सधै माया गर्नुहोला । कुनै दिन पापिनी भनेर याद आएमा मनमनै सम्झी दिए मलाई पुग्ने छ । मैले ठुलो भुल गरे । मलाई माफ दिने ठाउँसम्म राखिन मैले ।
म सधैं तपाईको भलो चिताउँने छु । तपाईको माया लागेर तपाईको एउटा फोटो साथमा लिएर हिडेकी छु । मरे पनि स्वर्गबाट समेत तपाईलाई माया गर्नेछु ।
तपाईले शुक्रबार साउदी एयरपोर्टबाट फोन गरेपछि मैले हवल्दारपुरमा आमालाई फोन गरेर म शनिबार औषधी गर्न लखनउँ जादैछु भनेर आमालाई घरमा बोलाएर म घरबाट सदाको लागि हिँडेकी छु । यो चिठी लेखेर सिरानीमा छोडेकी छु ।
नानीको बुबा, हरेक जुनीमा तपाईको भलो भएको देख्न चहान्छु । यो जुनीमा मैले धोका दिए पनि आउँने सात जुनीसम्म तपाईकै श्रीमती भएर मर्न पाउँ । मेरो अन्तिम इच्छा यहीं हो ।

उहीं तपाईको भूतपूर्व स्वास्नी
शर्मिला

सुदर्शनले चिठी पढेर सक्यो । ऊ हड्बडायो । आँखा भित्रैबाट भरिएर आए । बाथरुम पसेर मुख धोयो । लामो सुस्केरा हाल्यो । केही नभएको अभिनय गर्दै छोराछोरीसँग गएर खेल्न थाल्यो ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रबार