असफलतालाई सफलतामा बदलेका कथाहरू



परिवेश जतिसुकै जटिल भए पनि चुनौतीलाई अवसरका रूपमा बदल्ने गरी आफूभित्र सकारात्मक सोच र गर्न सकिन्छ भन्ने विश्वासलाई जन्माउन सकियो भने असम्भव र असफलता भन्ने कुरा क्रमशः जीवनबाट भाग्दै जान्छ । विश्वासलाई भित्रदेखि अडिग बनाउँदै उक्त कार्यमा सफल हुनका लागि आफूले गर्न थालेको कामको बारेमा जानकारी र दक्षता भने हुनुपर्दछ । किनभने केही कुरा अरूको भरमा परे पनि सबै कुरा अरूको भरमा परेर मानिस सफल हुन सक्दैन ।
जीतबहादुर शाह

एन्थोनी रोबिन्सको ‘अनलिमिटेड पावर’पढेँ । उक्त पुस्तकमा थोमस अल्वा एडिसनको सन्दर्भ उठाइएको रहेछ । थोमसले ९ हजार ९ सय ९९ पटक परीक्षण गर्दा पनि बल्ब बाल्न सकेनछन् । उनलाई एक जना छिेमकीले हेपेर जिस्क्यााउँदै भनेछन्– ‘१० हजार पटक प्रयास गर्दा पनि सफल नहुने वैज्ञानिकका रूपमा तिमीले आफूलाई चिनाउने विचार गरेको त होइन ।’ जवाफमा थोमस अल्वा एडिसनले भनेछन्– ‘मैले के गर्दा बल्ब बल्दैन भन्ने कुराको आविष्कार गरिरहेको छु मित्र । अहिलेसम्म त्यस्ता कुराहरू ९ हजार ९ सय ९९ वटा पत्ता लगाइसकेँ ।’

नभन्दै उनले गरेको १० हजार पटकको प्रयासमा बल्ब बल्छ र उनको नाम प्रथम पटक बिजुलीको बल्ब आविष्कार गर्ने वैज्ञानिकको रूपमा दर्ज हुन पुग्छ । सायद यो काम हामीजस्ताको फेला परेको भए दुईचार पटक प्रयास गर्दा पनि असफल भएको अवस्थामा देवीदेवतालाई समेत सत्तोसराप गर्दै फेरि त्यो काममा हात नहाल्ने गरी छोड्थ्यौँ होला । हाम्रो हविगत पनि आठ-दश फिट गहिरो खाडल खनेर जमिनबाट पानी नआएपछि त्यस्ता आठ÷दश फिटका खाडल आफ्नो बारीभरि खनेर बारी नै बरबाद बनाउने किसानको जस्तै हुन्थ्यो होला ।

थोमस अल्वा एडिसनको जस्तै स्वभाव अमेरिकाका सोह्रौँ राष्ट्रपति अब्राहम लिङ्कनको पनि रहेछ । उनको जीवनी अध्ययन गर्दा पनि बोध हुन्छ कि उनी एक्काइस वर्षको हुँदा व्यापारमा असफल हुन्छन् । बाइस वर्षको उमेरमा नगरको कार्यकारीको दौडमा पराजय व्यहोर्छन् । त्यसपछि चौबीस वर्षको उमेरमा पुनः व्यापारमा फर्किएर पुनः घाटा लागेपछि व्यापार पनि छोड्छन् । छब्बीस वर्षको हुँदा आफ्नी प्रेमिकाको मृत्युको पीडाको सामना गर्नुपर्छ । चौँतीस वर्ष र छत्तीस वर्षको हुँदा दुई पटक काङ्ग्रेसको चुनावमा पराजयको सामना गर्नुपर्छ । पैँतालीस वर्ष हुँदा सिनेटको दौड र सत्चालीस वर्षको हुँदा उपसभापतिको दौडमा पनि हार्छन् ।

उनन्चास वर्षको उमेरमा पुनः सिनेटमा उठेर पनि हार्छन् । अन्ततः बाउन्न वर्षको उमेरमा अमेरिकाको सोह्रौँ राष्ट्रपतिको रूपमा चुनाव जित्न सफल हुन्छन् । सायद उनी सामान्य मानिस भएको भए वैराग्य जिन्दगी उनका लागि रोजाइको विषय हुन्थ्यो होला वा दिमागले काम नगरेर पागल भएर बाँच्थे होला । लिङ्कन त्यस्तो भएनन् बरु राष्ट्रपतिको ताज पहिरिएर बाँचे आफ्नो जीवन । यो सबैको राज अफलता र पराजयबाट पनि शिक्षा आर्जन गर्दै अघि बढ्ने उनको स्वभाव हो, ठीक थोमस अल्वा एडिसनको जस्तै ।

कुनै पनि व्यक्तिले कुनै पनि कामको बारेमा चिन्तन मनन गरेर मात्र त्यो काम सम्पन्न हँदैन । त्यसको आरम्भ गर्नुपर्दछ । त्यसैले त भनिन्छ, स्टार हुनु छु भने स्टार्ट गर । व्यञ्जनका हिसाबले भन्नु पर्दा धेरै दुःख गर्नु पर्दैन स्टारमा एउटा ‘टि’ थपे स्टार्ट भइहाल्छ । तथापि मैले भनेजस्तै स्टार्ट गर्न त्यति सजिलो छैन । यसका लागि व्यक्तिले आफ्नो रुचि र आवश्यकताका आधारमा क्षमतालाई तिखार्नु र निखार्नु आवश्यक छ । त्यही क्षमताको आधारमा काम कसरी गर्ने भन्ने कुराको रणनीति बनाएर कार्य आरम्भ गर्नुपर्दछ ।

काम गरेपछि नतिजा आउँछ । नतिजा कि सफल भएको आउँछ कि त असफल भएको आउँछ । यो भन्दा तेस्रो किसिमको आउने सम्भावना हुँदैन । सफलता र असफलतालाई कसरी लिने ? त्यसबाट के कुरा सिक्ने ? र त्यसबाट के कुरामा विश्वास गर्ने भन्ने बारेमा चिन्तनमनन् गर्नु जरुरी छ । असफलतालाई थोमस एल्वा एडिसन र अब्राहम लिङ्कनले जस्तै सिकाइ र अनुभवको रूपमा स्वीकार गरी अघि बढ्न सकियो भने असफलता पनि थप सिकाइका लागि एउटा असल गुरु हो भन्ने कुरामा कुनै द्विविधा छैन । त्यसका लागि असफलता वा सफलतालाई कसरी स्वीकार गर्ने भन्ने कुरामा भर पर्दछ ।

तपाईंको विश्वासको धरहरा कति मजबुत छ वा धर्मराइरहेको छ ? तपाईको विश्वासले अरू कसैको बैसाखी टेकेर ठडिएको छ वा आफ्नै मन, वचन र कर्मको आधारशिलामा ठडिएको छ ? तपाई आफ्नो कर्ममा सफल हुनका लागि भित्रैदेखि विश्वस्त हुनुहुन्छ वा दुनियाँलाई देखाउनका लागि यो नाटक गरिरहनुभएको छ ? आदि जस्ता कुराले असर पार्दछ । लडाइँमा खुट्टा थरथर कमाउँदै गएर युद्ध जितिँदैन ।

बिना कुनै रणनीति र बिना कुनै रणकौशल मूर्खताको भरमा पनि युद्ध जितिँदैन । कतिपय मानिसहरू विश्वास र आत्मविश्वास नभएर पनि युद्ध जित्ने कुरा गरिरहेका हुन्छन् । त्यस्ता मानिसहरू आफूले जित्नका लागि होइन कि जित्ने मानिसहरूका खुट्टा तान्नका लागि उठेका वा उठाइएका चुनावी उम्मेदवारहरू जस्तै हुन्् । त्यस्ता मानिसहरू रातभरि चुनाव हारेका सपना देख्छन् तथापि बिहान सबैसँग भेट हुँदा चुनाव जित्ने निश्चित भइसक्यो भनेर अभिव्यक्ति दिन्छन् । यद्यपि उक्त अभिव्यक्तिमा दम हँुदैन । उनीहरूभित्रको विश्वासको धरहरा पहिले नै ढलिसकेको हुन्छ ।

जित्ने क्षमता हरेक मानिसहरूभित्र हुने गर्दछ । उसले आफ्नो क्षमतालाई कसरी पहिचान गरेर तिखार्ने काम गरेको छ र उसको क्षमता र कर्मप्रतिको उसको विश्वासको संरचना कसरी निर्माण भएको छ भन्ने कुराले असर पार्दछ । ‘कुकुरले मान्छेलाई टोक्यो’ र ‘मान्छेले कुकुरलाई टोक्यो’ यी दुई वाक्यमा नयाँ पदाओली केही छैन । दुबैमा उनै पदाओलीहरू छन् तर तिनीहरूको बसाइ र संरचनाले गर्दा परिणाम अर्थात अर्थ एकदमै भिन्न र विपरित हुन गएको छ ।

घर त धेरैले इट्टा, सिमेन्ट, सरिया र बालुवाकै बनाउँछन तर तिनीहरू बीचको मिसावट र संरचना कस्तो हुने भन्ने कुराले घर बलियो हुने वा कमजोर भन्ने कुरा निर्धारण गर्दछ । भन्नुको अर्र्थ मानिसभित्र पनि अधिकांश सम्भावनाहरू प्रचूर मात्रामा हुँदाहँुदै पनि मानिसले त्यसको भरपूर सदुपयोग गर्न सकिरहेको देखिँदैन । तर यत्ति हो कि मानिसले आफूमा भएका स्रोतहरूलाई कस्तो डिजाइनमा कसरी प्रयोग गर्दछ भन्ने कुरा मात्रै महत्वपूर्ण कुरा हो । आफूसँग भएका पदाओलीबाट ‘कुकुरले मान्छेलाई टोक्यो’ बनाउने वा ‘मान्छेले कुकुरलाई टोक्यो’ बनाउने भन्ने कुरा मात्र हो । यो सबै उसको चिन्तनको धरातल र त्यसबाट जन्मिने विश्वास र आत्म विश्वासले फरक पार्दछ ।

एडमन्ड स्पेन्सरले भनेका छन्– ‘माइन्ड अथवा मन भनेको त्यस्तो चिज हो जसले रोगीलाई सञ्चो बनाउन सक्छ, व्यक्तिलाई खुसी वा चण्डाल बनाउन सक्छ र व्यक्तिलाई धनी वा गरिब बनाउन सक्छ ।’ स्पेन्सरकै भनाइलाई अझ स्पष्ट हुने गरी जोन मोल्टनले भनेका छन्– ‘माइन्ड अर्थात मन त्यस्तो स्थान हो जहाँ मन स्वयम्ले नर्कलाई स्वर्ग र स्वर्गलाई नर्कको रुपमा स्थापना गर्न सक्छ ।’ त्यसरी नै विलियम सेक्सपियरले भनेका छन् – ‘संसारमा राम्रो वा नराम्रो भन्ने चिज नै हँुदैन व्यक्तिमा भएको चिन्तनले त्यसलाई राम्रो वा नराम्रो बनाउने काम गर्दछ ।’

राल्फ वाल्डो इभर्सनले भनेका छन् – ‘हरेक कर्मको पूर्वज भनेको चिन्तन हो ।’ एन्थोनी रोविन्सले भनेका छन्–‘मानिस आफै अल्छी हुँदैन । यदि उसले लिएको लक्ष्यले उसलाई उत्प्रेरित गर्न सकेन भने मात्र अल्छी हुने गर्दछ ।’ उल्लिखित सबै भनाइहरूको निस्कर्ष यही हो कि सबैभन्दा ठूलो कुरा मन रहेछ । मानिसलाई स्वर्गमा बसाल्ने वा नर्कमा, मानिसलाई सफल बनाउने वा असफल, मानिसलाई खुसी बनाउने वा दुःखी, मानिसलाई गरीब बनाउने वा धनी र मानिसलाई अल्छी बनाउने वा फूर्तिलो यी सबै कारणहरूको कारकको रूपमा मानिसको मन र त्यसबाट उत्पादन हुने सोच र चिन्तनले असर पार्ने रहेछ ।

भर्जिलको भनाइ छ– ‘तिनीहरूले गर्न सक्छन् किन कि तिनीहरूले गर्न सकिन्छ भन्ने सोचेका छन् ।’ मलाई यो भनाइमा केही दम छ जस्तो लाग्छ । एकपटकको घटना हो, क्यालीफोर्निया निवासी एक भूतपूर्व शिक्षिका, सुन्दरी र सफल व्यापारी मारिलिन ह्यामिल्टन दुर्घटनाबाट मुस्किलले बाँच्न सफल हुन्छिन्् । जब उनी २९ वर्षकी थिइन, रक क्लाइम्बिङमा जाँदा खसेर कम्मर भन्दा तलको भाग नचल्ने हुन्छ । पछि उनलाई ह्विल चियरको माध्यमबाट हिँड्नुपर्ने भयो । तर उनले प्रयोग गरेको ह्विल चियर उनलाई मन परेको थिएन । असजिलो लाग्थ्यो । जसको परिणामस्वरुप उनले आफ्ना दुई जना साथीको सहयोगले नयाँ डिजाइनको ह्विल चियर बनाइन् ।

उक्त डिजाइनको ह्विल चियर उत्पादन गर्नका लागि तीन जना साथीहरू मिलेर ‘मोसन डिजाइन’ नामको कम्पनी सञ्चालन गरियो, जसले अर्बौँको कारोबार गर्न थाल्यो र विश्वभरि उक्त कम्पनीको आठ सयभन्दा बढी डिलरहरूको स्थापना गरियो । प्रस्तुत दृष्टान्तबाट परिवेश जतिसुकै जटिल भए पनि चुनौतीलाई अवसरका रूपमा बदल्ने गरी आफूभित्र सकारात्मक सोच र गर्न सकिन्छ भन्ने विश्वासलाई जन्माउन सकियो भने असम्भव र असफलता भन्ने कुरा क्रमशः जीवनबाट भाग्दै जाने रहेछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।

विश्वासलाई भित्रदेखि अडिग बनाउँदै उक्त कार्यमा सफल हुनका लागि आफूले गर्न थालेको कामको बारेमा जानकारी र दक्षता भने हुनुपर्दछ । किनभने केही कुरा अरूको भरमा परेपनि सबै कुरा अरूको भरमा परेर मानिस सफल हुन सक्दैन । विश्वासलाई सतीसालझैँ ठिङ्ग उभ्याइरहनका लागि परिवेश पनि त्यस्तै प्रकारको निर्माण गर्नुपर्दछ जुन परिवेशले आफूभित्र भएको यो काम गर्न सकिन्छ र यो काम सम्भव छ भन्ने प्रकारको विश्वासमा ऊर्जा थप्न सकोस । यो परिवेश समाज, परिवार र नजीकका साथीहरू मिलेर निर्माण हुने गर्दछ । आफूलाई उर्जा र उत्साह दिने परिवेश र साथीहरू छैनन् भने तिनीहरूसँग सँगै हुनु भन्दा एक्लै रहनुमै धेरै जाती हुन्छ जसरी जङ्गलमा गँैडा एक्लै बस्ने गर्दछ । अर्को महत्वपूर्ण कुरा भनेको गर्न थालेको काम तपाईको रुचिको प्राथमिकतामा परेको हुनुपर्दछ ।

रुचिले भोकेसन (पेसा) लाई भ्याकेसन (छुट्टी) को रूपमा परिणत गर्दछ । भन्नुको मतलब काम गरेको छैन कि खुसीपूर्वक छुट्टी मनाइरहेको छु भन्ने अनुभूति गराउँछ । एउटा कुरा यो पनि सत्य हो कि रुचि नभएको काममा कुनै पनि मानिस सफल भएको अभिलेख छैन अहिलेसम्म । यसका निम्ति एउटै उपाय व्यक्तिले आफ्नो रुचिको काम गर्नुपर्दछ कि त भने गरिरहेको काममा रुचि जगाउनुपर्दछ । यसका अतिरिक्त सफल हुनका लागि निरन्तरता, यैर्य र प्रतिबद्धता पनि सँगसँगै भइदिएमा सुनमा सुगन्ध थपिने कुरामा कुनै सन्देह छैन । बाँकी जो मर्जी हजूरको !

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १० गते बिहीबार