रेशमराज रानाभाट । कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ कपिलवस्तुको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा मसाल कपिलवस्तु जिल्ला प्रवक्ता माधव भाटक्षेत्रीको प्रमुख आतिथ्यतामा कपिलवस्तुको बनगाईमा प्रशिक्षणसहित बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यस अवसरमा बोल्दैै प्रवक्ता भाटले युवाहरू परिवर्तनका संवाहक र दक्ष तथा देशलाई आवश्यक पर्ने मूल शक्ति भएकाले युवाहरूलाई सही प्रकारको राजनीति सिकाउनु पर्नेमा जोड दिए ।
व्याक्तिगत इच्छा आकांक्षाभन्दा माथि उठेर देश र जनताको पक्षमा युवाहरू लाग्नु पर्ने उनले बताए । युवाहरू समयमै सचेत नभए सत्ता र शक्तिको आडमा देशमा अराजकता र भ्रष्टाचार झनै मौलाउने भन्दै उनले युवाहरूलाई सचेत हुनुपर्ने बताए ।
अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय सल्लाहकार देवेन्द्र कुँवरले युवाहरूले गर्नुपर्ने भूमिकाको बारेमा बोल्दै युवाहरू देशका खम्बा भएको बताए ।
कार्यक्रममा अखिल नेपाल किसान संघका जिल्ला उपाध्यक्ष श्यामप्रकाश खनाल, रक्तिम रुपन्देहीका प्रतिनिधि अमर थापा, रक्तिम कपिलवस्तुका प्रतिनिधि राजु गिरी लगायतले शुभकामना दिएका थिए ।
अजय पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रम समीरविक्रम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्