
नन्दराम जैशी । सुर्खेत ।
पुस महिनाको कठ्यांग्रिने चिसो । खोला किनाराको बसाइँ । बाहिरबाट हेर्दा सबै चिज छर्लङ्ग देखिने त्रिपालभित्रको बास । त्यसैमा झन् कपडाले कसैको पनि पुरै शरीर छोपिएको छैन । चिसोले सबै थुरथुर काँपिरहेका थिए । यो दृश्य हो, सुर्खेतको गिरीघाट खोलामा रहेको राउटे बस्तीको । बराहताल गाउँपालिका ८ र वीरेन्द्रनगर नगरपालिका–२ को गिरीघाट खोलामा बस्दै आएका राउटे समुदाय हाल चिसोको चरम संकटमा छन् ।
दिउँसो घाम लागेको समयबाहेक अन्य बेला राउटेहरू प्रायः आगो तापेरै बसिरहेका हुन्छन् । त्यसैमा झन् चिसो हटाउन भन्दै हरेक दिन बच्चादेखि वृद्धावृद्धसम्म बिहानैदेखि मदिरामा लट्ठ देखिन्छन् । तर आगो र मदिराले भने उनीहरूलाई चिसोबाट छुट्कारा दिएको छैन । किनकि राउटेहरूसँग न पुरै शरीर छोप्ने न्यानो कपडा छ न त ओढ्ने ओछ्याउने नै न्यानो कपडा छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरी चिसोको मारमा छन् ।
एकातिर राउटेहरू चिसोको संकटमा छन् भने अर्कोतिर दैनिक खाली पेटमै मदिरा पिउने जस्ता गलत खानपिनले अस्वस्थ बन्दै गइरहेका छन् । कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने राउटेहरू हाल बरु शरीर नांगै होला तर पैसा माग्ने र मदिरा पिउने लतमा फसिसकेका छन् ।
परम्परागत काठका भाँडाकँुडा बनाएर गाउँगाउँमा गएर अन्नसँग साट्ने र खानाको जोहो गर्ने राउटेको पेसासमेत आधुनिक परम्पराले संकटमा परेको छ । उनीहरूमा भोलि के खाने ? के गर्ने ? भन्ने सोच र धन सम्पति कमाउने लोभ पनि छैन । लोपोन्मुख जातिको रूपमा रहेका राउटे फिरन्ते जीवन बिताउँदै खोला, नदी किनारा तथा जंगलमा बस्दै आइरहेका छन् । आफैँ बनाएको घाँसको छाप्रोमुनि बसोबास गर्ने राउटे समुदायमा चिसोले जनजीवन कष्टकर बनेको छ ।
राउटे मुखिया सूर्यनारायण शाहीले चिसोले समुदाय संकटमा परेको भन्दै न्यानो कपडा र खाने कुरा सहयोग गरिदिन अनुरोध गरेका छन् । उनका अनुसार राउटेहरू अचेल सामाजिक सुरक्षा भत्ता आउनु पहिले नै सोबराबरको मदिरा पिउन थालेका छन् । नेपाल सरकारले लोपोन्मुख जातिलाई प्रदान गर्दै आएको उक्त भत्ता पाउनासाथ मदिरामै खर्च गर्ने गर्दछन् ।
‘आजकालका तन्नेरी जति भने पनि मान्दैनन् । पैसा पाउनासाथ रक्सी खोजी गर्छन् । पिउन गइहाल्छन्,’ उनले भने, ‘यसबारे समुदायमा धेरै पटक छलफल भयो । तर कसैले मानेनन् । रक्सीले सबैको स्वास्थ्य अवस्थासमेत कमजोर हुँदै गएको छ ।’
यो समुदायका पुरुषसँगै महिला पनि आधुनिकतासँगै सहरका होटलमा खाना खान रुचाउँछन् । राउटेले बोल्ने खाम्ची भाषा, संस्कृति, जीविकोपार्जन गर्न सीप हराउँदै जानु, बर्सेनि जनसङ्ख्या घट्दो क्रममा रहनु, मृत्युदर उच्च तथा कुपोषणको समस्या राउटे समुदायमा अधिक रहेको पाइन्छ । बाह्य समुदायबाट हिंसा तथा यौन हिंसाको चपेटामा पर्नु, सामाजिक सुरक्षा भत्ताको दुरुपयोग बढ्नु, दाताले मनलाग्दी आफूखुसी राहत सामग्री वितरण गर्नुजस्ता कारणले राउटे समुदायको सुरक्षामा चुनौती थपिएको छ ।
फिरन्ते जाति राउटे समुदायको उत्थानका लागि प्रदेश तथा स्थानीय सरकारले हदैसम्म प्रयास गरिरहेका छन् । तर राउटेहरू भनेको मान्दैनन् । आफ्नो संस्कृति र परम्परा भुल्दै मदिराको लतमा फसेका छन् । दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई मासिक २ हजार रूपैयाँँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । दक्षिण एसियाका अन्तिम घुमन्ते जाति राउटे नेपाल र नेपालीका लागि खजाना भए पनि बढ्दो आधुनिकीकरणले राउटेको जीवन, दर्शन, संस्कृति र सभ्यता डुब्नै लागेको घामजस्तै भइसकेको छ ।
बिरामी भएमा, चोटपटक लागेमा वा शरीरमा घाउ भएमा जडिबुटीको प्रयोग गर्ने राउटे अहिले औषधोपचारमा पनि विश्वास गर्न थालेका छन् । भने जंगलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध अन्य समुदायसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ ।
घट्दै जनसङ्ख्या, हराउँदै संस्कृति
राउटे परियोजना कार्यक्रमका अनुसार पछिल्लो समय राउटेको जनसङ्ख्या पनि निरन्तर घटिरहेको छ । २०८० कात्तिकमा राउटे समुदायका महामुखिया ६६ वर्षीय महिनबहादुर शाहीको मृत्युपश्चात राउटेको सङ्ख्या १४१ थियो । यो बीचमा राउटे समुदायका ६ जनाको चिसोलगायत विभिन्न कारण ज्यान गएको छ । हाल राउटेको जनसङ्ख्या घटेर १३५ मा आइपुगेको छ ।
यस्तै २०७५ असार महिनादेखि २०८१ भदौसम्म यो समुदायका ४२ जनाको मृत्यु भएको छ भने ३१ जनाको जन्म भएको छ । मृत्यु हुनेमा अधिकांश वृद्ध र बालबालिका छन् । विगतमा काठका भाँडाकुँडा अन्नसँग साटेर जीविका धान्न रुचाउने राउटेहरू अहिले पैसामै ती सामग्री साटफेर गर्दछन् । खाना सकिए दाताहरूबाट सहयोग आउँछ । पैसा नभए मदिरा पाइँदैन भन्ने धारणा यो समुदायमा विकास भएको छ ।
कल्याल, रास्कोटी र राजवंशी ठकुरी राउटे समुदाय आफ्नो परम्परागत पेसा र जीवनशैलीबाट विस्थापित बन्दै परनिर्भरतातिर गइरहेको छ । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदाय वनजंगल विनाशका कारण गुना र बाँदर पाइन छाडेपछि पछिल्लो समयमा बाख्रा र कुखुरा पाल्न रुचाउँछन् ।
राउटे समुदायका व्यक्तिलाई नागरिक बनाउन गुराँस गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रअनुसार २०७५ असार ३० गतेदेखि स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गर्दै आएको छ । राउटेका पूर्वमुखिया महिनबहादुर शाहीका अनुसार कसैलाई फोटो खिच्न नदिने, सित्तैमा अरूले दिएको खाने कुरा नखाने, बस्तीमा नचिनेको मान्छेलाई प्रवेश गर्नमा रोक लगाउने संस्कृति राउटे समुदायबाट हराइसकेको छ ।
उनीहरू आफ्नो दैनिक जीवनलाई आधुनिक संस्कृतिअनुसार परिवर्तन गरिरहेका छन् । राउटे समुदायलाई सहयोग गर्न भित्रिएका गैरसकारी संस्थाले नै परनिर्भरतातिर धकेलेको स्थानीयबासीको आरोप छ ।
गैरसरकारी संस्थाका प्रतिनिधिले राउटेसँग हेलमेल बढाउन मद्यपान र धूमपानको लतमा पु¥याएको आरोप लाग्ने गरेको छ । रक्सी पार्ने काम गरेमा देवीदेवता रिसाएर सिकार बिग्रिने, मानिस बिरामी पर्नेजस्ता विश्वास राख्ने राउटेहरूलाई अचेल मदिरा नभई नहुने भएको छ ।









प्रतिक्रिया दिनुहोस्