गणेश रावत । कोहलपुर ।
स्थानीय हरिकला विश्वकर्माले गुनासो गरिन्, ‘स्थानीय सरकारका भौतिक संरचना अपांगतामैत्री छैनन् ।
हामीलाई सेवा लिन कठिनाई भएको छ ।’ उनले सुनाए जस्तै कोहलपुरमा कुनैपनि भौतिक संरचना अपांगतामैत्री छैनन् । जसका कारण घर नजिकैको सिंहदरबारबाट भिन्न क्षमता भएका नागरिकहरू आधारभूत सेवाबाट बञ्चित हुनुपरेको छ । कार्यालय जाउँ नगरप्रमुख भेट्न पाइदैन । सार्वजनिक स्थलमा रहेका शौचालयमा शौच गर्न कठिन छ, विकले दुःखेसो पोखिन् ।
अर्का स्थानीय डिलराम पोख्रेलको गुनासोले त झन गम्भीर बनाउँछ । उनी गुनासो गर्छन्, ‘मेयर साब ! तपाईंले जेष्ठ नागरिकलाई निःशुल्क उपचार, यातायातमा भाडा छुट दिएको छौँ भनेको सुनिन्छ । खै कतिले पाए । हामीले अहिलेसम्म उक्त सेवा पाएका छैनौँ । अहिलेपनि सेवा लिन लाइन लाग्नुपर्ने अवस्था छ ।’
स्थानीय भुम भण्डारीले प्रश्न गरे ? डेङ्गुको किट कसरी हरायो ? दोषीलाई किन कारबाही नगरेको । शवदाह निर्माण नगरपालिका खातामा रकम जम्मा किन भएन ? वर्षेनी बेरुजु किन बढ्छ ? यस्तै अटो र ई–रिक्सा व्यवस्थापन कहिले हुन्छ ?
माथि उल्लेख गरिएका त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । शुक्रबार कोहलपुर नगरपालिकाद्वारा आयोजित आर्थिक वर्ष २०८१/२०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाईं कार्यक्रममा नागरिकले स्थानीय सरकारप्रति प्रश्नैप्रश्न गरेका थिए ।
टोल सुधार समितिमा राजनीतिक गरिएको, दिवा खाजा नियमित नपाइएको, विकास निर्माणमा ढिलासुस्ती भएको, जेष्ठ नागरिक, बालबालिका, महिला र युवाहरूलाई उपेक्षा गरिएको विषयमा सहभागीहरूले नगरपालिकाको जवाफ माग गरेका थिए । उक्त अवसरमा वर्षेनी डुबानमा परिरहने लोकनगरको दीर्घकालीन समस्या समाधानको लागि नगरपालिकाको योजना र तयारीबारे प्रश्न गरिएको थियो ।
नागरिकका गुनासाको प्रतिरक्षा
सार्वजनिक सुनुवाईं उठेका विषयमा नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जवाफ दिएका थिए । उनीहरूले सहभागीहरूले गरेका प्रश्न र सुनाएका गुनासा तथा नगरका विषयमा प्रतिरक्षा गरे । प्रश्नहरूको जवाफ दिदैँ कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले किट हराएको नभई चोरी भएको बताए ।
नगरले खोजिरहेको र अनुसन्धान भइरहेको उनको भनाई रहेको थियो । बजारमा आए जस्तो १ लाख बढी मूल्यको नभई १५ हजारसम्मको चोरी भएको भन्दै उनले नगरपालिकाको बचाउ गरे । शवदाह गृहको सहयोग रकम नगरपालिकाले खातामा लिने भन्दापनि चाहिने मेसिनका लागि प्रयोग भइरहेको र बाँकी रकम नगरपालिका खातामा रहने नगर प्रमुख आचार्यको भनाइ थियो ।
त्यस्तै, उपप्रमुख सुवेदीले जेष्ठ नागरिकहरूको गुनासो सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरिन् । नगरपालिकाले जेष्ठ नागरिकलाई उपेक्षा नगरेको उनको भनाइ थियो । ‘सार्वजनिक शौचालयहरू अपांगमैत्री छैनन् । नयाँ बन्ने संरचनाहरू अपांगमैत्री नभए नक्सा पास नै हुँदैन । आगामी दिनहरूमा अपांगतामैत्री संरचना निर्माण गर्छौ ,’ उनले भनिन् ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीले विगतको तुलनामा कोहलपुरमा बेरुजु कम हुँदै गएको दाबी गरे । उनका अनुसार आगामी दिनहरूमा सुशासन कायम गर्न नीतिगत सुधारमा ध्यान दिइएको छ । नगरमा उठेका अन्य विषयमा आफूले बुझेको र त्यसको गहन अध्ययन भइरहेको उनले जानकारी दिए । सार्वजनिक सुनुवाईं कार्यक्रममा जनप्रतिनिधि, स्थानीय र कर्मचारी लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्