कोहलपुर, कोहलपुरमा जारी लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ मा कोहलपुर क्षेत्रका विद्यार्थीहरुका लागि निःशुल्क स्टल अवलोकनको व्यवस्था गरिएको छ । फागुन ५ गतेदेखि सुरु भएको महोत्सव अवधिभरि विद्यार्थीहरुलाई निःशुल्क स्टल अवलोकनको व्यवस्था गरिएको हो ।
आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार महोत्सव आयोजना पूर्व गरिएको उद्घोषअनुसार कोहलपुर क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले महोत्सवस्थलमा रहेका स्टलहरु निःशुल्क अवलोकन गर्दै आएका छन् ।
हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म विद्यार्थीहरुलाई निःशुल्क महोत्सवस्थलमा राखिएका स्टल अवलोकन गराइरहेको बताए । लुम्बिनी प्रादेशिक महोत्सवमा दुई सय ५० स्टल छन् । विद्यार्थीहरुले ती सबै स्टल निःशुल्करुपमा अवलोकन गरिरहेका छन् । स्टल अवलोकनका लागि जुनसुकै विद्यालयले आयोजकसँगको समन्वयमा शिक्षक प्रतिनिधिसहित विद्यालय पोसाकमा आउने व्यवस्था मिलाइएको उनको भनाइ छ । महोत्सवको पाँचौदिनसम्म आइपुग्दा आधा दर्जन विद्यालयहरुले अवलोकन गरिरहेको उनले बताए ।
‘विद्यार्थीहरुले विभिन्न व्यवसायका विषयमा जानकारी होस भन्ने उद्देश्यले अवलोकनको व्यवस्था गरिएको हो,’ अध्यक्ष पौडेलले भने, ‘यसले उहाँहरुलाई भविष्यमा व्यवसाय क्षेत्रमा आउन सहज हुन्छ ।’ महोत्सवको पाँचौदिन डाइनामिक माध्यमिक विद्यालयका विद्यार्थी स्टल अवलोकनका लागि आएका थिए । विद्यालयका प्रिन्सिपलसहित एक सय ५० जना विद्यार्थीले स्टल अवलोकन गरेका हुन् ।
हरेक दिन नयाँनयाँ विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आउने गरेको आयोजकले जनाएको छ । उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न व्यवसायीहरुसँग प्रत्यक्ष कुराकानीसमेत गरेका थिए । उनीहरु हाल कक्षा ११ र १२ मा अध्ययनरत छन् । माध्यमिक तहमा व्यवस्थापन संकायमा अध्ययनरत रहेका विद्यार्थीहरुलाई विशेष लक्षित रहेको अध्यक्ष पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्