जिम्मेवार व्यक्तिले नै गैरजिम्मेवारपूर्ण ढंगले भिडभाड हुनेखालका कार्यक्रममा सहभागी हुने, कार्यक्रम आयोजना गर्नुले उनीहरु कोरोना भाइरस न्यूनीकरणमा गम्भीर नभएको सर्वसाधारणहरुको भनाइ छ ।
राजनीतिक नेतृत्वसँग जनताले धेरै कुरा सिक्ने भएकाले पनि उनीहरु यसमा गम्भीर हुनुपर्ने देखिन्छ ।
माथि उल्लेखित तस्विर राप्तीसोनारी गाउँपालिका–२ शम्शेरगन्ज र टिकुलीपुरवासीसँग योजनाहरुका विषयमा छलफल गर्दाको हो । उक्त छलफलमा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुसमेत सहभागी छन् । तस्विरमै प्रष्ट देखिन्छ, ‘कोेभिड–१९ (कोरोना भाइरस) को जोखिम न्यूनीकरण गर्न तोकिएको दुरी र अन्य स्वास्थ्य मापदण्ड पालना भएको छ वा छैन ।’
योजना छनोटका लागि मात्र दलबलसहित अध्यक्ष थारु गाउँगाउँ पसेका होइनन् । कोरोना भाइरस न्यूनीकरणका लागि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीद्वारा जारी आदेश उल्लंघन गर्दै अब आउने चुनावलाई केन्द्रित गरेर अध्यक्ष थारु गाउँ पसेका हुन् ।
मंगलबार खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिका–७ को तल्लो लुन्द्री पुगे । त्यहाँ स्टील ट्रस झोलुंगेपुल उद्घाटन गर्ने कार्यक्रम थियो । तस्विरमै हेर्न सक्नुहुन्छ, ‘बढ्दै गरेको कोरोना भाइरसको जोखिमलाई कति बेवास्ता गरिएको छ ।’ अध्यक्ष कक्षपति स्वास्थ्य मापदण्ड पालना गर्ने र सामाजिक दुरी कायम गर्नेभन्दा रिववन काट्न मख्ख छन् ।
यी प्रतिनिधिमूलक घटना हुन् । तेस्रो चरणको कोरोना भाइरस र ओमिक्रोन न्यूनीकरण नहुँदै राजनीतिक दल, जनप्रतिनिधिहरु भिडभाड हुनेखालका हुल निर्माण गर्न थालेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रीस्तर) को २०७८ पुस २६ गतेको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम सिडिओ खत्रीले आदेश जारी गरेका थिए ।
‘सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरैजना उपस्थित हुने गरी प्रशासनिक सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम तथा मेला, भेला, महोत्सवहरु आयोजना नगर्ने । सार्वजनिकस्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना नगर्ने,’ सिडिओ खत्रीको उक्त आदेशमा भनिएका छ, ‘सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ड, सिनेमा हल, रंगशाला, हवाइ यात्रा, पार्क आदी) प्रवेश गर्दा अनिवार्यरुपमा कोभिडविरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने ।’
कोभिड–१९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्ने गराउने उक्त आदेशमा उल्लेख गरिएको छ ।
जिम्मेवार व्यक्तिले नै गैरजिम्मेवारपूर्ण ढंगले भिडभाड हुनेखालका कार्यक्रममा सहभागी हुने, कार्यक्रम आयोजना गर्नुले उनीहरु कोरोना भाइरस न्यूनीकरणमा गम्भीर नभएको सर्वसाधारणहरुको भनाइ छ । राजनीतिक नेतृत्वसँग जनताले धेरै कुरा सिक्ने भएकाले पनि उनीहरु यसमा गम्भीर हुनुपर्ने कोहलपुरका निराजन शर्माले बताए ।
‘हाम्रा नेता कोरोना न्यूनीकरणभन्दा बढवा दिन केन्द्रित छन्,’ उनले भने, ‘यो राम्रो काम होइन ।’ दलका नेताहरुले नै गर्दा गाउँगाउँसम्म सहज कोरोना पुगेको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्