गिजरा क्षेत्रमा ऐलानी, खाँडसारी र नम्बरी गरेर झण्डै ५ सय विघा जग्गा रहेको छ । २०२१ सालमा गिजरामा खाडसारी चिनी मिलका नाममा १ सय ८० विघा र साँढेपालनका नाममा ३ सय २० विघा ऐलानी जग्गा थियो । पछि आएर उखु खेती गर्ने मध्येको झण्डै १ सय विघा जग्गा टण्डन परिवारको नाममा गएको देखिन्छ । टण्डन परिवारको अरुलाई बेचेको सोही जग्गाको विषयमा अहिले विवाद चुलिदै गएको छ ।
तिलक गाउँले । खजुरा ।
यसअघि समेत पटक–पटक बाहिर आएको खजुरा गिजरा बस्तीको विवाद फेरि सार्वजनिक भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ६ मा रहेको गिजरा बस्तीको विषयलाई लिएर बिहीबार समेत बस्तीमा तनाव उत्पन्न भएको थियो ।
बस्तीमा बिहीबार केही व्यक्तिहरू जग्गाको लालपुर्जा आफ्नो नाममा भएको भन्दै पुगेका थिए । लालपुर्जा देखाउँदै केही व्यक्तिहरू पुगेपछि पहिलादेखि नै बसिरहेका स्थानीयहरू विरोधमा उत्रिएपछि तनाव उत्पन्न भएको थियो ।
स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएर कुटपिट समेत गरेका थिए । बस्तीमा तनाव बढ्दै गएपछि इलाका प्रहरी कार्यालय धनौली खजुराबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली पुगेको थियो ।
बस्तीमा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कुटपिट भइरहेको खबर पाएलगत्तै आफूहरू पुगेर नियन्त्रणमुक्त गराएको इलाका प्रहरी कार्यालय धनौली खजुरामा इन्चार्ज प्रहरी निरीक्षक अशोक मल्लले जानकारी दिए ।
‘हामी पुग्दा गिजरा बस्तीमा स्थिती तनावपूर्ण बनिसकेको थियो । बेलैमा हामी पुगेर उनीहरूलाई नियन्त्रणमुक्त गराएर कार्यालय लिएर आएका हौं’ उनले मिसन टुडेसँग भने, ‘दुवै पक्षलाई केहीबेर कार्यालयमा छलफल गराई समस्या समाधानका लागि गाउँपालिकामा पठायौं ।’
इलाका प्रहरी कार्यालय धनौलीबाट दुवै पक्ष थप छलफलका लागि भन्दै खजुरा गाउँपालिकाको कार्यालयमा पुगेका थिए । गाउँपालिकाको कार्यालयमा भएको छलफलमा दुवै पक्षबीच सहमती भएको थियो ।
गिजरा बस्तीबासी र जग्गा धनीकाबीचमा तत्काललाई गिजराको जग्गा किनबेच गर्न नपाइने, किनबेच गरेपनि बस्तीका बासिन्दाबाहेक अरुलाई बेच्न नपाइने र गिजरा जग्गा विवाद समिति गठन गरि सोही समितिको निर्णय अनुसार अघि बढ्नेगरी छलफल सकिएको गाउँपालिकाका अध्यक्ष डम्मर विक तुफानले जानकारी दिए ।
गिजरा बस्तीको समस्या सकेसम्म सधैंका लागि हल गर्नको लागि गाउँपालिकाले पहल गरिरहेको उनले बताए । गिजरा क्षेत्रमा ऐलानी, खाँडसारी र नम्बरी गरेर झण्डै ५ सय विघा जग्गा रहेको छ । २०२१ सालमा गिजरामा खाडसारी चिनी मिलका नाममा १ सय ८० विघा र साँढेपालनका नाममा ३ सय २० विघा ऐलानी जग्गा थियो ।
तर २०२१ सालसम्ममा टण्डन परिवारका नाममा एक धुर पनि जग्गा थिएन । तर पछि आएर एकाएक सयौं विघा जग्गा टण्डन परिवारको नाममा गएको थियो । कसरी सयौं विघा जग्गा टण्डन परिवारको नाममा गयो भन्नेबारे अनुसन्धान गर्नुपर्ने गिजराका अगुवाहरू बताउँछन् ।
गिजरामा कुनै बेला चिनी मिल सञ्चालनमा थियो ।
जहाँ प्रशस्त मात्रामा उखु खेती गरिन्थ्यो । उखु खेती गर्ने किसानहरू साना–साना छाप्रा बनाएर बस्ने गर्दथे । पछि आएर उखु खेती गर्ने मध्येको झण्डै १ सय विघा जग्गा टण्डन परिवारको नाममा गएको देखिन्छ । सोही जग्गालाई २०५२ सालपछि तत्कालीन माओवादीले कब्जाको घोषणा गरेको थियो ।
कब्जा गरेको घोषणा गरेको जग्गामा माओवादीले विभिन्न जिल्लाहरूबाट मान्छे ल्याउँदै बस्ती बसाल्दै गर्न थाल्यो । जग्गामध्ये ३३ विघा र १७ विघा जग्गा टण्डन परिवारका नामबाट विभिन्न व्यक्तिहरूका नाममा नामसारी भैसकेको छ । तर जग्गामा भने अहिले पनि पुरै बस्ती रहेको छ ।
गिजराबासीहरूले अहिले पनि गाउँपालिकामा घर कर र विद्युत् कार्यालयमा विद्युत् महसुल पनि बुझाउँदै आईरहेका छन् ।
खजुराको गिजरा क्षेत्रमा ३ हजारदेखि ३५ सयको हाराहारीमा बस्ती बसेको छ । गिजराका ६४ वर्षीय तुलाराम घिमिरेले बस्ती बसेको ३० वर्ष बढी भैसक्दा पनि स्थानीय जनप्रतिनिधिहरूले बस्तीका बासिन्दाहरूको गुनासो सुन्नुको सट्टा उल्टै जग्गा दलालहरूको प्रलोभनमा परि बस्ती खाली गर्ने र बस्तीको जग्गा किनबेचमा लागिरहेको आरोप लगाए ।
बस्ती बसिसकेपछी अहिले सो बस्तीका हरेक घरघरमा बिजुली पुगिसकेको छ । टोलटोलमा सडक बाटाघाटा बनिसकेका छन् । विद्यालय समेत स्थापना भएर आफ्ना बालबालिकाहरू अध्ययन गरिरहेको स्थानीय फुलमाँया विकले बताइन् ।
‘अहिले विभिन्न व्यक्तिहरू एकाएक आएर बस्तीको जग्गा आफ्नो भएको बताउन थालेपछि स्थानीयहरूले आवेगमा आएर नियन्त्रणमा लिएका हुन्’ उनले भनिन् । कोही आएर जबरजस्ती बस्ती खाली गराउन खोजे प्रतिकारमा उत्रिने गिजराबासीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्