बाँके ।
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही थालेको छ ।
सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही गर्न थालिएको हो । मंंगलबार बिहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि भेरी अस्पताल अगाडि रहेको अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउन्डलाई नगरपालिकाले जरिवाना तिराएको छ ।
सडकमा फोहोर फालेपछि सो मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए ।
स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जरिवाना तिराएर कारबाही गरेको बोगटीले बताए ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, फार्मेसी अधिकृत डा. अस्मित आचार्य तथा नगर प्रहरी प्रमुख बोगटी र नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियासहितको टोली बिहान अनुगमनमा गएको थियो ।
यसअघि पनि एक साताअघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगन्जस्थित आशीर्वाद पेन्ट्स प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरेको थियो । नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रवद्र्धन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाहीसमेत गर्न थालेको छ ।
नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेलाई कडा कारबाही गरिने उल्लेख गर्दै फोहोरविरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गरिएको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्