बाजुरामा बिजुलीको पोलका लागि रूख काट्ने क्रममा च्यापिएर एकको मृत्यु, दुई गम्भीर घाइते



कैलाली ।

गाउँमा बिजुलीको पोल बनाउन रूख काट्ने क्रममा बाजुरामा एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलका लागि रूख काट्ने क्रममा आइतबार बाजुराको बिच्छ्यामा एक जनाको घटनास्थलमै मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् ।

आइतबार दिउँसो हिमाली गाउँपालिका–३ बिच्छ्याको युनामा विद्युत लाइन तान्नका लागि सल्लाको रूख काट्ने क्रममा रूखले च्यापिएर युना गाउँका ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर मल्लले जानकारी दिए । सोही गाउँका ४८ वर्षीय सिदुपुरी रोकाया र अन्दाजी ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएका छन् ।

युना बाजुराको सर्वाधिक विकट बस्ती हो । हालसम्म त्यहाँ विद्युत् सेवा उपलब्ध छैन । कादुरी नामक संस्थाले स्थानीय नातीखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली युनामा लैजान सहयोग गरिरहेको थियो । त्यस क्रममा विद्युत् लाइन विस्तार गर्नका लागि काठको पोल काट्ने क्रममा रूख ढलेको थियो । सोही रूखमा च्यापिएर बुढाको मृत्यु भएको हो ।

घाइतेहरूलाई उपचारका लागि हेलिप्याड रहेको स्थान बिच्छ्याको नेटामा पु¥याइएको थियो । तर बाजुरा प्रशासन र पालिकाले संयुक्त रूपमा हेलिकोप्टरका लागि पहल गरे पनि उपलब्ध नभएकाले घाइतेहरूको उद्धार हुन नसकेको उनले बताए । घाइतेहरूको अवस्था गम्भीर रहेको अध्यक्ष मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मंसिर १० गते सोमबार